अरनिको राजमार्गमा हरियाली प्रवर्धनका लागि वृक्षारोपण

भक्तपुर, असार ३१
राष्ट्रको लागि दुई घण्टा अभियान अन्तर्गत शनिवार अरनिको राजमार्ग अन्तर्गत राधेराधे देखी राष्ट्रिय क्षयरोग केन्द्र थिमिसम्मको सडक खण्डमा वृक्षारोपण गरिएको छ । अभियानले मध्यपुर थिमि नगरपालिका, सूर्यविनायक नगरपालिका, काठमाण्डौ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय भक्तपुर, डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा अरनिको राजमार्गमा हरियाली प्रवर्धनका लागि फुलजन्य वृक्षारोपण गरिएको हो ।
हनुमन्ते सरसफाई अभियानलाई एक सय हप्तामा सम्पन्न गरी सो अभियानलाई राष्ट्रको नाममा दुई घण्टामा बदलेर प्रत्येक शनिवार अरनिको राजमार्ग सरसफाई र हरियाली प्रवद्र्धन गर्दै आएको छ । अभियानको १९ औं हप्तामा वृक्षारोपणका साथै रोधरोध चोकलाई क्लिन ग्रिन हाइवेको रुपमा विकास गर्न गुरुयोजना समेत सार्वजनिक गरिएको छ ।
गुरुयोजना अन्तर्गत श्यामा श्यामा धाम र राष्ट्रका लागि दुई घण्टा अभियानको सहयोग एवं समन्वयमा डिभाइन युथ क्लबले विभिन्न जातका फलफूल तथा हरियाली प्रवद्र्धन हुने वृक्षारोपण गरी राधेराधे क्षेत्रलाई सधै सफा राखिने अभियानका उपाध्यक्ष नरेश रञ्जितले बताउनुभयो । उहाँले असारे फुल, कल्की, पैंयुलगायतका करिव २ सय विरुवा रोपिएको र यसलाई निरन्तरता दिने जानकारी दिनुभयो ।
सो अवसरमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अरनिको राजमार्गको सौन्दर्यका लागि नगरपालिकाले विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट लाईट जडान गरिएको र अरनिको राजमार्गमा सरसफाई अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले भक्तपुरको केन्द्रमा रहेको र मुख्य सडक मार्गको रुपमा रहेको अरनिको राजमार्गको सौन्दर्यका लागि सबै नगरपालिकाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराई, मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठ, बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख सल्लाकार डिपी ढकाल, नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज दिलिपकुमार प्रजापति, नेकपा एमाले जिल्ला अध्यक्ष वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका प्रवक्ता एवम् ३ नं. वडाअध्यक्ष कृष्णहरि आचार्य, मध्यपुर थिमि वडा नं. ४ का वडाअध्यक्ष बालकृष्ण पात्या श्रेष्ठ, चाँगुनारायण नगरपालिका वडा नं. २ का वडाअध्यक्ष सोम प्रधान, डिभिजन वन कार्यालय भक्तपुरका प्रमुख प्रेम सापकोटा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाल प्रहरी, सशश्त्र प्रहरी, ट्राफिक प्रहरी र अभियान्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई नेपाल फुलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, नेपाल स्वच्छ वातावरण सृजना केन्द्र, डिवाईन युथ क्लब नेपाल, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, पातन्जल योग समितिलगायत विभिन्न संघसंस्थाहरुले सहयोग गरेको थियो ।