मध्यपुर थिमि नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित (पूर्ण पाठ सहित)

भक्तपुर, असार १०
मध्यपुर थिमि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । मध्यपुर थिमिको आइतवार शुरु भएको नगरसभाको ८ औं अधिवेशनमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल पछि सर्वसम्म्त पारित भएको हो ।
बैठकमा नगर प्रमुख श्रेष्ठले आर्थिक विकास, संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन, उद्योग, वित्त तथा सहकारी, भुमिसुधार, सामाजिक विकास, खेलकुद, स्वास्थ्य, खानेपानी तथा सरसफाई, सामाजिक सुरक्षा तथा गरीबी न्यूनिकरण, महिला विकास, बालबालिका, अपाङ्गता, दलित आदीवासी जनाजाती तथा अल्पसंख्यक, ज्येष्ठ नागरिक बुँदामा नीति प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी युवा रोजगारी, श्रम तथा रोजगार, गैर सरकारी संघ संस्था, पुर्वाधार विकास, सडक, शहरी विकास, भवन निर्माण, सिचाईं तथा उर्जा, सूचना तथा सञ्चार, वन तथा वातावरण, फोहोर मैला व्यवस्थापन, जलस्रोत तथा भू संरक्षण, विपद व्यवस्थापन, सुशासन र संस्थागत विकासतर्फ मानव संशाधन विकास, राजश्व परिचालन, वित्तिय जोखिम न्यूनिकरण, योजना अनुगमन तथा मूल्यांकन, सुशासन तथा सेवा प्रवाह, दररेट निर्धारण, सवारी नियमनका विषयमा नीति र कार्यनीति प्रस्तुत गर्नुभएको थियो ।


नीति तथा कार्यक्रममा नगरको संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनमा विशेष जोड दिएको छ । वडा नं. ४, ५ र ६ स्थित दुनेगः, विष्णुवीर, कयकुताँ, इन्द्रायणी, सिद्धिकाली सहितको क्षेत्रमा बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गमैत्री खुल्ला पार्क एवं सम्पदा मार्ग निर्माण गर्ने, स्थानीय भाषा, लिपि, परम्परा र संस्कृतिलाई संरक्षण गर्ने, वडा नं. ८ मा रहेको कुमारी मन्दिर परिसरलाई र वडा नं. ९ को निलबारही मन्दिर परिसरलाई इको पार्कको रुपमा विकास गर्ने नीति लिएको छ ।


नीजि तथा दातृ निकायको सहयोगमा मुख्य बस्तीमा होम स्टे सञ्चालन गर्ने, मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको मौलिक नाम अभिलेखिरकण एवं प्रतिष्ठापन सम्बन्धमा समितिको प्रतिवेदनलाई क्रमश कार्यान्वयन गर्ने नीति रहेको छ ।
वडा नं ७, ८ र ९ को मनोहरा क्षेत्रमा व्यवस्थित जग्गा एकिकरण आयोजना नगरपालिकाबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाईने, सामुदायिक विद्यालयका प्र.अ. को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट कार्यसम्पादन करारको आधारमा गर्ने व्यवस्था मिलाइने, नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको क्षमता विस्तारका लागि राष्ट्रिय, अन्तरराष्ट्रिय साझेदारसँगको सहकार्यमा विशिष्टीकृत स्वास्थ्य शिविर र कार्यक्रम सञ्चालन गरिने, नागरिकको कोख देखि शोक सम्मका अभिलेखका आधारमा सेवा प्रदायक स्वास्थ्य परामर्श लिन सकिने प्रणालीको विकास गरिने, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि यसै वर्ष फोहोरमैला अन्तिम विसर्जन स्थलको खोजी गरिने र के.यु.के.एल. सँगको सहकार्यमा खानेपानी वितरण प्रणालीको नक्शाङ्कन तथा विस्तार गरिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।


ज्येष्ठ नागरिकको अनुभव र सीपलाई सामाजिक तथा आर्थिक विकासको कार्यमा उपयोग गर्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइने, मध्यपुर उज्यालो अभियान अन्तर्गत नगर क्षेत्रका मुख्य सडकमा सडक वत्तीको व्यवस्था गरिने, नेपाल विद्युत प्राधिकरणको सहकार्यमा नगरपालिकाभित्र रहेका विद्युत लगायत अन्य प्रसारण÷ वितरण लाईनलाई भूमिगत विद्युतीकरणको कार्य द्रुत गतिमा अगाडी बढाई आगामी ४ वर्ष भित्र सम्पन्न गरिने, नगरपालिकाको सूचना तथा सञ्चार नीति बनाई यस क्षेत्रलाई व्यवस्थित तुल्याइने र अव्यवस्थित पार्किङलाई निषेध गर्दै नगरपालिकाभित्र रहेका सवारी पार्किङ्ग क्षेत्रलाई संघ तथा प्रदेश सरकारको सहकार्यमा व्यवस्थित गर्न पार्किङ स्थलहरूको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने नीति लिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नीति तथा कार्यक्रमको पूर्ण पाठ

आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम

          मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगरसभाका सदस्यहरूलाई यस नगरपालिकाको गरीमामय नगर सभामा स्वागत गर्दछु।

