ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ३९ लाख बराबरको छात्रवृत्ति वितरण

भक्तपुर, साउन ३
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई बुधवार ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति वितरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख सुनिल प्रजापतिले कलेजबाट प्रदान गरिने छात्रवृत्तिले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले सेमेष्टर उत्कृष्ट विद्यार्थीहरुले पनि छात्रवृत्तिमा अध्ययन गर्न पाउनु आफैमा ठूलो उपलब्धी भएको बताउँदैं छात्रृवृत्तिका लागि केही विद्यार्थीहरुले झुटो विवरण बुझाएको खुलासा गर्नुभयो ।
ख्वप विश्वविद्यालय भक्तपुरबासीको मात्र नभई सबैको साझा माग हो भन्दै उहाँले सरकारले छिटो भन्दा छिटो ख्वप विश्वविद्यालय सञ्चालनको लागि स्वीकृति प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
इन्जिनियरहरुले पैसा कमाउने र जागिर पाउने मात्र नभइ समाजमा स्थापित इन्जिनियर भई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले नैतिकता, अनुशासन र कर्तव्यप्रति दृढ भएर सोच्नुपर्ने बताउनुभयो ।


उच्च शिक्षा हासिल गर्न वर्षेनी लाखौं विद्यार्थी विदेशिँदै गर्दा नेपालका विश्वविद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको र कलेजहरु समेत संकटमा पर्दै गएको बताउँदै उहाँले विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने अवसर नेपालमै बनाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नंं ९ का वडाध्यक्ष तथा छात्रवृत्ति सिफारिस समितिका संयोजक रबिन्द्र ज्याख्वले नगरपालिकाले सञ्चालन गरेका विभिन्न शैक्षिक संस्थाहरुले त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई वार्षिक ४ करोड भन्दा बढी रकम बराबरको छात्रवृत्ति वितरण गर्दै आइरहेको जानकारी दिँदैं नयाँ पुस्तालाई प्राज्ञिक रुपबाट योग्य बनाई समाजप्रति उत्तरदायी बनाउने कलेज स्थापनाको उद्देश्य रहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले विद्यार्थीहरुले विषयगत ज्ञान सँगसँगै व्यवहारिक ज्ञान हासिल गरी इन्जिनियरिङ क्षेत्रमा उत्कृष्ट कार्य गर्न मार्गनिर्देशन गर्नुभयो । उहाँले छात्रवृत्ति रकमको सदुपयोग गरी देश र समाजप्रति थप जिम्मेवार भई अध्ययन गर्न प्रेरित गर्नुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवाल, उपप्राचार्य रत्नशोभा प्रजापति र लेखा शाखा प्रमुख काजीबहादुर पञ्चले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरुले समाज र देशको लागि सेवा गर्ने विषयमा पनि चिन्तन गर्नु जरुरी रहेको बताउनुभयो ।