कामदारलाई बोकाएर सुन तस्करी, करिव सवा दुई अर्बको कारोवार भएको खुलासा

भक्तपुर, असार २५
वैदेशिक रोजगारीका लागि गएका नेपालीलाई प्रयोग गरेर सुन तस्करी हुने गरेको पाईएको छ । गिरोहले कतारबाट नेपाल फर्किने कामदारलाई ललाई फकाई, प्रलोभनमा पारी नियमानुसारको ५० ग्राम सुन दैनिक २० देखी २५ जनालाई बोकाई पठाउने गरेको पाईएको हो ।
कानुनी दृष्टिले बिलसहितको सुन नियमानुसार कामदारले सुविधामा ल्याएको देखिएपनि वास्तवमा ती सुन भन्सार छलेर तस्करी गरी ल्याएको खुल्न आएको हो । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले यसरी सुन तस्करीमा संलग्न भएको आरोपमा १२ जनालाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला धनुषाको धनुषाधाम नगरपालिका–५ बस्ने ३४ वर्षिय नरेश पंजियार, सिराहा पर्टेवा नगरपालिका–१७ बस्ने २४ वर्षिय दिनेश कुमार यादव, बाँके राप्ती सोनारी गाउँपालिका–४ बस्ने ३६ वर्षिय भुम बहादुर वली, धनुषा मिथिला बिहारी नगरपालिका–५ बस्ने २५ वर्षिय सुनिल कुमार महरा, कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ बस्ने २३ वर्षिय सन्त गुलाम मुराव, सप्तरी बलान बिहुल गाउँपालिका– २ घर भई हाल काठमाण्डौं सिनामंगल बस्ने २८ वर्षिय विनोद कुमार साह रहेका छन ।
यसैगरी सप्तरी बलान बिहुल गाउँपालिका–२ घर भई हाल काठमाण्डौ सिनामंगल बस्ने विनोद कुमार साहको श्रीमती २५ वर्षिया सन्जु कुमारी साह, सप्तरी बोदेबर्साईन नगरपालिका–१ घर भई हाल काठमाण्डौं सिनामंगल बस्ने २७ वर्षिय देवनन्दन साह, सप्तरी बलान बिहुल गाउँपालिका–६ घर भई हाल भक्तपुर थिमि बस्ने २२ वर्षिय दुर्गा प्रसाद यादव, सर्लाही हरीपुर नगरपालिका–३ घर भई हाल काठमाण्डौ बागबजार बस्ने ५६ वर्षिय निमाई साह, सिराहा लहान नगरपालिका–४ बस्ने शिव सुन्दर राउत र सिराहा लहान नगरपालिका–४ हनुमानबनगर बस्ने मोहन कुमार यादव रहेका छन ।
प्रहरीका अनुसार कतारबाट केही व्यक्तिले सुन ल्याउँदै गरेको र केही व्यक्ति विमानस्थलमा सुन लिन आउँदै गरेको भन्ने सूचनाको आधारमा निगरानी बढाउने क्रममा आइतवार नेपाल वायु सेवा निगमको आरए २४० नं.को उडानमा कतारबाट सुनिलकुमार, दिनेशकुमार, सन्तु मुलाम, नरेश र भुमबहादुरलाई ८२८ ग्राम सुनसहित पक्राउ गरेर अनुसन्धान थालेको थियो ।
उनीहरुसँग सुन लिन आउने विनोदकुमार, उनकी श्रीमती सञ्जुकुमारी, दुर्गाप्रसाद र देवानन्दलाई पक्राउ गरिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) मिलन केसीले बताउनुभयो ।


पक्राउ परेका विनोदकुमारको सिनामंगलमा बी हिमालयन स्पायर नामक होटल छ । त्यही होटलमा विदेशी कामदारले ल्याएको सुन संकलन हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीले मुख्य नाइके शिव सुन्दरलाई सिराहाबाट पक्राउ गरेको हो । उनको खातामा एक अर्ब ९७ करोडभन्दा बढी कारोबार देखिएको छ । सिराहाबाटै पक्राउ परेका मोहनकुमारले शिवसुन्दरको खातामा रकम हाल्ने र झिक्ने काम गर्ने गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानको क्रमम कतारको दोहामा बस्ने नेपाली कामदारहरुले तलब पाएपछि आईएमई मार्फत नेपालमा रकम पठाउँदा अरूले भन्दा बढी विनिमय दरमा सटही गर्ने र यसरी चिनजान भएका कामदारलाई नेपाल फर्कने क्रममा बढीमा १५ हजार रुपैंया दिने गरी बिलसहितको सुन बोकाएर पठाउने गरेको खुल्न आएको एसपी केसीले बताउनुभयो । केसीका अनुसार नेपाल पुग्दा होटलमा खानबस्न फ्रि, घर जाने बेलामा मेरो मान्छेले ५ हजार रुपैंया दिन्छ भनी प्रलोभनमा पार्ने गरेको खुल्न आएको छ । यसरी विभिन्न प्रलोभनमा पारी दैनिक १५–२० जनालाई ५०÷५० ग्रामको दरले सुन नेपाल पठाउने गरेको पाईएको हो ।
पक्राउ परेका व्यक्तिहरू मध्ये सन्जु कुमारी साहले भन्सार छली चोरी पैठारी गरी ल्याएको केही सुनहरू काठमाण्डौको बागबजारमा रहेको निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्समा लगी बिक्री गरेको बयान दिएको आधारमा प्रहरीले बागबजारमा रहेको सुर्पना ज्वेलर्सका सन्चालक निमाई साहलाई समेत नियन्त्रणमा लिईएको हो । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु, पठाईएको छ ।
प्रहरीका अनुसार विनोद कुमार साहले रितेश जनरल स्टोर्सका संचालक शिव सुन्दर राउतको नाममा रहेका विभिन्न बैकहरूमा रहेका खातामा एक करोड ६७ लाख ८९ हजार ९९९, सन्जु कुमारी साहले रितेश जेनेरल स्टोर्सको नाममा रहेको विभिन्न बैक खाताहरूमा २ करोड एक लाख १८ हजार ५ सय, मोहन कुमार यादवले रितेश जेनेरल स्टोर्सको नाममा रहेका विभिन्न बैक खाताहरूमा ५ करोड १६ लाख १२ हजार, शिव सुन्दर राउतले मोहन कुमार यादवको नाममा रहेका विभिन्न बैक खाताहरूमा १४ करोड ३९ लाख ७१ हजार रुपैंया पठाएको देखिएको छ ।
शिव सुन्दर राउतले सञ्चालन गरेको रितेश जेनेरल स्टोर्सको कुल कारोबार एक अर्ब ९६ करोड, शिव सुन्दर राउतको कुल कारोबार १२ करोड ११ लाख ४२ हजार ४ सय र विनोद कुमार साहको कुल कारोबार ४१ करोड ५४ लाख ७६ हजार ८६९ गरी करिव २ अर्ब ३५ करोड २३ लाख ३८ हजार ८६९ रुपैंयाको कारोवार भएको देखिन आएको छ ।
प्रहरीले निमाई साहले सञ्चालन गरेको सुर्पना ज्वेलर्सबाट ५४२ ग्राम सुन जस्तो देखिने पहेँलो धातु समेत बरामद गरेको छ ।