मध्यपुर थिमि नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम, यस गरीमामय नगरसभा समक्ष प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ।यस अवसरमा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्थानीय स्वशासनको लागि नेपाली जनताले गर्दै आएको ऐतिहासिक जनआन्दोलनहरूमा आफ्नो जीवन आहुति दिने शहिदहरू प्रति उच्च सम्मान व्यक्त गर्दछु।हामी निर्वाचित भई आएको दोस्रो वर्ष लाग्दा यस क्रममा नगरवासीले दिएको अगाध माया र सम्मानबाट गौरवान्वित भएका छौँ।

नीति तथा कार्यक्रमका आधारहरू

मध्यपुर थिमि नगरपालिकाको आगामी आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा गर्दा संघीय तथा बागमती प्रदेश सरकारले लिएको नीतिगत व्यवस्था, आर्थिक, सामाजिक र मानव विकासका दृष्‍टिले पछाडि परेका समुदायहरूलाई प्राथमिकतामा राख्दै नगरवासीको सर्वोपरी हितलाई केन्द्र भागमा राखी तयार पारिएको छ।

सुशासन लोकतन्त्रको आधारस्तम्भ भएकोले मध्यपुर थिमि नगरपालिकाका कार्यहरूमा पारदर्शिता, आर्थिक अनुशासन तथा सामाजिक न्याय र विधिको शासनलाई जोड दिइने छ।नगरका भौतिक तथा सामाजिक उत्थानका योजनाहरू बनाउँदा वातावरणीय पक्षलाई विशेष ध्यान दिइनेछ।नगर निर्माणको कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र, प्रदेश तथा संघीय सरकार लगायत साझेदार संघसंस्थाहरूको सहकार्य आवश्यक हुने हुनाले सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कार्यहरूलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम तय गरिएको छ।

अघिल्लो वर्ष पारित गरिएको नीति तथा कार्यक्रमलाई मूर्त रुप दिनको लागि नगरपालिकाले केही ऐन, कार्यविधि निर्माण गर्नुका साथै दीर्घकालीन महत्वका कार्यहरूको सुरुवात भएको जानकारी गराउँन चाहन्छु।यस नगरपालिकाको नीति, योजना तथा कार्यक्रमहरू पहिचान गर्ने, नीतिगत निर्णय गर्ने, कानूनी प्रबन्ध गर्ने तथा कार्यान्वयनलाई प्रभावकारी रुपमा कार्यसम्पादन गर्न नगरसभा, नगरकार्यपालिका, प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विषयगत समितिहरू, वडा अध्यक्ष, नगरकार्यपालिकाका सदस्य तथा वडा सदस्य, विज्ञ सल्लाहकारहरू एवं कर्मचारी संयन्त्रबाट कार्य भई आएको व्यहोरा अवगत नै छ।नगरपालिकाद्वारा सम्पादित कार्यहरूमा आवश्यक सहयोग पुर्याउने स्थानीय राजनीतिक दल, बुद्धिजीवि, स्वयंसेवी, नागरिक समाज र आम संचारको भूमिका अझ महत्वपूर्ण रहेको छ।

यी सबै पक्षलाई ध्यान दिई नेपालको संविधान, स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४, विभिन्न विषयगत कानूनहरू, मध्यपुर थिमि नगरपालिकाको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम, नेपाल सरकारको नीति तथा कार्यक्रम, प्रदेश सरकारवाट प्राप्त सुझाव तथा मार्गदर्शन, चालु आवधिक योजना, दिगो विकास लक्ष्य र विभिन्न व्यक्तित्वहरूबाट प्राप्त सुझावहरू समेतलाई आत्मसात गरी आ.व. २०८०/८१ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ।नगरपालिकाका आवश्यकता तथा नगरवासीको चाहनालाई आत्मसात गर्दै विकासका क्षेत्रमा केही नयाँ अवधारणा तयार गरि असल अभ्यासहरूलाई निरन्तरता दिई योजना तथा कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।‘’समुन्नत नगर, सबल स्थानीय सरकार”को मुल नारालाई आत्मसात गर्दै  आर्थिक वर्ष २०८०/८१ लाई सामाजिक क्षेत्र तथा पूर्वाधारयुक्त व्यवस्थित नगरको परिकल्पनामा आधारित योजना तथा कार्यक्रमहरू सञ्चालन वर्षको रुपमा परिलक्षित गरिएको छ।

 

.. २०८०/८१ मा नगरपालिकाले अवलम्बन गर्ने नीतिहरू

आर्थिक विकास

कृषि तथा पशुपालन

  1. नगरपालिकाको मुख्य बजार क्षेत्रमा एक सुविधा सम्पन्न कृषि तथा फलफुल बजारको सम्भाव्यता अध्ययन गरिनेछ।
  2. स्वच्छ मासु, स्वस्थ जीवन” भन्ने नारा सहित पशु वधशालालाई वैज्ञानिक र व्यवस्थित ढङ्गबाट सञ्‍चालनमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
  3. नगरपालिका क्षेत्रभित्रका छाडा चौपाया छोड्ने कार्यलाई नियमन गर्दै सामुदायिक कुकुरलाई व्यवस्थित गर्न रेविज भ्याक्सिन र बन्ध्याकरण कार्यलाई निरन्तरता दिइनेछ।
  4. पशुपालन क्षेत्रको विकासमा कृषक समूह/समिति/सहकारी/गैह्र सरकारी संघ/संस्थासँग साझेदारी गरिने छ।
  5. पशुधनको क्षती न्यूनीकरणको लागि रोग नियन्त्रण खोप कार्यक्रम सञ्‍चालनमा जोड दिइने छ।
  6. वर्ड फ्लु लगायतका पशुजन्य महामारी नियन्त्रण गर्न जनचेतना मूलक कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।

संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन

  • संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा एकीकृत पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सप्‍ताहन्त सांस्कृतिक तथा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्दै अगाडि बढने नीति लिइनेछ।
  • नगरपालिका क्षेत्रभित्र रहेका उद्यान (पार्क) साझेदारीको अवधारणा अनुसार व्यवस्थापन गरिनेछ।
  • निलबाराही क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक धरोहरको रुपमा विकासका लागि गुरुयोजनाको आधारमा निर्माण कार्य अगाडि बढाइनेछ।
  • नगरपालिका एवंम सरकारी‚ निजी तथा दातृ निकायहरूसँगको सहयोग र सहकार्यमा मुख्य बस्तीहरूमा होम-स्टे सञ्‍चालन गर्ने प्रकृया अगाडि बढाइनेछ।
  • वडा नं. ८ मा रहेको कुमारी मन्दिर परिसरलाई र वडा नं. ९ को निलबारही मन्दिर परिसरलाई ECO Park को रुपमा विकास गरिनेछ।
  • नगर क्षेत्रको पर्यटन प्रवर्द्धन, नयाँ पर्यटकीय सम्पदाको चिनारी र सम्भावनाको उजागर गर्ने उद्देश्यले डकुमेन्ट्री निर्माण, पर्यटन मेला र प्रचारप्रसार लगायतका कार्यहरूलाई अगाडि बढाइनेछ।
  • ऐतिहासिक, पुरातात्विक तथा धार्मिक सम्पदाहरूको संरक्षण एवं मर्मत संभारको कामलाई निरन्तरता दिइनेछ।
  • उद्योग वाणिज्य संघ, होटल एसोसिएसन लगायत अन्य संघ/संस्था, नागरिक समाज, विशेषज्ञसँगको सहकार्यमा नगर पर्यटन व्यवस्थापन सम्बन्धी गुरुयोजना निर्माण गरी प्राथमिकीकरणका आधारमा पर्यटकीय पूर्वाधारमा लगानी गर्ने नीति लिइनेछ।
  • वडा नं. ४, ५ र ६ स्थित दुनेग:, विष्णुवीर, कयकुताँ, इन्द्रायणी, सिद्धिकाली सहितको क्षेत्रमा बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गमैत्री खुल्ला पार्क एवं सम्पदा मार्ग निर्माण गरिनेछ।
  • मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको मौलिक नाम अभिलेखिरकण एवं प्रतिष्ठापन सम्बन्धमा समितिको प्रतिवेदनलाई क्रमश कार्यान्वयन गरिनेछ।
  • मध्यपुर थिमि क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक तथा पौराणिक जात्रा, चाडपर्व, नाच र रितिरिवाजहरुको वडा स्तरमै लगत संकलन गरी आवश्यकताको आधारमा सांस्कृतिक जात्रा, चाडपर्व र नाच संरक्षणका लागि योजना तथा कार्यक्रममा बजेट विनियोजन गरिनेछ।
  • स्थानीय भाषा, लिपि, परम्परा र संस्कृतिलाई संरक्षण गरिनेछ।
  • पर्यटन सूचना केन्द्र र पर्यटकीय शौचालयको व्यवस्था गरिनेछ।
  • स्थानीय उत्पादनलाई बढावा दिन व्यवसायिक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ।
  • सांस्कृतिक तथा पर्यटकिय क्षेत्रहरुको विकासका लागि क्षेत्र विकास समिति गठन गरी कार्य अगाडी बढाइनेछ।
  • नगरका परम्परागत क्षेत्र र मुख्य मुख्य सम्पदा क्षेत्रको Local Area Plan तयार गरी कार्यान्वयन गरिनेछ।
  • मध्यपुर महोत्सव कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • परम्परागत माटोको भाडाँ संरक्षण र प्रवर्द्धन गर्न जिवन्त संग्रहालय स्थापना गरिनेछ।
  • परम्परागत दाह संस्कार स्थललाई आधुनिकीकरण गरिनेछ।
  • जन्म देखि मृत्युपर्यन्त सम्पन्न गरिने विभिन्न संस्कारहरु एवं सांस्कृतिक जात्रा चाडपर्वहरुमा आवश्यक वनस्पति जन्य वस्तुहरुका लागि वडा नं ४ स्थित दुनेगः, कुतुङ्ग डाडाँमा संस्कृति सम्वद्ध वनस्पति बगैँचा निर्माण गरिनेछ।

उद्योग

  • लघु उद्यम तथा स-साना घरेलु उद्योगहरूको स्थापनामा समुदाय एवं निजी क्षेत्रलाई प्रोत्साहित गर्ने र त्यस्ता उद्योगलाई वातावरण अनुकूल बनाउन जोड दिइनेछ।
  • बजार मागमा आधारित स्वरोजगार सृजना हुने उद्यम सञ्‍चालनलाई प्रोत्साहन गर्न बजार केन्द्रहरूमा लघु उद्यम कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।
  • परम्परागत क्षेत्रमा सञ्चालनमा रहेका पुराना पेशाहरुको संरक्षणको लागि पर्यटकिय सांस्कृतिक उद्योगग्रामको रुपमा विकास गरिनेछ।

