नेपाल तरुण दलले गृहमन्त्रीको राजीनामा माग्ने

भक्तपुर, साउन ६
नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्ने भएको छ । नेपाल तरुण दल भक्तपुरले ४१ औं विपि जयन्तीको अवसरमा मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित विपि पार्कमा आयोजित विपिको पूर्ण कदको शालिकमा माल्यापर्ण र वृक्षारोपण कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र पुर्व केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले गृहमन्त्री श्रेष्ठको नाम सुन तस्करीमा मुछिएको भन्दै उनको राजीनामा माग्ने बताएको हो ।
“भन्सारबाट क्विन्टलका क्विन्टल सुन तस्करी भएको छ । प्रहरी र गृहमन्त्रालयको सहमति विना कसरी सम्भव हुन्छ ? सुन तस्करीमा गृहमन्त्रीको नाम जोडिएको छ । छानविनलाई सहज बनाउन पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिएर सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो । उहाँले गृहमन्त्रीले गठन गरेको छानविन समितिले सुन तस्करीमा संलग्न उच्च तह र ओहोदाका व्यक्तिलाई समाउन नसकिने दावी समेत गर्नुभयो ।


अध्यक्ष गुरुङले कांग्रेस नेता एवम् तरुण दलका पूर्वअध्यक्ष बालकृष्ण खाँड भुटानी शरणार्थी प्रकरणमा निर्दोष रहेको दावी गर्दै गहृ प्रशासनले नै खाँडलाई भुटानी शरणार्थी प्रकरणको सम्पूर्ण दोषी जस्तै व्यवहार गरेको आरोप समेत लगाउनुभयो ।
अध्यक्ष गुरुङले विपि कोइराला समकालिन नेताहरुमा विश्व स्तरको नेता भएको जिकिर गर्नुभयो । विश्व कम्युनिष्ट र समाजवादी दुई धारमा विभाजन भइरहेको अवस्थामा विपिले समाजवादको व्याख्या गरेर विश्वमा समाजवादको बिऊ रोप्न सफल भएको बताउनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवम् तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेतले ३ महिनामा दर्जनौ पटक क्विन्टलका क्विन्टल सुन तस्करी हुनुमा गृह प्रशासनको संलग्नता विना सम्भव नभएको जिकिर गर्दै गृहमन्त्री श्रेष्ठले राजीनामा माग गर्नुभयो ।
उहाँले सुन तस्करीमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका व्यवसायीको नाम समेत मुछिएको बताउँदैं सुन तस्करीमा महरा र ओलीको समेत संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “जुन व्यवसायी मुछिएको छ, उसको सिधा सम्पर्क गृहमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादीका नेता कृष्णबहादुर महरा र केपी ओलीसँग जोडिएका व्यक्ति हुन ।”


कांग्रेसमा आफ्नै नेतालाई गाली गर्ने सँस्कृति मौलाएको र यसले कांग्रेसलाई कमजोर बनाउँदैं लगेको बताउनुभयो । उहाँले आफ्ना दलका नेता भुटानी शरणार्थी प्रकरणमा मुच्छिएर पक्राउ पर्दा गृहमन्त्रीलाई भेटेर धन्यवाद दिन जाने नेताहरुले विपक्षी दलका नेताहरुको नाम अन्य काण्डमा जोडिदाँ र गृहमन्त्री स्वयम् सुन तस्करीमा मुच्छिँदा उनलाई भेटेर राजीनामा माग्न नसकेको भन्दै आलोचना गर्नुभयो ।
“नेता कार्यकर्ता सबै चिया पसलमा बस्छौं, चिया पसलमा बसेर म बाहेक सबै खराब हो । कांग्रेसले केही गर्दै गरेन भन्दै आफ्नै बदनाम आफैंले गरिरहेका छौं । एउटा पक्षले अर्को पक्षलाई गाली गर्छौं, भ्रष्टाचारका ठूला ठूला काण्डमा अरु दलका ठूला नेताका नाम पनि जोडिएका छन तर हामी किन अरु दलका नेताहरुलाई गाली गर्न सक्दैनौं ?,” उहाँले भन्नुभयो ।
भुटानी शरणार्थी प्रकरण हालका अख्तियार प्रमुख प्रेम राई गृहसचिव, केपी ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्रीको भएको बेला शुरु भएको दावी गर्दै उहाँले प्रेम राईको विषयमा किन प्रश्न गर्न सक्दैनौं भनी कांग्रेस नेताहरुलाई प्रश्न समेत गर्नुभयो । भुटानी प्रकरणमा केपी ओलीका नातेदार, स्वकिय सचिव, ओलीको धर्मपत्नीको नाममा रहेको संस्था समेत जोडिएको भन्दै उहाँले त्यस्ता विषयमा कुरा उठाउन नसक्नु कांग्रेस नेताको कमजोरी भएको बताउनुभयो ।