चोरी गर्ने चक्करमा दुर्घटना

भक्तपुर, असार २०
भक्तपुरमा एक व्यक्ति चोरी गर्ने चक्करमा दुर्घटनामा परेका छन । भक्तपुरको जगातीबाट स्कुटी चोरी गरी डोलेश्वर पुगेका बेथानचोक गाउँपालिका–४ घर भई हाल डोलेश्वर बस्ने २८ वर्षिय श्रबण खत्री सोही स्कुटीको चावीले नीजि कार चोरी गर्नेक्रममा दुर्घटनामा परेका हुन ।
दुर्घटनामा कार र स्थानीय बलराम खाईतुको घर, घरभित्रको फ्रिजलगायत करिव ४ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) प्रजित केसीले बताउनुभयो ।
घटना विवरण अनुसार खत्रीले बुधवार बिहान भक्तपुर नगरपालिका–५, आदर्शबाट बाग्मती प्रदेश नं. ०२–०२९ प ३५०४ नं. को स्कुटी चोरी गरी डोलेश्वरतर्फ लिएर गएका थिए ।


खत्रीले डोलेश्वर पुगेर त्यहाँ रोकी राखेको प्रदेश नं. ३–०१–०२२ च ४९८९ नं. को कारको ढोका चोरी गरी लगेको स्कुटीको चावीले खाले । सोही चावीले कार चलाई क्लज डबाउने क्रममा उक्त कार उडेर बाटो मुनि रहेको बलराम खाईतुको २ तल्ले पक्की घरभित्र छिर्न पुग्यो ।
सो घटनामा खाईतुको घरको ढोका, जस्ता र फलामको ट्रस, घर भित्र रहेको डिफ्रिज, घरको पर्खाल र कारको विभिन्न भागमा क्षति पुगेको एसपी केसीले बताउनुभयो । प्रहरीले खत्रीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही भइरहेको जनाएको छ ।
घटनामा संलग्न दुवै सवारी साधन कार चालक रामेछाप सुनपाति गाउँपालिका–४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने ४४ वर्षिय समिन लामा र स्कुटि धनी ५४ वर्षिय सानुकाजी सिम्बन्जर प्रहरीको सम्पर्कमा आएको एसपी केसीले बताउनुभयो ।