वित्त तथा सहकारी

  • नगरक्षेत्रमा नयाँ खुल्ने सहकारी संस्थाको ईजाजत जारी र नवीकरण तथा सहकारी संस्थाबाट हुने वित्तीय जोखिमको न्यूनीकरणका लागि नियमित अनुगमन र सुपरिवेक्षण गरिनेछ।
  • सहकारीको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्‍चालन गरी कम्तिमा “एक वडा एक विषयगत सहकारीको अभियान” प्रवर्द्धन गरिनेछ।
  • नगरभित्र विभिन्न टोल, बस्तीमा कृषक समूह, महिला समूहहरूले समूह निर्माण गरी दैनिक तथा मासिक बचत गर्दै आएको समूहको आम्दानी, खर्च र लगानीलाई संस्थागत गर्न सहकारी दर्ता गरी सञ्‍चालन गर्न प्रोत्साहन गरिनेछ।
  • सहकारी संस्थासँगको सहकार्यमा स्थिरिकरण कोष सञ्चालनमा ल्याइनेछ।
  • सहकारी संस्थाको सुरक्षाको लागि कर्जा सूचना केन्द्र सञ्चालनमा ल्याइनेछ।

भूमिसुधार नीति

  • नगरपालिका क्षेत्रभित्रका सार्वजनिक पर्ति जग्गा‚ राजकुलो‚ पाटीपौवा‚ धाराकुवा‚ सडक‚ मन्दिर‚ सामुदायिक भवन‚ सामुदायिक विद्यालय‚ क्याम्पस लगायतका सार्वजनिक सम्पतिको लगत राख्‍ने र नक्साङ्कन गर्ने तथा तिनीहरूको संरक्षणका लागि नगरस्तरीय समिति गठन गरी त्यस्ता स्थानहरूको संरक्षण गरिनेछ।
  • नगरक्षेत्रमा सरकारी स्वामित्वमा रहेका जग्गा सिमांकन र जमीनमा भएको अतिक्रमण बन्द गर्ने तथा अनधिकृत रुपमा निर्माण गरिएका भौतिक संरचना हटाइनेछ।
  • स्ववासी जग्गाको पुर्जा वितरण कार्यलाई थप प्रभावकारी बनाइनेछ।
  • वडा नं ७, ८ र ९ को मनोहरा क्षेत्रमा व्यवस्थित जग्गा एकिकरण आयोजना नगरपालिकाबाट सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ।
  • नगर क्षेत्र भित्र रहेका निजी जग्गा बाँझो नराख्ने नीति अनुरुप सो जग्गा नगरपालिकाको संरक्षणमा १ वर्ष भन्दा बढी उपलब्ध गराउन चाहने जग्गा धनीलाई आर्थिक प्रोत्साहन तथा सो जग्गामा लाग्ने सम्पूर्ण कर संरक्षण अवधि भर छुट दिइनेछ।यस्तो जग्गामा नगरपालिकाले कृषि कार्य गर्न चाहने व्यक्तिलाई उपलब्ध गराउने मापदण्ड बनाई लागू गरिनेछ।

सामाजिक विकास

शिक्षा क्षेत्र:

  • शैक्षिक बेरोजगार घटाउन, उद्यमशीलताको विकास गर्न र रोजगारीको सिर्जना गर्न विद्यालयमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्ने नीति लिइनेछ।
  • नगरक्षेत्रभित्र शैक्षिक संस्था सञ्चालनको अनुमति दिने प्रक्रियालाई व्यवस्थित र वैज्ञानिक बनाइनेछ।
  • नगरपालिका क्षेत्रमा रहेका सबै सामुदायिक विद्यालहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिने व्यवस्था मिलाइनेछ।
  • सामुदायिक विद्यालयका प्र.अ. को नियुक्ति खुल्ला प्रतिस्पर्धाबाट कार्यसम्पादन करारको आधारमा गर्ने व्यवस्था मिलाइनेछ।
  • नगर क्षेत्र भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबाट एस.इ.ई. परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने १/१ मा.वि.लाई प्रोत्साहन स्वरुप प्रथम हुनेलाई रु.१ लाख र नगर क्षेत्र भित्रबाट उत्कृष्ट हुने सामुदायिक विद्यालयका १/१ जना विद्यार्थी र विषयगत शिक्षकलाई सो विषयमा प्राप्त उपलब्धिका आधारमा जनही रु २५ हजारका दरले प्रोत्साहन पुरस्कार उपलब्ध गराइनेछ।विद्यालयले प्राप्त गर्ने रकम विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था मिलाइनेछ।
  • शिक्षाको गुणस्तर विकासलाई मध्यनजर गरी सामुदायिक विद्यालयमा पुर्व प्राथमिक (ECD) शिक्षालाई दुई वर्षको बनाई थप एक सहयोगी शिक्षक उपलब्ध गराउने नीति अवलम्वन गरिनेछ।
  • शिक्षकलाई शिक्षण सिकाईमा सहयोग गर्न विद्यालय निरिक्षक/विज्ञ समुह मार्फत नियमित अनुगमनको व्यवस्था गरी शिक्षण सहयोग कार्यलाई निरन्तर र व्यवस्थित बनाइनेछ।
  • विद्यार्थीको प्रतिभा पहिचान गर्न तथा अतिरिक्त कृयाकलाप सञ्चालन गर्नका लागि नगरपालिका स्तरमा विधागत जनशक्ति व्यवस्था गरिनेछ।
  • नगर शिक्षा अनुगमन समितिलाई शैक्षिक गुणस्तर विकास गर्ने प्रयोजनका लागि प्रेरित गरिनेछ।विद्यालयहरूको निरन्तर अनुगमन तथा नियमन कार्यलाई व्यवस्थित गरिनेछ।
  • स्थानीय पाठ्यक्रम निर्माण कार्य सम्पन्न गरी कक्षा ८ सम्म कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।
  • नेपाल भाषामा पाठ्यपुस्तक तयार गरी अध्ययन अध्यापनको व्यवस्था मिलाइनेछ।
  • प्राविधिक विद्यालय, नर्सिङ कलेज, पारामेडिक्स कलेज खोल्ने कार्यलाई अगाडि बढाइनेछ।
  • नगर क्षेत्र भित्र विभिन्न विधाका विषयहरुमा शिक्षण केन्द्र सञ्चालन गर्न विश्व विद्यालयहरुसँग समन्वय र सहकार्य गरिनेछ।
  • नगर क्षेत्रभित्र रहेका शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने संघ/संस्था एवं निकायहरुको अनुगमन तथा नियमन गरी कानूनी दायरामा ल्याइनेछ।
  • शिक्षा क्षेत्रमा लामो समय देखि अध्यापन गराउने शिक्षक शिक्षिकाहरुले सेवाबाट अवकाश लिन चाहेमा प्रोत्साहन वापत स्वर्णिम अवकाश (Golden Handshake) योजना लागू गरिनेछ।
  • ई-लाइबेरी सहितको पुस्तकालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिनेछ।
  • दिवा खाजा व्यवस्थापनमा परोपकारी संघ/संस्था एवं निजी क्षेत्रसँगको सहकार्य अगाडि बढाइनेछ।
  • शैक्षिक नीति र शिक्षाको रणनीतिक योजना तर्जुमा गरिनेछ।
  • सामुदायिक विद्यालयहरुमा अवस्थित शौचालय सरसफाई कार्यक्रम सञ्चालन गरिनेछ।

