मतदाता अद्यवधिक र मतदान केन्द्र व्यवस्थापनको अधिकार स्थानीय तहलाई प्रत्यायोजन गर्ने तयारी छ – प्रमुख आयुक्त थपलिया

भक्तपुर, साउन ३
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहलाई मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजनबारे आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मंगलवार आयोजना गरिएको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन आयोग ऐन २०७३ संशोधन गरी सो व्यवस्था गरिन लागेको बताउनुभएको हो ।
“निर्वाचन आयोग ऐन–२०७३ संशोधनको क्रममा रहेको छ । स्थानीय तहको सहमतिमा मात्र यो ऐन संशोधन गरी मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य, मतदानस्थल र केन्द्र व्यवस्थापन, निर्वाचन र मतदाता शिक्षा प्रदान गर्ने कार्य तथा निर्वाचन सामग्री व्यवस्थापनबारे स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्ने तयारी छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मतदाता नामावली संकलन र मतदानस्थल व्यवस्थापनलगायतको अधिकार स्थानीय तहलाई दिनु स्वागतयोग्य भएको बताउँदै जनप्रतिनिधि र सम्बन्धित पदाधिकारीहरुलाई निर्वाचनसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।
निर्वाचन आयोग स्वायत्त र स्वतन्त्र ढंगले अगाडि बढ्नुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले निर्वाचन आयोग नियन्त्रित हिसाबले सञ्चालन हुन नहुने र आयोगको कार्य सञ्चालनको लागि पर्याप्त बजेट छुट्याउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मतदान केन्द्रमा मतगणना गर्ने विषय सुरक्षाको दृष्टिकोणले पनि जटिल भएको बताउँदै उहाँले विदेशीलाई मतदान गर्ने अधिकार दिने जस्ता गम्भीर विषयमा राजनीतिक तह नै स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।


सूर्यविनायक नपाका उपप्रमुख सरिता तिम्सिना (भट्टराई)ले बसाइसराइ भएका र नभएका मतदाताहरुको मतदाता नामावलीमा नाम समावेश गर्नेबारे भएको अन्योल प्रष्ट पार्न मुख्य निर्वाचन आयोगसमक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका स्थानीय तहका सबै जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुहरु सहभागी थिए । सो अवसरमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले मतदाता नामावली संकलन र अद्यावधिक तथा मतदाता र निर्वाचन शिक्षाको लागि स्थानीय तहलाई अधिकार प्रत्यायोजन गर्न उपयुक्त भएको र निर्वाचन व्यवस्थापनसम्बन्धी प्रत्यायोजनको लागि पर्याप्त छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यसैबीच सो अवसरमा आयोजित छलफलमा जिल्ला भित्रका सबै स्थानीय तहहरुबाट निर्वाचन व्यवस्थापनसँग सम्बन्धित मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य, मतदानस्थल तथा केन्द्र व्यवस्थापन गर्ने कार्य र मतदाता शिक्षा एवम् निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्य सुरुवात गर्ने निर्णय गरेको छ ।
साथै निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य स्थानीय तहबाट सम्पादन गर्नका लागि हरेक स्थानीय तहमा रहेको निर्वाचन एकाइमार्फत आवश्यक जनशक्ति खटाउने र स्रोतसाधन व्यवस्थापन गरी सेवा आरम्भ गर्ने सहमती भएको छ ।
स्थानीय तहबाट निर्वाचन व्यवस्थापनसम्बन्धी कार्य गर्न आवश्यक पर्ने प्रणालीको व्यवस्था निर्वाचन आयोगले गरी सो कार्यका लागि आवश्यक पर्ने कार्यविधि मापदण्ड तयार गरी सोको लागि आवश्यक प्रशिक्षणको व्यवस्था निर्वाचन आयोगले मिलाउने निर्णय समेत भएको छ ।
मतदाता अद्यावधिक कार्य गर्न आवश्यक दर्ता किट र सफ्टवेर तत्कालका लागि निर्वाचन आयोगले उपलब्ध गराउने र आगामी दिनमा आवश्यक पर्ने दर्ता किटलगायत आवश्यक स्रोतसाधन व्यवस्थापन गरी नागरिकलाई सरल, सहज र विश्वसनीय एवम् प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने र आवश्यक समन्वय र सहजीकरणको कार्य जिल्ला समन्वय समिति र जिल्ला निर्वाचन कार्यालयले गर्ने निर्णय भएको जनाएको छ ।