हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँच पुर्याउन बागमती प्रदेश सरकार तत्पर– मन्त्री जोशी

भक्तपुर, असार २२
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले बागमती प्रदेश सरकार हुँदा खाने वर्गलाई स्वास्थ्यको पहुँच पुर्याउन तत्पर रहेको बताउनुभएको छ । भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सवको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा मन्त्री जोशीले स्वास्थ्यका विभिन्न निशुल्क कार्यक्रमका साथ बागमती प्रदेश सरकार स्वास्थ्यमा सबैको पहुँचका लागि काम गरिरहेको बताउनुभयो ।
“बागमती प्रदेश सरकारले शहिद परिवार, जनआन्दोलनका घाईते, जनयुद्धका घाईते, सडक दुर्घटनाका घाईते, विपन्न नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरु जो क र ख मा वर्गिकृत छन र वन्यजन्तुको आक्रमणमा परेर घाईते भएकाहरुको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने नीति ल्याएको छ,” उहाँले भन्नुभयो, “मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगको पहिचानका लागि परिक्षण र परामर्श सेवा, शैलजा आचार्य अल्जाइमर्स रोगको रोकथाम र उपचार सेवा, ६५ वर्ष भन्दा माथिका उमेर समूहका नागरिकको निःशुल्क दन्त सहायता सामग्री र दाँतको उपचार सेवा निःशुल्क गर्ने नीति रहेको छ ।”
यस्तै उहाँले आश्रममा आश्रितहरु, सिमान्तकृत वर्गहरु, लोपोन्मुख जाती, क र ख वर्गका अपाङ्गगता भएकाहरुको निःशुल्क स्वास्थ्य बिमा गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाँले बागमती प्रदेश सरकारले निःशुल्क भनेका सेवाहरु निःशुल्कनै उपलब्ध गराउन निर्देशन दिनुभयो ।
देशको उत्कृष्ट अस्पताल बन्न सफल भएको र यहाँको सेवाग्राहीको चापलाई ध्यान दिँदैं भक्तपुर अस्पताललाई थप व्यवस्थित र स्तरोन्नती गर्न खाँचो रहेको बारे बागमती प्रदेश सरकारको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर अस्पतालको सेवा बिस्तारमा धेरै काम गर्न चाहना हुँदाँहुँदैं सिमित स्रोत साधनका कारण गर्न नसकिएको बताउनुभयो । उहाँले आगामी वर्ष भक्तपुर अस्पतालमा सिटी स्क्यानको व्यवस्थाको लागि बजेट विनियोजन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका सांसद सुरेश श्रेष्ठले विगतमा यहाँ सिटी स्क्यान मेसिन ल्याउन पहल गरेको स्मरण गराउँदैं आगामी वर्ष एमआरआई मेसिनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अर्की बागमती प्रदेशकी सांसद भुवनकेशरी श्रेष्ठले अस्पतालले गरेको प्रगतीको प्रशंसा गर्दै यसलाई निरन्तरता दिनुपर्ने खाँचो औंल्याउनुभयो । यस्तै सांसद धनेश्वरी प्रजापतिले अस्पतालको विकास र सेवा बिस्तारका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बागमती प्रदेशका मुख्य मन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले भक्तपुर अस्पतालले अहिले काँचुली फेरेको चर्चा गर्दै अस्पतालले प्रवाह गरेको गुणस्तरीय सेवाका कारण विरामीको चाप तीनगुणा बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो अस्पताल म जन्मेको अस्पताल हो, यो अस्पतालको भौतिक संरचनादेखि सेवा बिस्तारसम्मका लागि हामी लागिरहेका छौँ, तपतप पानी चुहिएर बिजोग अस्पताललाई आज यति राम्रो बनाउन हामीले बजेटको व्यबस्थापन गर्यौ, आज राम्रो भएको छ ।”