खेलकुद

  • प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा वडा नं. २ मा रहेको मध्यपुर खेलकुद मैदानको पूर्वाधार विकास गरिनेछ।
  • सार्वजनिक स्थानमा खुल्ला व्यायामशाला सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  • खेलकुद युक्त पूर्वाधार, स्वस्थ जीवनको आधार” भन्ने मूल नाराका साथ समग्र खेलकुद क्षेत्रको विकासका लागि वडा तथा नगर खेलकुद विकास समिति गठन गरिनेछ।
  • युवा तथा खेलकुदका कार्यक्रममा क्लब र सामुदायिक संघ-संस्थालाई सक्रिय र जिम्मेवार बनाइनेछ।
  • यस नगरपालिका अन्तर्गतमा रहेको प्रस्तावित खेलकुद मैदानमा पूर्वाधार निर्माणको कार्य शुरु गरिनेछ।
  • खेलकुदको प्रवर्द्धनका लागि खेलक्षेत्रसँग सम्बन्धित विभिन्न निकायसँगको समन्वय तथा साझेदारीमा खेलकुद प्रतियोगिताहरु सञ्चालन तथा सहभागिता जनाइनेछ।

स्वास्थ्य

  • मेरो स्वास्थ्य, मेरो सम्पत्ति” भन्ने अभियानको सुरुवात गरी महिनामा एक पटक स्वास्थ्य जाँच गर्न हरेक नागरिकलाई अभिप्रेरित गर्ने, सन्तुलित र पोषणयुक्त खानपानका लागि जनचेतना फैलाउने र स्वास्थ्य जाँच गर्ने बानीको विकास गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको गुणस्तरीय सेवा विस्तार गर्न मौजुदा अस्पतालको पुनः ढाँचा (Redesign) गरिनेछ।
  • ६० वर्ष उमेर नाघेका नगरवासीको स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।साथै एकल महिला, अपाङ्‍गता भएका परिवार र दलित परिवार लक्षित स्वास्थ्य बीमा कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • रक्तदान प्रवर्द्धन कार्यक्रम र नगरवासीलाई नि:शुल्क रगतको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
  • नगरपालिकाभित्रका सबै शहरी स्वास्थ्य केन्द्र र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको सहकार्यको ढाँचा तयार गरिनेछ।
  • नेपाल कोरियामैत्री नगरपालिका अस्पतालको क्षमता विस्तारका लागि राष्‍ट्रिय, अन्तरराष्‍ट्रिय साझेदारसँगको सहकार्यमा विशिष्‍टीकृत स्वास्थ्य शिविर र कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • आपतकालीन अवस्थाका विरामी तथा गम्भीर रोग लागेका विरामीहरूको उपचार सहयोगार्थ नगरपालिकामा छुट्टै आपतकालीन स्वास्थ्य उपचार कोषको स्थापना गरिनेछ।
  • नगरक्षेत्रभित्र सञ्चालित अस्पताल, क्लिनिक तथा औषधी पसल लगायत स्वास्थ्य संस्थाहरुको नियमित अनुगमन तथा नियमन गरिनेछ।
  • बाल तथा मातृ मृत्यु दर घटाउन स्वास्थ्य तथा पोषण शिक्षा, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व,आमा सुरक्षा कार्यक्रम, सुरक्षित गर्भपतन, बाल तथा शिशु स्वास्थ्य सेवाका कार्यक्रमहरू नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा पनि सञ्चालन गरिनेछ।
  • स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अध्ययन प्रतिवेदनको आधारमा अस्पताल प्रमुख तथा स्वास्थ्य चौकी प्रमुखहरूसँग कार्य सम्पादन करार गरी लागू गरिनेछ।
  • नागरिकको कोख देखि शोक सम्मका अभिलेखका आधारमा सेवा प्रदायक स्वास्थ्य परामर्श लिन सकिने प्रणालीको विकास गरिनेछ।
  • नेपाल कोरियामैत्री नगरपालिका अस्पताल र नगरपालिकाको सहकार्यमा स्वास्थ्य विमा मार्फत विशेषज्ञ स्वास्थ्य सेवाको दायरा बढाइनेछ।
