भक्तपुरका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण

भक्तपुर, असार २२
भक्तपुर अस्पतालले शुक्रवार जिल्लाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरेको छ । अस्पतालको ११९ औं वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर र अस्पतालको संयुक्त आयोजनामा जिल्लाका पत्रकारहरुको निःशुल्करुपमा होल बडी परिक्षण गरिएको हो ।
स्वास्थ्य परिक्षणमा रगत, पिसाव, दिसा, एक्सरे, ईसिजी र अल्ट्रसाउण्डको माध्यमबाट सिबिसि (एचबि, टिसी, डिसी, प्लेटलेस), टिएफटि थायरायड, ओक्युल्ट ब्लड, लिपिड प्रोफाइल, एलएफटी जनरल, क्रेटीनाइन, युरिया, जीटीटी÷ओजीटीटी जनरल, इएसआर जनरल, भिटामिन डी, पल्मोनरी फन्सन टेष्ट, युएसजीलगायतको जाँच गरिएको थियो ।


भक्तपुर अस्पतालमा आयोजित परिक्षणमा बिहान ७ बजेदेखी ९ बजेसम्म उपस्थित भएका पत्रकारहरुको दिउँसो साढे एक बजेसम्म स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षणमा करिव ४० जना पत्रकारहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।
भक्तपुर अस्पताल पछिल्लो समय देशकै नमूना अस्पतालको रुपमा विकास भएको छ । कुनै समय रिफर सेन्टरको उपनाम पाएको यो अस्पतालले डा. सुमित्रा गौतमको नेतृत्वमा अहिले काँचुली फेरेको छ । विभिन्न रोगको विशेषज्ञ सेवासहितको बिस्तारित सेवाले भक्तपुर अस्पतालको देशकै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
पत्रकारहरुको लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल प्रशासन समक्ष पहल गरिरहेको बताउँदैं नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिले त्यसको पहिलो पाईलाको रुपमा पत्रकारहरुको निःशुल्करुपमा होल बडी स्वास्थ्य परिक्षण आयोजना गरिएको जानकारी दिनुभयो ।
“दैनिक स्थलगत रुपमा समाचार संकलनका लागि खटिनुपर्ने पत्रकारहरु स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ महासंघ भक्तपुर अस्पतालसँग सहकार्यमा पत्रकारहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न लागि परेको छ,” अध्यक्ष प्रजापतिले भन्नुभयो ।


भक्तपुर अस्पतालका मेसु डा. सुमित्रा गौतमले भक्तपुर अस्पताललाई आजको अवस्थामा पुर्याउन र देशकै उत्कृष्ट अस्पताल बनाउन पत्रकारहरुको पनि भूमिका रहेको बताउँदैं राज्यको चौंथो अंग, कोभिडको महामारीमा फ्रन्टलाइनमा सँगै काम गरेका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यसलाई निरन्तरता दिन अस्पताल तयार रहेको जानकारी दिनुभयो ।
अस्पताल विकास समितिका अध्यक्ष रमण कायष्ठले अस्पतालमा मधुमेह (सुगर)को उपचारका लागि इन्डोक्रिनोलोजी सेवा, नशा रोगको उपचार शुरु गरिएको बताउँदैं निकट भविष्यमा आँखाको सम्पूर्ण उपचार शुरु गर्न आवश्यक तयारी भइरहेको बताउनुभयो ।
उहाँले आफु अस्पताल प्रवेश गरेको दिन देखी यहाँ भएका सेवालाई व्यवस्थित गर्ने र नयाँ नयाँ सेवा बिस्तार गरी भक्तपुर र आसपासका जिल्लाका नागरिकलाई स्वास्थ्यका सम्पूर्ण सेवा उपलब्ध गराउने योजनाका साथ अघि बढेको बताउँदैं सोही अनुसार अस्पतालमा विशेषज्ञसहितको सेवा बिस्तारको काम भइरहेको बताउनुभयो ।