स्की संघको अध्यक्षमा पुनः श्रेष्ठ

भक्तपुर, असार ३१
नेपाल स्की संघको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको छ । संघको आइतवार बसेको पाँचौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
सभाले संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई, महासचिवमा विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाईकृष्ण वलामी छन् ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका श्रेष्ठले अबको दिन संघले थप कार्यक्रम गर्ने र नेपालमा स्की आयोजनाका सम्भावित नयाँ स्थानको खोजी गर्ने बताए ।
त्यस अगाडि आयोजित उद्घाटन सत्रमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले स्की खेलको विकास र बिस्तारका लागि राखेप संघसँग सहकार्य गरी अघि बढ्ने बताए ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कमिटीकै उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य तथा संघहरूका तर्फबाट नेपाल पौडी संघका अशोक वज्राचार्यले नयाँ कार्यसमितिको सफलताको कामना गरे ।
संघको निर्वाचनमा प्रमुख अधिकृत वसन्तबहादुर वस्नेतसँगै निर्वाचन अधिकृत डोल्मा लामा र ज्ञानेन्द्र श्रेष्ठ रहेका थिए ।
संघले राष्ट्रिय खेलकुद परिषदसँगको समन्वयमा नयाँ खेलकुद ऐन अन्तर्गत संघको स्वायत्तताको मूल सिद्धान्त अनुसार नयाँ कार्यसमिति चयन गरेको हो । यस्तै संघका ३३ प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था पनि लागू गरिएको छ ।