हत्या आरोपमा १४ बर्ष कैद सजायँ तोकिएका शेरचन ८ वर्षपछि पक्राउ

भक्तपुर, साउन ३
हत्या आरोपमा सर्वोच्च अदालतले १४ वर्ष सजायँ तोकिएका एक अभियुक्तलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुस्ताङ थसाङ गाउँपालिका–२ घर भई हाल काठमाण्डौ जोरपाटी बस्ने ४६ वर्षिय सम्राट शेरचन हुन ।
शेरचनलाई सर्वोच्च अदालतले २०७२ भदौ १ गते १४ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । राधा पुनको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सम्राट शेरचन समेत भएको कर्तव्य ज्यान मुद्दामा मुस्ताङ जिल्ला अदालतले २०६७ माघ २७ गते एक वर्ष चार महिना कैद सजाय हुने फैसला गरेको थियो ।
उक्त फैसला उपर पुनरावेदन परी पुनरावेदन अदालत बागलुङले २०६८ मंसिर ७ गते प्रतिवादी शेरचनको हकमा शुरू जिल्ला अदालतको फैसला उल्टी भई उनलाई सर्वस्व सहित जन्मकैद हुने ठहर गरेको थियो । उक्त फैसला उपर पनि सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा प्रतिवादी शेरचनलाई १४ बर्ष कैद सजाय हुने फैसला गरेपछि उनी फरार भएका थिए ।
उनलाई काठमाण्डौ गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो । उनलाई फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालतमा पठाईएको रेग्मीले जानकारी दिनुभयो ।