युवा अल्काराजले जिते विम्बल्डनको उपाधि

भक्तपुर, साउन १
साविक विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनका युवा टेनिस स्टार २० वर्षिय कार्लोस अल्काराजले पुरुषतर्फको विम्बल्डन उपाधि पहिलो पटक जितेको छ । विम्बल्डनको आइतवार राती सम्पन्न संघर्षपूर्ण फाइनलमा खेलमा विश्व नम्बर एक अल्कारेजले दोस्रो वरियताका नोभाक जोकोभिकलाई ६–१, ७–६, ६–१, ३–६ र ६–४ ले हराउँदै ग्रान्डस्लाम उपाधि उचालेका हुन् ।
पहिलो सेट ६–१ ले गुमाएका कार्लोसले दोस्रो सेटमा जबरजस्त कमब्याक गर्दै संघर्षपूर्ण ७–६ को जित निकाले । त्यसपछि अर्को सेटमा उनले पहिलो सेटको बदला लिँदै ६–१ ले नै नतिजा आफ्नो पक्षमा पारे ।
चौथो सेट ३–७ ले जोकोभिचले जिते पाँचौ सेटमा अल्काराजले ६–४ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक विम्बल्डनको उपाधि हात पारे । जोकोभिचको आठौँ विम्बल्डन उपाधि जित्ने लक्ष्य पुरा भएन । जोकोभिचले अहिलेसम्म २३ ग्रान्डस्लाम उपाधि जितेका छन् ।
अल्काराजले यस जितसँगै आफ्नो शीर्ष वरीयता पनि कायम राखेका छन् । जोकोभिचले १० वर्षपछि विम्बल्डनको सेन्टर कोर्टमा हार बेहोर्दा अल्काराज सन् १९८६ यताकै कान्छा च्याम्पियन बने । अल्काराजले यसअघि सन् २०२२ मा युएस ओपन जितेका थिए ।


यसैगरी वरियता विहिन मार्केटा वोन्ड्रोसोवाले महिलातर्फको विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । चेक रिपब्लिककी मार्केटाले छैटौँ वरीयताकी ट्युनिसियाकी ओन्स जाबेउरलाई शनिवार सम्पन्न फाइनलमा ६–४, ६–४ को सोझो सेटमा हराउँदै विम्वल्डनको उपाधि जित्ने पहिलो वरियता विहिन खेलाडी बनेकी हुन ।
चोटका कारण मार्केटा पछिल्लो सिजन ६ महिना कोर्ट बाहिर रहेकी थिइन । पछिल्ला ६० वर्षमा विना वरियताका खेलाडीले विम्बल्डन जितेको यो पहिलोपटक हो । सेन्टर कोर्टमा मार्केटाले खेलजीवनकै पहिलो ग्रान्ड स्लाम जितेकी हुन् । सन् २०१९ को फ्रेन्च ओपनको फाइनलमा स्थान बनाए पनि उनी एस्लेघ बार्टीसँग निराश भएकी थिइन् । विम्बल्डन जित्ने मार्केटा चेक रिपब्लिककी तेस्रो खेलाडी हुन् । यसअघि चेक रिपब्लिकका याना नोभोटाना र पेट्रा किभिटोभाले विम्बल्डन जितेका थिए ।