  • नसर्ने रोगहरुको वढ्दो चापलाई न्यून गर्न ४० वर्ष माथिका नागरिकको स्क्रिनिङ लगायतका नियमित चेक जाँच वर्षमा एक पटक नेपाल कोरियामैत्री नगरपालिका अस्पताल मार्फत गरिनेछ।
  • आयुर्वेद र परम्परागत पद्धतिबाट उपचार गर्न वडा नं १ मा रहेको आयुर्वेद चिकित्सलायको क्षमता बढाइनेछ।
  • एम्बुलेन्स सेवालाई एकिकृत सुलभ र सहज रुपमा सञ्चालन गर्न एम्बुलेन्स सञ्जालको व्यवस्था गरिनेछ।
  • नगरपालिकाको स्वास्थ्य प्रणालीको लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरिनेछ।
  • नगरपालिकाभित्र स्थायी ठेगाना भई बसोबास गर्ने मानसिक रोगीको स्वास्थ्य बीमा नगरपालिकाबाट हुने व्यवस्था मिलाई निजहरूलाई आवश्यक पर्ने औषधी निःशुल्क उपलब्ध गराइने व्यवस्था मिलाइनेछ।
  • मानसिक स्वास्थ्य सेवाको रोकथामको लागि नेपाल कोरियामैत्री नगरपालिका अस्पतालबाट मनोपरामर्श सेवा प्रदान गरिनेछ।
  • होमियोपेथी मेडिसिन सेवा सञ्चालन गरिनेछ।
  • नेपाल रेडक्रस सोसाइटी तथा अन्य निकायसँगको सहकार्यमा नेपाल कोरियमैत्री नगरपालिका अस्तपतालमा ब्लड बैंक स्थापना गरिनेछ।
  • सरकारी, गैरसरकारी, निजी तथा अन्य निकायसँगको सहकार्यमा गुणस्तरीय ल्याब परिक्षण सेवा शुरु गरिनेछ।
  • नेपाल कोरियमैत्री नगरपालिका अस्पतालमा विहान ८ बजे देखि साँझ ६ बजे सम्म वहिरंग तथा विषेशज्ञ सेवा सञ्चालनमा ल्याइनेछ।

खानेपानी तथा सरसफाई

  • खानेपानी मुहान संरक्षण गर्न र स्वच्छ राख्‍न स्थानीय समुदायलाई प्रोत्साहित गरिनेछ।
  • स्वच्छ र शुद्ध खानेपानीको सहज आपुर्ति व्यवस्थाका लागि सरकारी तथा गैह्रसरकारी एवं निजी क्षेत्रसँगको सहकार्यमा खोनपानी योजना सञ्चालन गरिनेछ।
  • स्वच्छ, सफा, हराभरा नगरपालिका निर्माण अभियानलाई निरन्तरता दिइनेछ।टोलसुधार समिति/टोल विकास संस्था, निजी क्षेत्र र गैह्रसरकारी क्षेत्रसँगको सहकार्य र सहभागितामा फोहोरमैला व्यवस्थापन गर्ने नीति लिइने छ।
  • नगरक्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि यसै वर्ष फोहोरमैला अन्तिम विसर्जन स्थलको खोजी गरिनेछ।
  • के.यु.के.एल. सँगको सहकार्यमा खानेपानी वितरण प्रणालीको नक्शाङ्कन तथा विस्तार गरिनेछ।
  • संघ तथा प्रदेश सरकार र स्थानीय उपभोक्ताको सहकार्यमा नगरक्षेत्रभित्रका बस्तीमा क्रमिक रुपमा ढल निकासको कार्यलाई सञ्‍चालनमा ल्याउन जोड दिइनेछ।

सामाजिक सुरक्षा तथा गरीबी न्यूनीकरण

  • सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गरि रहेका लाभग्राहीहरु मध्ये पुर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु र बैंक सम्म जान नसक्ने जेष्ठ नागरिक लगायतका अन्य लाभग्राहीहरुलाई बैंक र सम्बन्धित वडाका पदाधिकारीहरुको रोहबरमा घरदैलोमा भत्ता वितरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ।
  • अति विपन्न दलित समुदायको स्वास्थ्य विमा प्रिमियम नगरपालिकाले व्यहोर्ने व्यवस्था गरिनेछ।
  • न्यून आय भएका दलित समुदायका विद्यार्थीहरुलाई छात्रवृतिको व्यवस्था मिलाइनेछ।
  • विभिन्न सरकारी तथा गैह्रसरकारी निकायबाट सञ्चालित गरिबी निवारण सम्बन्धी कार्यक्रमहरूको समन्वय गर्दै अनुगमन र नियमनको कार्यलाई प्रभावकारी बनाइनेछ।

