भक्तपुरको मदरल्याण्ड स्कुललाई अन्तर्राष्ट्रिय ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’

भक्तपुर, साउन ४
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, भाटेढिकुरस्थित मदरल्याण्ड स्कुलले अन्तर्राष्ट्रिय अवार्ड ‘इन्नोभेटिव स्कुल अवार्ड–२०२३’ प्राप्त गरेको छ । विगत १९ वर्षदेखि शिक्षा क्षेत्रमा आफ्नो छुट्टै छाप छाड्न सफल मदरल्याण्ड स्कूलले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप उक्त अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।
एक्जिटो एजुकेसन इन्टरनेसनल अस्ट्रेलियाको आयोजनामा सिङ्गापुर र मलेसियामा सम्पन्न एक्जिटो इन्टरनेसनल एक्सिलेन्स अवार्ड–२०२३ मा मदरल्याण्डलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
मदरल्याण्ड स्कुलले शैक्षिक गुणस्तर तथा सामाजिक क्षेत्रमा पनि योगदान दिएकोमा अब शिक्षामा सफलतापूर्वक नयाँ अभ्यास र प्रयोग गर्न उत्प्रेरित गर्दै अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा मदरल्याण्ड सहित नेपालका ३३ वटा विद्यालयलाई विविध विधामा अवार्ड प्रदान गरिएको थियो ।


आयोजक एक्जिटोले नेपालका ५ सय वटा संस्थागत स्कुलको सर्वेक्षण गरी ती मध्येबाट विभिन्न विधामा ३३ वटा सर्वोत्कृष्ट स्कुल छनोट गरी विभिन्न अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । अवार्ड जित्न सफल विद्यालयहरुलाई आयोजकले एक हप्ता सिंगापुर र मलेसियाका विभिन्न अन्तर्राष्ट्रिय स्कुल र विश्वविद्यालयको शैक्षिक अध्ययन भ्रमण र अनुभव आदान प्रदान समेत गराएको थियो ।
जुलाई १७ मा मलेसियाको स्विस गार्डेन इन्समा सम्पन्न मुख्य अवार्ड कार्यक्रममा मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले लिङ्कन विश्वविद्यालय मलेसियाकी कुलपति प्रोफेसर दातुक डाक्टर हज् बिबि फ्लोरिना अब्दुल्लाह र एक्जिटो इभेन्ट अस्ट्रेलियाका निर्देशक सचेत वीदीजनबाट अवार्ड ग्रहण गर्नुभएको थियो ।


अवार्ड प्राप्त गरेपछि मदरल्याण्ड स्कूलका प्रिन्सिपल संजय खड्काले यो अवार्डले थप जिम्मेबारी प्राप्त गरेको धारणा राख्नुभयो । यसले नेपालको शिक्षा क्षेत्रको विकासमा लाग्न थप हौसला मिलेको बताउँदै प्रिन्सिपल खड्काले मदरल्याण्ड स्कुललाई प्रविधि मैत्री बनाई अगाडि बढाउन अझै मेहनतका साथ लाग्न चुनौती थपिएको बताउनुभयो ।