भाँच्चियो लामखुट्टेको एउटा दाँत

file photo

भक्तपुर, असार ३०
काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न भागमा बस्ने नेवार समूदायले शनिवार आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधी नलागोस भन्ने कामनासहित धुमधामले गठामुंगः पर्व मनाएका छन ।
साउन कृष्ण चतुदर्शी अर्थात घण्टाकर्ण चतुदर्शीको अवसरमा नेवार समूदायले घरघरमा गठामुंगःको पुजा गरी बौ वाय् ज्या (भुत मन्छाउने कार्य) सम्पन्न गरी भूत, प्रेत, डाकिनी, शाकिनी, पिशाच आदिलाई तान्त्रिक विधिद्धारा मन्छाएका हुन ।
भक्तपुरमा यो पर्व विशेष प्रकारले मनाउने गर्दछन । यहाँको शैली अन्य स्थानका नेवार समुदायको भन्दा भिन्न प्रकारको छ । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भुत मन्छाउने कार्य) गरेका थिए । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रंगीविरंगी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ति बालेर टोल बाहिरको दोवाटो वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्या अर्थात भुत पन्छाउने कार्य भनिन्छ ।
बौ वाय् ज्यासँगसँगै घरघरको मुल ढोका र मुख्य निदालमा पंचरंगी मयूरको प्वांख र तिन खुट्टे फलामको किला ठोकेका थिए । यसले घरमा भुत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीहरुलाई फलाम वा तामाको औंठी लगाईदिने चलन पनि रहेको छ । वयस्क युवतीहरुले घण्टाकर्णको दिन विशेषगरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।
त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर दोवाटोमा फाल्ने कार्य) गरेका थिए । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फुल समेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखी तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोवाटोमा लगेर सेलाएका थिए ।
यसरी छ्वाली प्वा बालेर घरको सबै कुना घुमाएर छ्वासमा लगेर सेलाउनाले घरमा लामखुट्टे नआउने र आएपनि तोक्न नसक्ने जनश्रुती रहेको छ । जनश्रुतिअनुसार घण्टाकर्ण चतुदर्शीको दिन छ्वाली प्वा वाय् गर्दा लामुखट्टेको एउटा दाँत भाँच्चिने र उसले तोक्न नसक्ने विश्वास रहेको छ ।
लामखुट्टेको दाँत नै नभाच्चिए पनि छ्वाली प्वा वाय् गर्दा लामखुट्टेको संख्यामा कमी आउने जनश्रुति वैज्ञानिक दृष्टिले पनि उचित देखिन्छ । किनकी घर सफा गरी घरको कुना कुनासम्म धुँवा हुने गरी छ्वालीको मुठा बालेर घुमाउनाले लामखुट्टेको संख्या घट्नु स्वभाविक हो ।
घण्टाकर्ण पर्वकै अवसरमा टोलबासीले नर्कट र छ््रवालीको मानवाकृतयूक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठ्ड्याएर राखेका थिए । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतिक बनाई जगात अर्थात पैसा उठाउन लगाईने परम्परा रहेको छ । साँझ पख सो राक्षसको प्रतिक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाएका थिए । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लिल शब्दहरु प्रयोग गर्दै गित गाउँदैं जाने गर्दछन ।