पत्रकार भुजुलाई पितृशोक

भक्तपुर, असार १५
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सल्लाहकार एवम् पुर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका सचिव र दवाब साप्ताहिकका प्रकाशक, सम्पादक अमर भुजुलाई पितृशोक परेको छ ।
पत्रकार भुजुका पिता रामबहादुर भुजुको ९१ वर्षको उमेरमा शुक्रवार दिउँसो निधन भएको हो । बिहान शौचालय जानेक्रममा अचानक लडेर घाईते हुनुभएका रामबहादुरलाई उपचारका लागि ख्वप अस्पताल लगिएको थियो । त्यही उहाँको उपचारको क्रममा निधन भएको नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले जानकारी दिनुभयो ।
लडेर खुट्टा भाँचिएका कारण शनिवार शल्यक्रिया गर्ने तयारी थियो, तर अचानक दिउँसो पौने २ बजे निधन भएको हो । स्वर्गिय रामबहादुर विगत लामो समयदेखी फोक्सो सम्बन्धी रोगबाट समेत पिडित हुनुहुन्थ्यो ।
स्व. रामबहादुरको शुक्रबारै कटुञ्जेस्थित घाटमा अन्येष्टि गरिएको छ । उहाँको दुई छोरा र एक छोरी हुनुहुन्छ ।
यसैबीच नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले शुक्रवार शोक विज्ञप्ती जारी गरी पत्रकार भुजुलाई परेको पितृशोकप्रति गहिरो दुःख व्यक्त गरेको छ । शाखा सचिव संजीप घिमिरे शुभचिन्तकले जारी विज्ञप्तीमा स्व. रामबहादुरको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।