भक्तपुरमा साउन ५ गते अरुण थापा स्मृति साँझ हुने, प्रवेश निःशुल्क

भक्तपुर, साउन २
नेपाली आधुनिक गीतका लोकप्रिय र चर्चित गायक स्व. अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा अरुण थापा स्मृति साँझ–२०८० हुने भएको छ । आयोजक रागरागिनी इन्टरटेन्मेन्टले मंगलवार पत्रकार सम्मेलन गर्दै यही साउन ५ गते काठमाण्डौं फन भ्याली पलाँसेमा सो साँझ हुन लागेको जानकारी दिएको हो ।
भक्तपुरको पलाँसेस्थित काठमाण्डौं फन भ्यालीको प्रायोजनमा हुने उक्त स्मृति साँझमा स्व. थापाले गाएका गितहरुलाई नेपालका चर्चित तथा नवोदित प्रतिभाशाली गायक गायिकाले आफ्नो स्वरमा प्रस्तुत गर्नेछन । कार्यक्रम दिउँँंसो दुई बजेबाट झण्डै तीन घण्टा हुने जनाइएको छ ।
स्मृति साँझमा अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैंया धौभडेल, कपिल कसपाल, सुनिल लोहला, कल्पना श्रेष्ठ, प्रविन पलिखेल, श्रेय अगस्थिलगायतले हरुण थापाका गीत प्रस्तुत गर्ने रागरागिनी इन्टरटेन्मेन्टका अध्यक्ष एवम् कार्यक्रम संयोजक तथा गायक कपिल कसपालले जानकारी दिनुभयो ।
कार्यक्रममा दर्शकका लागि प्रवेश निःशुल्क हुनेछ । नेपाली सुगम संगीतलाई जिवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएको कसपालले बताउनुभयो । त्यसैगरी स्व. अरुण थापालाई जिवन्त बनाउनुका साथै उनीप्रति सच्चा श्रद्धाञ्जली अपर्ण गर्न कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।


कार्यक्रममा मुख्य अतिथी चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं सुपरस्टार नायक भुवन केसी रहने छ । त्यस्तै वरिष्ठ गायक दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल शाह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई पनि निमन्त्रणा गरिएको कसपालले बताउनुभयो ।
कार्यक्रमलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम र रागरागिनीको अफिसियल युट्युवबाट प्रत्यक्ष प्रशारण गर्नेछ ।
कार्यक्रमको टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, अनलाइन पार्टनर आइकनखबर डटकम, फोटोग्राफी पार्टनर डायनामिक मल्टी मिडिया प्रडक्सन, टेक्निकल सपोर्ट एभरेष्ट इङ्गलिस स्कुल, म्युजिक को अर्डिनेट पार्टनर संगीत ग्राम गुरुकुल नेपाल, मिडिया पार्टनर अन्नपूर्ण पोष्ट र बैंकिङ पार्टनर नविल बैंक रहेको छ ।
यसैबीच अरुण थापा स्मृति साँझ–२०८० को प्रायोजक काठमाण्डौं फन भ्यालीले स्मृति साँझ हुने दिन साउन ५ गते प्रवेश टिकटमा २० प्रतिशत छुट दिने भएको छ । स्मृति साँझको बारेमा आयोजित पत्रकार सम्मेलनमा फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले सो दिन फन भ्यालीमा मनोरञ्जनका लागि आउने उपभोक्तालाई २० प्रतिशत छुट दिने घोषणा गर्नुभएको हो ।