प्याव्सन र हिसानबीच कक्षा ११ मा ५० प्रतिशत छुट दिने सहमती

भक्तपुर, असार २३
नीजि क्षेत्रबाट सञ्चालित विद्यालय र कलेजकहरुको छाता संगठन प्याव्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्बन्धी शुक्रवार सझौता भएको छ । भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने उद्देश्य बोकेका दुई संस्थाबीच एसईई उत्तिर्ण विद्यार्थीहरुलाई भक्तपुरकै शैक्षिक संस्थामा कक्षा ११ अध्ययनको लागि प्रेरित गर्ने उद्देश्यले ४ बुँदें उक्त सम्झौता भएको हो ।
सम्झौता अनुसार प्याव्सन आवद्ध विद्यालयबाट एसईई उत्तिर्ण विद्यार्थीले हिसान भक्तपुर आवद्ध शैक्षिक संस्थामा कक्षा ११ मा अध्ययनका लागि भर्ना भएमा वार्षिक शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।
यस्तै प्याव्सन सदस्य विद्यालयका प्रिन्सिपलको सिफारिस, विद्यार्थीले प्राप्त गरेको ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई हिसान सदस्य विद्यालय एवम् कलेजहरुले थप छुट सहुलियत दिने सम्झौतामा उल्लेख छ ।
दुई संस्थाले अध्ययनरत विद्यार्थीहरुको व्यक्तित्व विकास, अध्यापनरत शिक्षकहरुको सीप अभिबृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिबृद्धि हुने शैक्षिक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने र भक्तपुरका विद्यार्थीहरुलाई भक्तपुरमै कक्षा ११ र १२ पढ्ने वातावरण निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्तरुपमा कार्यक्रम गर्दै जाने सहमती समेत प्याव्सन र हिसानबीच भएको प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा प्याव्सन भक्तपुरका अध्यक्ष श्रेष्ठ र हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले हस्ताक्षर गर्नुभएको छ ।