स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भक्तपुरमा ३ दिने मेला हुने

भक्तपुर, असार १२
भक्तपुरमा यही असार १५, १६ र १७ गते तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला हुने भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र घरेलु तथा साना उद्योग संघको संयोजनामा मेला आयोजना हुन लागेको हो ।
मेलामा भक्तपुरमा उत्पादित घरेलु तथा कृषि उत्पादन एवं नेवारी खानाका परिकारका स्टल हुनेछ । मेलामा ९५ भन्दा बढी स्टलहरू रहने सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नम्वर ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
“नगरपालिकाले विभिन्न स्वरोजगारका कार्यक्रम साथै सीपमूलक तालिम दिँदै आएको छ, नगरपालिकाको उपलब्धि साथै कृषि, पर्यटन तथा घरेलु उद्योगबाट उत्पादन भएका सामग्रीलाई बजारीकरणमा सहजताका लागि मेलाको आयोजना गरिएको हो,” उहाँले भन्नुभयो ।
नेपाली उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेम खर्बुजाले बताउनुभयो । “नेपाली उत्पादनको प्रयोग गरौँ स्थानीय उत्पादनलाई प्राथमिकता दिऊँ भन्ने उद्देश्यले मेला आयोजना गरिएको हो,” उहाँले भन्नुभयो । नेपालको कुल गार्हस्थ्य उत्पादनको ठुलो हिस्सा ओगटेको साना तथा घरेलु उद्योगका उत्पादनलाई नेपाली माझ चिनाउन मेला आयोजना गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
मेलामा घरेलु, कृषि, पर्यटन, हस्तकला, काष्ठकला, धातुकला, विद्युतीय सामग्रीहरू, सहकारी, बैङ्किङ, शिक्षा, नेवारी खानाहरु योमरी, चटामरी, समय बजी, बारा, च्याउको छ्वायला तथा च्याउका विभिन्न परिकारहरू समेटिने खर्बुजाले जानकारी दिनुभयो ।
भक्तपुर जिल्लाका स्थानीय उत्पादन विशेष गरी सूर्यविनायक नगरपालिकाका स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्नको लागि उक्त मेलाको आयोजना गरिएको भक्तपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष राम सुन्दर भेलेले जानकारी दिनुभयो । उहाँले भक्तपुरका घरेलु, रैथाने उत्पादनसँग पर्यटन जोड्न नसके पर्यटन उद्योग र घरेलु उद्योग दुवै धरासायी बन्न सक्ने खतरा रहेको बताउनुभयो ।
मेला सूर्यविनायक नगरपालिका वडा नम्वर ८ स्थित हरित कृषि थोक बजार आदर्श चोकमा हुने छ । मेलामा भक्तपुर साङ्गीतिक समाजले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गर्ने साङ्गीतिक समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी दिनुभयो ।