मुख्यमन्त्रीले समेत यो अस्पताललाई २०० शय्यामा पुर्याएर सेवा बिस्तार गर्न लागिरहेको बताउदै उहाँले सिटी स्कयान ल्याउन बजेटको व्यबस्थापन गर्न सफल भएको र सिटी स्क्यान मेशिन राख्ने भवन निर्माणका लागि रु. २ करोड बजेट व्यबस्थापन गर्न पनि आफू लागिरहेको बताउनुभयो ।


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल र ख्वप अस्पताल दुबै सरकारी र सामूदायिक अस्पताल भएको र यी दुई अस्पतालले एक वर्षमा चार लाख भन्दा बढी जनतालाई सेवा उपलब्ध गराएको बताउनुभयो । उहाँले निजी अस्पतालमा बिरामी लाने प्रबृत्ति रोकेर गुणस्तरीय र सहज सेवा उपलब्ध गराएर सबै नागरिक सरकारी अस्पतालमै सेवा लिन आउने वातावरण बनाउनु पर्नेमा जोड दिदै सरकारले सरकारी अस्पतालको सेवा बिस्तारका लागि लगानी गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले अस्पताललाई पत्रकारहरुले नियालीरहेको बताउदै पछिल्ला समय अस्पतालको राम्रा समाचार लेख्न पाएकोमा खुसी लागेको बताउनुभयो । उहाँले अझै पनि भक्तपुरका जनता स्वास्थ्य सेवाको लागि काठमाण्डौं र ललितपुरका ठूला नीजि अस्पताल र काभ्रेको धुलिखेल अस्पतालसम्म स्वास्थ्य सेवाका लागि जाने प्रवृत्ति रहेको बताउँदैं यो प्रवृत्ति भक्तपुर अस्पतालको लागि चुनौती भएको चर्चा गर्नुभयो ।
कार्यक्रममा अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले कोभिडकालमा २०९ शैयामा सेवा सञ्चालन गरेको अस्पताल अहिले भवन अभावले शैया खुम्याउनु पर्ने अबस्था रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०५९ सालमा दैनिक ८० जना विरामीलाई सेवा दिन निर्धारण गरेको दरबन्दी र जनशक्तिबाटै अहिले दैनिक ८०० बिरामीलाई सेवा दिइरहेका छौँ, प्रभावकारी र गुणस्तरीय सेवा दिन सफल भएकै कारण पहिला प्रदेशकै उत्कृष्ट अस्पताल र अहिले देशकै उत्कृष्ट अस्पताल घोषणा भएर पुरस्कार पाउन सफल भएका छौँ, सरकारले ओएनएम गरेर यो अस्पताललाई २०० शैयाका लागि आवश्यक स्थायी दरबन्दीको व्यबस्था गरेर लैजानु अत्यावश्यक भइसकेको छ ।” भक्तपुर अस्पतालमा नयाँनयाँ सेवाहरु बिस्तार गर्दै गइरहेको र नयाँ भवन निर्माण तथा हस्तान्तरणमा ढिलाई हुँदा समस्या आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष रमण कायस्थले अध्यक्ष, मेडिकल सुपरिटेण्डेन्ट र कर्मचारीको मिहेनतले अस्पताललाई उत्कृष्ट बनाउन सफल भएको बताउनुभयो ।
उहाँले अस्पतालले शुरु गरेको नयाँ नयाँ सेवाका कारण आम नागरिकमा भक्तपुर अस्पताललाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दावी गर्दै अझै सेवाहरु थप्दै उपचारका लागि भक्तपुर अस्पताल छाडेर अन्यत्र भौतारिनु पर्ने अबस्था अब नआउने गरि व्यबस्थापन गरिने बताउनुभयो ।
सो अवसरमा कोभिड १९ को महामारीका बेला उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी र कर्मचारी, अस्पतालका हिरो अफ दी मन्थलगायत अस्पतालको सेवा सूचारु गर्न उल्लेख्य योगदान दिएका स्वास्थ्यकर्मी र कर्मचारी, अस्पताललाई देशकै उत्कृष्ट अस्पताल बनाउन अहोरात्र मेहनत गर्ने मेसु डा. गौतमलगायत अन्य स्वास्थ्यकर्मीहरु समेतलाई दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरिएको थियो ।