नौ बुँदे माग राखी अनशनरत गुण्डुका बिष्टले तोडे अनशन

भक्तपुर, साउन ४
नौ बुँदे माग राखी ४ दिनदेखी अनशनरत भक्तपुर सूर्यविनायक नगरपालिका–७, गुण्डुका स्थानीय विनोद बिष्टले आज (बिहिवार) अनशन तोडेका छन । स्थानीय मत्यश्वर महादेव मन्दिर निर्माण र व्यवस्थापनलगायतका माग राखी अनशन बसेका बिष्टलाई भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले जुस पिलाएर अनशन तोडेका हुन ।
बिष्ट मत्यश्वर महादेव मन्दिर बनाउन नगरप्रमुख बासुदेब थापा, वडा अध्यक्ष रविन्द्र सापकोटा र पुर्व सांसद महेश बस्नेतले पटक पटक आश्वासन मात्र दिई ऐतिहासिक मन्दिर नबनाएको र जनतालाई झुट्टो आश्वसन दिएको भन्दै आमरण अनशन बसेका थिए ।
सांसद थापाले अनशनस्थल पुगेर छिटो भन्दा छिटो माग पुरा गर्ने प्रतिवद्धता जनाएपछि बिष्ट अनशन तोड्न राजी हुनुभएको थियो । सोही अनुसार थापाले जुस पिलाएर बिष्टको अनशन तोड्नुभएको हो ।


बिष्टको माग पुरा गर्न आउँदो सोमवार स्थानीयको बृहत भेला गरी पुरानो शैली र स्वरूपमा मन्दिर निर्माणका लागि आवश्यक पहल गर्ने भएको छ । भेलाले एक समिति गठन गरी मन्दिर निर्माणका लागि सम्बन्धित निकायमा पहल समेत गरिने भएको छ ।
स्थानीय बासिन्दा एवम् नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडा सभापति जगदिश बस्नेतले नगरपालिकाले शिव सर्किटका कुरा उठाइरहँदा नगरभित्रकै एउटा शिवालय मत्यश्वर महादेवको मन्दिर निर्माण नहुनु दुःखद भएको बताउनुभयो । उहाँले स्थानीय जनताको मागलाई बेवास्ता गर्नेले जनप्रतिनिधि हुँ भनेर हुँकार गर्नु बेकार भएको टिप्पणी समेत गर्नुभयो ।