बंगलादेशविरुद्धको फिफा सिरिजमा नेपालको कब्जा

भक्तपुर, असार ३१
वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपाली महिला फुटबल टोली बंगलादेशविरुद्ध ४–२ ले विजयी भएको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज अन्तर्गत बंगलादेशको ढाकामा आइतवार सम्पन्न दोस्रो खेलमा टाइब्रेकरमा नेपालले जित निकाल्दै उपाधि जितेको हो ।
खेलको ९० औं मिनेटमा कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको स्थानमा अञ्जना मैदान प्रवेश गरेको थियो । नेपालको जितमा अञ्जनाले बंगलादेशको दुई पेनाल्टी रोकेका थिए ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा पहिलो पेनाल्टी नेपालका सावित्रा भण्डारी प्रहार गरेका थिए । उनले गोलपोष्टको बाँयातर्फको टप कर्नरमा प्रहार गर्दै गोल गरे ।
बंगलादेशका सम्सुन्नाहारले पहिलो पेनाल्टी प्रहार गर्दै गोल गरे । उनको प्रहार नेपाली किपर अञ्जनाले सही दिशा थम्याएपनि बचाउन भने सकेन ।


नेपालका लागि हिराकुमारी भुजेलले दोस्रो पेनाल्टी प्रहार गर्दै गोलमा परिणत गरे । अञ्जनाले बंगलादेशका शेउली अजीमको प्रहार रोक्दै नेपाललाई २–१ को अग्रता दिलाए ।
नेपालका लागि गोलकिपर अन्जनाले तेस्रो पेनाल्टी प्रहार गरे तर गोलपोष्टमा लागेर गोल हुन सकेन । लगत्तै अञ्जनाले बंगलादेशका मारिया मान्डाको प्रहार विफल पार्दै नेपालको अग्रता कायम राखे ।
दिपा शाहीले नेपालको लागि चौथो प्रहार गोल परिणत गरे । मोनिका चक्माले चौथो प्रहारमा गोल गर्दै बंगलादेशलाई खेलमा कायम राखे पनि अनिता केसीले पाँचौ प्रहारमा गोल गर्दै नेपालको जित पक्का गरिन् ।


यसअघि ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपुर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलमा बंगलादेशसँग केही दबाबमा रहेको नेपालले गोलका लागि उत्कृष्ट अवसर सृजना गर्न भने सकेको थिएन । खेलको चौथो मिनेटमा नै बंगलादेशकी मिडफिल्डर मोनिका चक्माको फ्रिकीकमा कप्तान सविना खातुनको प्रहारमा क्रसबार बाधक बन्यो ।
खेलको ४३ औं मिनेटमा सावित्रा भण्डारी (साम्बा)को फितलो प्रहार बंगलादेशकी गोलरक्षक रुप्ना चक्माले सहजै बचाईन् । खेलको ४४ औं मिनेटमा साम्बाको प्रहर गोलरक्षकले बचाइन् । खेलको ८२ औं मिनेटमा साम्वाको फ्रिकीक गोलरक्षक रुप्ना चक्माको हातमा पुग्यो ।
नेपाल र बंगलादेशले पहिलो मैत्रीपुर्ण खेलमा १–१ को बराबरीमा सकिएको थियो । गतवर्षको भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगालदेशसँग ३–१ ले पराजित भएको थियो ।