महिला विकास

  • लैङ्गिक समविकासको अवधारणालाई जोड दिँदै नगरक्षेत्रभित्रका संघ, संस्था, सहकारी, विद्यालयमा गठन गरिने समितिमा ३३ प्रतिशत महिला सहभागिता रहने नीतिलाई अनिवार्य गरिनेछ।
  • महिला विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • विपन्न तथा पिछडिएका वर्गका महिलाहरूलाई लक्षित गरी सशक्तीकरण कार्यक्रमहरू सञ्‍चालन गरिनेछ।
  • महिला विरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण तथा विभेद र बहिष्‍करण विरुद्ध शून्य सहनशीलताको नीति अवलम्वन गरी तिनको रोकथाम तथा नियन्त्रणको पहल गरिनेछ।
  • एकल महिलाहरूलाई स्वावलम्वी र सम्मानयुक्त बन्ने वातावरण सिर्जना गर्न आय आर्जन, सीप विकास र क्षमता विकासका कार्यक्रम सञ्‍चालन गरिनेछ।

बालबालिका

  • बाल अधिकार सम्वद्ध विषयमा बालबालिका लक्षित विभिन्न शैक्षिक संघ-संस्था‚ सामुदायिक संघ-संस्था तथा गैर सरकारी संघ-संस्थासँगको सहकार्य र समन्वयमा विविध कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • बाल श्रम मुक्त नगरपालिका” भन्ने नाराका साथ उद्योगी, व्यापारी एवं व्यवसायीहरूको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ।
  • नगरक्षेत्रका सार्वजनिक जग्गामा सार्वजनिक निजी साझेदारी अन्तर्गत बाल बगैँचा र बाल उद्यानहरूको निर्माण गरिनेछ।
  • प्रत्येक वडामा कम्तीमा एउटा र नगरपालिका स्तरमा नगर बालसंजाल गठन गरी बालबालिकामा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउनुका साथै बालमैत्री नगरको रुपमा विकसित गराउने लक्ष्य राखिनेछ।
  • बाल उद्दार कोषको व्यवस्थापन गरिनेछ।

 अपाङ्गता सम्बन्धी

  • नगरक्षेत्रभित्रका अपाङ्‍गता भएका ब्यक्तिहरूको लगत संकलन, अपेक्षा पहिचानका लागि सूचना तथा तथ्याङ्क संकलन गरी उनीहरूको क्षमता अभिवृद्धि गर्न आय आर्जन, सीप विकास तथा व्यावसायिकरणमा जोड दिइनेछ।
  • नगरक्षेत्रभित्र निर्माण गर्ने सरकारी, गैह्र सरकारी निकाय तथा संघ संस्थाका पूर्वाधारहरु अपाङ्गमैत्री बनाउन पहल गरिनेछ।
  • क, ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यकता बमोजिमको सहायक सामाग्री वितरण गरिनेछ।

दलित, आदिवासी जनजाति तथा अल्पसंख्यक

  • जनजातिहरूको भाषा, लिपि र संस्कृतिको जगेर्ना गर्दै आदिवासी जनजातिको हकहित संरक्षण र प्रवर्द्धनमा जोड दिइनेछ।
  • नगरपालिकाभित्र हुने विभिन्न अवसरहरूमा समावेशी आरक्षणलाई आत्मसात गर्ने नीति लिइनेछ।
  • नगरक्षेत्रभित्र रहेका अल्पसंख्यक समुदायको पहिचान गरी तिनको मूल प्रवाहीकरणका लागि आवश्यक कार्यक्रम सञ्‍चालन गरिनेछ।

ज्येष्ठ नागरिक

  • ज्येष्ठ नागरिकको अनुभव र सीपलाई सामाजिक तथा आर्थिक विकासको कार्यमा उपयोग गर्न जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा ल्याइनेछ।
  • समाजमा विशिष्ठ योगदान पुर्‍याउने जेष्ठ नागरिकहरूलाई सम्मान गर्ने परिपाटीलाई निरन्तरता दिइनेछ।

युवा रोजगारी

  • नगरक्षेत्रका युवालाई रोजगार बनाउन फाइबर मेटल, स्टोन तथा उड कार्भिङ, प्लम्विङ, वाईरिङ जस्ता सीपमूलक तालिम दिई दक्ष, उद्यमशील र आत्मनिर्भर बनाउन जोड दिइनेछ।
  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रम मार्फत युवा लक्षित रोजगारी कार्यक्रम सञ्‍चालन गरिनेछ।
  • सीप विकास तालिम प्राप्त गरि सामुहिक रुपमा व्यवसाय थालनी गर्ने समुहहरुलाई व्यावसायिकरणमा जोड दिइनेछ।

श्रम तथा रोजगार

  • नगरक्षेत्रभित्र सञ्चालनमा रहेका पेशा तथा व्यवसायमा संलग्न कामदारको करार र सेवा सुविधा निर्धारणको लागि कडाईका साथ अनुगमन तथा नियमन गरिनेछ।
  • निकृष्ट प्रकृतिका बालश्रमको अन्त्य गर्नका लागि जनचेतनामूलक कार्यक्रम संचालन गरिनेछ साथै बालश्रम अन्त्यका लागि कडाईका साथ अनुगमन तथा नियमन गरिनेछ।
  • नगरपालिका भित्र असंगठित अवस्थामा रहेका श्रमिकहरुको लगत तयार गरिनेछ।
  • नगरपालिकामा श्रम डेक्स सञ्चालनमा ल्याइनेछ।

