धम्मसाकच्छा संघ, हःखाद्वारा परियत्ति शिक्षाामा उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण तथा महामञ्जुश्रीमा भगवान बुद्धकाे प्रतिमा दान

सुनीता तुलाधर, भक्तपुर, असार  २५ गते ।
परियत्ति शिक्षाका विभिन्न तहमा उत्तीर्ण विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गरी धम्मसाकच्छा संघ, हःखा, ललितपुरको २१ औं वार्षिक साधारण सभा असार २३ गते शनिवारका दिन भक्तपुरको मुनि विहारमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मुनि विहारका विहार प्रमुख भिक्षु विपस्सी महास्थविरले भगवान बुद्धको प्रतिमा, संघका धम्मानुशासक भिक्षु पञ्ञासार महास्थविरले प्रमाणपत्र तथा संघका अध्यक्ष कुलमान शाक्यले विद्यार्थीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।


भिक्षु पञ्ञासार महास्थविरले प्रमाणपत्र वितरण गर्नुहुँदै आफू नै पहिला असल र सदाचारी हुनको लागि परियत्ति पढ्नुपर्ने बताउनुभयो । उहाँले परियत्ति शिक्षा भनेको भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि ४५ वर्षसम्म विभिन्न स्थानमा जानुभई दिनुभएको जीवनको दुःखबाट मुक्त हुने धर्म उपदेश हो भन्नुभयो ।


उक्त सभामा संघका अध्यक्ष कुलमान शाक्यले धम्मसाकच्छा संघले फोटो प्रदर्शनी, धर्मदेशना, ध्यान भावना कार्यक्रमहरु निरन्तर रुपमा चलाइरहेको र विगत ५ वर्षदेखि परियत्ति शिक्षा पनि चलाइरहेको जानकारी दिनुभयो । यसवर्षदेखि संघले स–साना विद्यार्थीहरुलाई पनि परियत्ति शिक्षाको अध्यापन शुरु गरेकोमा यसवर्ष कक्षा १ मा करीब ७० जना विद्यार्थीहरु रहेको हर्षको कुरा उहाँले सुनाउनुभयो ।
संघका सचिव गौतम शाक्यले संघको वार्षिक गतिविधि र कोषाध्यक्ष इन्द्रराज शाक्यले आर्थिक वर्षको आयव्यय उक्त सभामा प्रस्तुत गर्नुभएको थियो ।
सभामा भिक्षु विपस्सी महास्थविर, हेम बहादुर शाक्यलगायतले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।


साथै संघको उक्त सााधरण सभापछि भक्तपुरस्थित ल्हासापाक्वःमा संघका अध्यक्ष शाक्यले श्री महामञ्जुश्री गुरुता फुर गुम्बालाई भगवान बुद्धको प्रतिमा पनि दान गर्नुभएको थियो ।