मध्यपुर थिमिमा सबै धारामा पानी आउने गरी नयाँ तालिका अनुसार वितरण

भक्तपुर, असार २४
काठमाण्डौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) थिमि शाखाले मध्यपुर थिमि नगरपालिका भित्र नयाँ तालिकासहित खानेपानी व्यवस्थित र समानुपातिकरुपमा वितरणको व्यवस्था गरेको छ । केयुकेएलले विगतको पानी वितरणको तालिकाको समिक्षा गर्दै नगरका सबै क्षेत्रका धारामा पानी आउने गरी नयाँ तालिकासहित पानी वितरण शुरुवात गरेको हो ।
केयुकेएलको मध्यपुर थिमि ९ बोडेस्थित पानी प्रशोधन केन्द्रले दैनिक ८० लाख लिटर खानेपानी उत्पादन गर्दै आइरहेको छ । केयुकेएलले भक्तपुरमा मध्यपुर थिमिको पुरै क्षेत्र र भक्तपुर नगरपालिकाको करिव आधा भागमा पानी वितरण गर्दै आइरहेको छ । केयुकेएल थिमि शाखाका प्रमुख ई. अनिल कुमार तिखत्रीका अनुसार खानेपानीको माग भने दैनिक एक करोड ८० लाख लिटर रहेको छ ।
“भक्तपुरमा डिजाईन र डिमाण्ड अनुसार पानी वितरण गर्ने हो भने दैनिक एक करोड ८० लाख लिटर पानी आवश्यक पर्छ,” उहाँले भन्नुभयो, “उत्पादन दैनिक ८० लाख लिटर छ । यहीबाट पानीको अभावको कति छ भन्ने प्रष्ट हुन्छ ।”
उत्पादनको तुलनामा माग दोब्बर भन्दा बढी भएको अवस्थामा पानी वितरणमा समस्या आउनु स्वभाविक भएको बताउँदैं उहाँले भएका स्रोतको अधिकतम उपयोग गरी मध्यपुर थिमिका सबै धारामा पानी आउने वातावरण निर्माणको प्रयास भइरहेको जानकारी दिनुभयो ।


उहाँले बोडेमा उत्पादन भएको पानी भक्तपुर नगर र काठमाण्डौंको बानेश्वर शाखामा समेत पठाउनुपर्ने भएकोले थिमिमा भने जस्तो पानी वितरण गर्न नसकिएको बताउनुभयो । “बोडे पानी प्रशोधन केन्द्रबाट केयुकेएल भक्तपुर शाखा अन्तर्गतका धारामा दैनिक १५ देखी २० लाख लिटर र नयाँ बानेश्वर शाखाका लागि अर्को २० लाख लिटर पानी पठाउनुपर्ने हुन्छ । बाँकी मध्यपुर थिमिमा वितरण हुन्छ,” उहाँले भन्नुभयो ।
उहाँले हप्तामा दुई दुई दिनको फरकमा मध्यपुर थिमिमा पानी वितरण गर्ने नयाँ तालिका निर्माण गरी आइतवारबाटै वितरण शुरु गरेको जानकारी दिनुभयो । उहाँले नयाँ तालिका अनुसार पानी वितरणबाट सुधार हुनेमा विश्वस्त भएको बताउँदैं भन्नुभयो, “एक साता हेछौं, यसले कस्तो परिणाम दिन्छ । हामीलाई विश्वास छ घरघरमा पानी पुग्छ । अहिलेको अवस्थामा अब मध्यपुर थिमिमा कहाँ कहाँ पानी आउँदैन भनेर हामीले सोध्नुपर्ने परिस्थिती निर्माण गर्ने दिशामा हामीले काम गरिरहेका छौं ।”
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर थिमिको पुरानो बस्तीमा नयाँ तालिका अनुसार पानी वितरण गरेपछि बिस्तारै कमेरोटार प्लानिङमा समेत पानी वितरण गरिने तयारी भइरहेको जानकारी दिनुभयो ।
“पुरानो बस्तीका धारामा नयाँ तालिका अनुसार पानी वितरणको परिक्षण शुरु गरेका छौं । यसमा सफल भएमा हामीसँग पानी वचत हुन्छ । सो पानी कमेरोटारमा वितरण गर्ने व्यवस्था मिलाउने छौं,” उहाँले भन्नुभयो ।