चाँगुनारायण नगरपालिकामा आगलागी सम्बन्धि जनचेतनामूलक कार्यक्रम

भक्तपुर, असार १३
घरायसी तथा अन्य विभिन्न कार्यमा प्रयोग भएका ग्यास चुहावट भई आगलागीका घटना बढ्न थालेपछि चाँगुनारायण नगरपालिकामा आगलागी सम्बन्धी जनचेतनामूलक प्रदर्शनी शुरु गरिएको छ । चाँगुनारायण नगरपालिकाले जुद्धवारुण यन्त्र कार्यालय भक्तपुरको समन्वय र सहकार्यमा सो प्रदर्शनी शुरु गरेको हो ।
प्रदर्शनीमा घरायसी प्रयोजन तथा अन्य विभिन्न कारणले गर्दा ग्याँस सिलिण्डरबाट हुने आगलागीबाट कसरी बच्ने र स्थानीय श्रोत साधनहरुको साथै अग्नि नियन्त्रक सामग्रीको प्रयोग गरी कसरी अग्नि नियन्त्रण गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीको शुभारम्भ गर्दै चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले समुदायमा आगलागी सम्बन्धि चेतनामूलक कार्यक्रम संचालनको लागि नगरको विपद् व्यवस्थापन योजना अन्तर्गत जनचेतनामूलक प्रदर्शनी आयोजना गरिएको बताउनुभयो ।
उहाँले विपद्को अवस्थामा समुदायका मानिसहरुनै प्रथम उद्धारकर्ता हुने भएकोले प्रत्येक समुदायमा प्रथम उद्धारकर्ता टोली तयार गर्ने चाँगुनारायण नगरपालिकाको नीति रहेको जानकारी गराउँदैं सोही अनुरुप विपद् जोखिम न्यूनीनकरण र व्यवस्थापनका कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गरिरहेको बताउनुभयो ।


जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरका अग्नी नियन्त्रक उमेश ढकालले ग्याँस सिलिण्डरको प्रयोग गर्दा हुन सक्ने आगलागी तथा पेट्रोलियम पदार्थबाट हुने आगलागीका सचेतनाका उपायहरु बताउनुका साथै आगलागी भएमा कसरी नियन्त्रणमा लिन सकिन्छ भनेर प्रदर्शन गरी देखाउनुभएको थियो । उहाँले ग्यास प्रयोग गर्दा सिलिण्डरको म्याद, ग्यास चुहिएको वा नचुहिएको आदी कुरा निरिक्षण गरेर मात्र प्रयोग गर्न कार्यक्रमका सहभागिहरुलाई सुझाउनुुभयो ।
जनचेतनामूलक कार्यक्रममा सहभागी चाँगुनारायण नगरपालिकाका नगर प्रहरी तथा कर्मचारीहरुले आगो निभाउने अभ्यास गरेका थिए ।
कार्यक्रमले आगलागीबाट हुने क्षती न्यूनीकरणका लागि सचेतना बृद्धि गर्नुका साथै घरायसी प्रयोजनमा प्रयोग भइरहेको ग्याँस चुहिएर हुन सक्ने आगलागीलाई नियन्त्रण गर्न सहयोग पु¥याएको नगरपालिकाका विपद् जोखिम न्यूनीकरण परामर्शदाता दिनेश थापाले बताउनुभयो ।