कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा

भक्तपुर, असार १५
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली र तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती रहेको बताउनुभएको छ । नेपाल किसान महासंघ भक्तपुर जिल्ला समितिले राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मध्यपुर थिमिको कमेरोटारमा आयोजित रोपाईं महोत्सवमा सांसद थापाले शहरीकरण र आधुनिकीकरणका कारण सम्पूर्ण वस्तुमा परनिर्भर बन्नु परेको बताउनुभएको हो ।
उहाँले किसानले सहज तरिकाले अझै मल पाउन नसक्नु दुःखद भएको बताउँदैं किसानलाई सहज रुपमा मल तथा बिउविजन उपलब्ध गराउने दायित्व सरकारको भएको बताउनुभयो ।
“असार १५ राष्ट्रिय धान दिवसको अवसरमा पनि किसानहरु मलको लागि चिन्तित बन्नु परेको छ । किसानलाई आवश्यक मलखाद उपलब्ध गराउने दायित्व सरकारको हो । त्यसैले सरकारले छिटो भन्दा छिटो मलको सहजरुपमा पाउने वातावरण बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले संसदमा सबै दलका नेताहरुले समस्या पोख्ने तर समाधानका उपायका बारेमा छलफल नै नहुने गरेको भन्दै गुनासो समेत राख्नुभयो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले शहरीकरण विकासले खेतीयोग्य जमिन मासिँदैं गएको बताउँदैं सरकारले कृषि उत्पादनको बजारीकरणका साथै उत्पादनको सही मूल्य पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले डोल क्षेत्र, हरियाली क्षेत्र घोषणा गरी घर निर्माण रोक्का राखेको स्थानका जग्गाधनीहरु स्वयम् जग्गा एकिकरण आयोजना सञ्चालन गरी घडेरी विकास गर्नुपर्ने माग गर्न थालेको बताउनुभयो । उहाँले किसानहरुलाई सहज ढंगले मल, विउविजन उपलब्ध गराउने तर्फ सोच्नुपर्ने बेला आएको बताउनुभयो ।
नेपाली कांग्रेसका नेता अष्ट कवेले सरकारले दिने अनुदान वास्तविक किसानले भन्दा जग्गा भाडामा लिएर खेती गर्ने व्यवसायिक किसानले पाउने गरेको बताउनुभयो । उहाँले हाइब्रिड विउबिजनले गर्दा स्थानीय जातको कृषि उत्पादन लोप हुँदैं गएको बताउनुभयो ।
नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति गणेशमान चक्रधरले किसानलाई समयमा मल बिउविजन उपलब्ध गराउने कार्यको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो ।


महेश श्रेष्ठले स्थानीय तहले भुमीलाई आवसिय र व्यवसायिकमा वर्गिकरण गर्ने तर किसानहरुका हकहितको कुरा गरेर दोहोरो भूमिका खेल्न नहुनेमा जोड दिनुभयो ।
नेपाल किसान महासंघ भक्तपुर जिल्ला अध्यक्ष ईन्द्रबहादुर प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल किसान महासंघका केन्द्रीय सदस्य रामगोपाल न्यौपाने, नेपाली कांग्रेसका विभिन्न तहमा रहेका पदाधिकारी, नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।