पालिभाषाकाे उत्थानका लागि ‘पालि जागरण संघ’ काे गठन

ललितपुर, असार १० गते ।

‘पालि जागरण संघ’ लाई एक समारोहका बीच हिजो बौद्धजन विहार, सुनागुथि, ललितपुरमा अनुमोदन गरीसकेपछि उक्त संघको गठन भएको छ । थेरवाद बुद्धिष्ट एकेडेमीका स्नातकोत्तर पहिलो समूहका विद्यार्थीहरुद्वारा उक्त विहारमा आयोजना गरिएको ‘आचार्यहरुको सम्मानसहित कृतज्ञता ज्ञापन र पालिभाषा उत्थानको लागि छलफल’ नामक कार्यक्रममा उपस्थितहरुका बीच छलफलपछि सो संघलाई अनुमोदन गरियोस भन्ने प्रस्ताव विद्यार्थी प्रतिनिधिका रुपमा डा. रीना तुलाधरले राख्नु भएपछि सर्वसम्मतले अनुमोदन गरिएको हो ।

छलफल कार्यक्रमको जानकारी दिनुहुँदै पालि अध्ययनका विद्यार्थी अ. कुसलञाणी गुरुमाले जसरी एउटा कोपिला भोलि फक्रिसकेपछि त्यसको सुन्दरता र सुगन्धले सबैको मन रमाउने आशा लिन सकिने जस्तै अहिले पालिमा स्नातकोत्तर गरेका विद्यार्थीहरुबाट पनि त्यस्तै आशा राख्न सकिने बताउनुभयो । साथै उहाँले पालिभाषा पुनर्जागरणका लागि केके कार्यहरु गर्न सकिन्छ भनेर सल्लाह सुझावका लागि आव्हान गर्नुभयो ।

सल्लाह दिने क्रममा अखिल नेपाल भिक्षु संघका महासचिव एवं बौद्धजन विहारका विहारप्रमुख भिक्षु धर्मगुप्त महास्थविरले पालि भाषाका पाठ्यपुस्तकहरु सजिलै उपलब्ध हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै अ.ने.भि.संघका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले अहिलेको नयाँ प्रविधि अन्तर्गत जूम मार्फत संलग्न भई तिपिटकको कुनै एक पुस्तकलाई आधार मानेर प्रत्येकले ५ मिनेट भएपनि पालि भाषा वाचन गरीरहेमा यसको निरन्तरता हुने सुझाव दिनुभयो ।

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रका धम्माचारिय अ. विमलञाणी गरुमाले हाल पालिभाषा परियत्ति जाँचमा मात्रै सिमित रहेको हुनाले त्यस्तो सिमित घेराभन्दा बाहिर निस्केर सजिलै, हतार नमानेर, आनन्दका साथ पढ्न सकिने वातावरण बनाउन सकेमा पालिभाषाका विज्ञहरु निस्कन सक्ने तर्फ औंल्याउनुभयो ।

त्रिचन्द्र कलेजका सह–प्राध्यापक मदन रत्न मानन्धरले पालिभाषाको व्यापकतामा पालिलाई शुद्धसँग लेख्ने र उच्चारण गर्नेले पनि प्रभावित पार्ने भएकोले यसको शुद्धतामा पनि जोड दिएर होस पुर्याउनुपर्ने बताउनुभयो ।

उक्त छलफल कार्यक्रममा पालि बौद्ध अध्ययनको स्नातकोत्तर तहका आचार्यहरु थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविर, लुम्बिनी विश्वविद्यालयका उप प्राध्यापक सिरि वजिर स्थविर, आनन्दकुटी विहारका आवासिय भिक्षु सरणंकर, अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रका ध्यान भावनाका कम्मठानाचार्य एवं धम्माचारिय अ. विमलञाणी, धम्माचारिय अ. मधुभाणिनी, डा. सुवर्ण लाल बज्राचार्य, थेरवाद बुद्धिष्ट एकेडेमीका प्राचार्य महेन्द्र रत्न शाक्य, उप–प्राध्यापक त्रिरत्न मानन्धरले पनि आ–आफ्ना सझावहरु दिनुभयो ।

यस कार्यक्रमलाई सुष्मा बज्राचार्यले सहजीकरण गर्नुभएको थियो ।