करिव ३ अर्ब १४ करोडको बजेट पारित गर्दै मध्यपुर थिमि नगरपालिकाको नगरसभाको ८ औं अधिवेशन सम्पन्न

भक्तपुर, असार १९
मध्यपुर थिमि नगरपालिकाको बुधवार सम्पन्न नगरसभाको आठौं अधिवेशनले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ३ अर्ब १३ करोड ६० लाख ३४ हजारको बजेट पारित गरेको छ । उपप्रमुख विजयकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको सो बजेट नगरसभामा सर्वसम्मत पारित भएको हो ।
‘गुणस्तरिय सामाजिक, भौतिक पुर्वाधार, व्यवसायिकरणको साथमा समृद्ध मध्यपुर निर्माणको आधार भन्ने दृष्टिकोण’ सहित बजेटले पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, जग्गा विकास आयोजना लगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले आ. व. २०८०÷०८१ मा बेरुजु फछर्यौट विशेष अभियान सञ्चालन गर्नुका साथै तोकिए बमोजिमको बेरुजु फछर्यौट गर्ने पदाधिकारीहरुलाई प्रोत्साहन दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।


बजेटमा सडक कालोपत्रे गर्न, ढलान गर्न र ब्लक छाप्न साथै ढल निकासको लागि ५०÷५० प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाईने प्रस्ताव गरिएको छ । बिग्रेका भत्केका पूर्वाधार तत्काल निर्माण तथा मर्मत गर्न एक द्रुत कार्य टोली परिचालन गरी तत्काल मर्मत सम्भार गर्ने व्यवस्था मिलाईएको छ ।
यसैगरी स्वास्थ्य कार्यक्रमका लागि ६ करोड ४४ लाख, उज्यालो नगर अभियान अन्तर्गत वडाहरु उज्यालो बनाउन नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयसँग साझेदारी कार्य गर्न ३ करोड ५० लाख विनियोजन गरिएको छ ।
शिक्षा तथा खेलकुद कार्यक्रमको लागि ७ करोड ७ लाख ४१ हजार, सूचना प्रविधि कार्यक्रमको लागि एक करोड ४० लाख विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।


यसैगरी नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा असार १९ गतेसम्म ७३.९८% प्रगती भएको बताउनुभयो । उहाँले अधिकांश योजना सम्पन्न भइसकेको र ती योजनाको भुक्तानी हुने क्रममा रहेकोले असार २५ गतेसम्म बजेट कार्यान्वयन ९० प्रतिशत भन्दा बढी हुने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
“संघीय र प्रदेश सरकारबाट बजेट कटौती भए पनि आन्तरिक स्रोतको समुचित उपयोग गरी चालु आथिर्क वर्षका अधिकांश योजना कार्यान्वयन गर्न सफल भएका छौं,” नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी आर्थिक वर्षका योजना सञ्चालनका लागि पनि आन्तरिक आम्दानीको नयाँ नयाँ स्रोतको खोजी गर्ने र राजश्व परिचालनलाई विशेष जोड दिईनेछ ।”