कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने, छलफलका लागि १० एजेन्डा तय

भक्तपुर, साउन २
बरिव एक वर्ष बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका लागि १० एजेण्डा तय भएको छ । नेपाली कांग्रेसको सोमवार बसेको पदाधिकारी र पुर्व पदाधिकारीहरुको अनौपचारिक बैठकले केन्द्रीय समिति बैठकका लागि १० वटा एजेण्डा तय गरेको हो । कांग्रेस केन्द्रीय समिति बैठक आज ( मंगलवार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार बैठकमा पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुने बताउनुभयो । त्यसैगरी सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुने उहाँले जानकारी दिनुभयो ।
उहाँले कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्तावित हुने उल्लेख गर्नुभयो । बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ । अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने रहेको छ ।
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकलाई प्रत्यक्ष प्रशारणको तयारी गरिएको छ । कांग्रेसको पदाधिकारी र पुर्व पदाधिकारीहरुको सोमवार बसेको अनौपचारिक बैठकमा सभापति शेरबहादुर देउवाले बैठकको प्रत्यक्ष प्रशारण गर्ने प्रस्ताव गर्नुभएको हो ।
बैठकमा यस बारेमा पदाधिकारीहरुको मत बाझिएपनि सभापति देउवाको निर्देशन अनुसार केन्द्रीय कार्यालयका कर्मचारीहरुले कांग्रेसको आधिकारीक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको लागि तयारी गरेको छ । प्रत्यक्ष प्रशारणको लागि क्यामरालगायतको व्यवस्था गरिसकेको कांग्रेस स्रोतले जनाएको छ ।
बैठकमा महामन्त्री गगन थापा, पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलालगायतले प्रत्यक्ष प्रशारण गर्दा बैठकको मर्यादा कायम नहुन सक्ने भएकाले उचिन नहुने धारणा राखेका थिए भने अर्का महामन्त्री शर्मालगायतले पारदर्शीताको लागि प्रत्यक्ष प्रशारण गर्नु राम्रो हुने विचार राखेका थिए ।