गैर सरकारी संघ संस्था

  • नगरपालिकाभित्र कार्यक्षेत्र बनाएर काम गर्ने राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैह्रसरकारी संस्थाहरूलाई नगरपालिकाको छाता भित्र एकीकृत गरी कार्य गरिनेछ।
  • नगरपालिकाको नीति तथा कार्यक्रमसँग मेल नखाने, कार्यक्रम सञ्चालनको पूर्व स्विकृति नलिएका तथा नगरपालिकासँग समन्वय नगरी कार्यक्रम सञ्चालन गर्ने गैससलाई नगरक्षेत्रमा काम गर्न पूर्ण रुपमा रोक लगाइने छ।
  • नगरपालिकालाई कार्यक्षेत्र बनाएका सबै गैससको तथ्यांक अद्यावधिक गरी दर्ता, नवीकरण एवं सिफारिसका लागि मापदण्ड बनाई कार्यान्वयन गरिनेछ।

पूर्वाधार विकास

भवन निर्माण

  • संघ तथा प्रदेश सरकारको सहकार्यमा नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य अगाडि बढाइनेछ।
  • नगरपालिका तथा अन्तर्गतका वडा कार्यालयहरू मध्ये आफ्नै भवन नभएका कार्यालयहरूको भवन निर्माण कार्य प्राथमिकतामा राखिनेछ।साथै जीर्ण अवस्थामा रहेका विद्यालय लगायतका अन्य भवनहरूको मर्मत कार्य गरिनेछ।
  • नयाँ वडा कार्यालयहरू निर्माण गर्दा बहुउपयोगी भवन निर्माणमा जोड दिइनेछ।
  • पुरातात्विक सम्पदा, विद्यालय, सडक लगायतका पूर्वाधार निर्माण गर्नु पूर्व तत् तत् संरचनाको सिमांकन तथा डिपिआर अनिवार्य तयार गरिनेछ।

सडक

  • काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले उपत्यकाभित्र तय गरेको सडक‚ दुई वा दुई भन्दा बढी वडालाई जोड्ने सडक तथा यस नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियममा तोकिएको मापदण्ड अनुसार सडकहरूको सिमांकन गरी निर्माण कार्य गरिनेछ।
  • मुख्य सडक र सहायक सडक छेउमा निर्माण भएका घर कम्पाउण्डको पानी सोझै सडकमा छोड्ने कार्यलाई निरुसात्हित गरी त्यस्ता कार्यलाई कानूनी दायरामा ल्याइनेछ।
  • बाटो कालोपत्रे गर्न‚ ढलान गर्न र ब्लक छाप्न साथै ढल निकासको लागि ५०-५० प्रतिशत लागत सहभागिताको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।साथै ८०-२० प्रतिशत जनसहभागितामा आधारित कार्यक्रममा निरन्तरता दिइनेछ।
  • विग्रेका भत्केका पूर्वाधार तत्काल निर्माण गर्न द्रुत कार्य सहयोगी टोली परिचालन गरिनेछ।

शहरी विकास

  • नगरस्तरीय योजना छनोट गर्दा दीर्घकालीन रुपमा प्रभाव पार्ने योजनाहरूलाई छनोट गरी कार्यान्वयन गर्ने नीति लिइनेछ।
  • नगरपालिकाबाट व्यवस्थित जग्गा एकिकरण आयोजना सञ्‍चालन गर्न तोकिएका क्षेत्रहरूको डिपिआर तयार गरी क्रमशः कार्यान्वयन गरिनेछ।
  • नगरपालिकाबाट तयार गरिएको वस्ती विकास तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०५७ (संशोधन सहित) लाई समसामयिक सुधार गरिनेछ।
  • आवासीय र अस्थायी टहरा निर्माण स्वीकृत नगरी गरिने निर्माण कार्यलाई बन्देज गरिनेछ।साथै व्यवसायिक भवनको वर्गीकरण सम्बन्धी कार्यविधि निर्माण गरिनेछ।
  • नगरपालिकाभित्र व्यवस्थित जग्गा तथा वस्ती विकास गर्न आवश्यक पर्ने नियमावली र कार्यविधि तयार गरिनेछ।
  • नगरक्षेत्र भित्र मेट्रिक प्रणाली अनुसार घर नम्बरिङ‚ वस्ती तथा सडकको नामाकरण लगायतका कार्यको सुरुवात गरी आगामी २ वर्ष भित्र सम्पन्‍न गरिनेछ।
  • नगरपालिकाको भौतिक पूर्वाधार सम्बन्धी प्रोफाइल तयार गरिनेछ।
  • ५० लाख भन्दा बढी लागत हुने कार्यक्रम (ढल, पार्क, भवन आदि) हरुको डिपिआर निर्माण गरिनेछ।
  • दिव्यश्वरी जग्गा एकिकरण आयोजना नगरपालिकाले सञ्चालन गर्ने गरी कार्य अगाडि बढाइनेछ।
  • सिन्टिटार तथा कमेरोटार जग्गा एकिकरण आयोजनामा बांकी रहेका कार्यहरुको कार्ययोजना बनाई सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

सिचाई तथा ऊर्जा

  • मध्यपुर उज्यालो अभियान अन्तर्गत नगर क्षेत्रका मुख्य सडकमा सडक वत्तीको व्यवस्था गरिनेछ।
  • खेती योग्य जमिनमा सिंचाई सुविधा विस्तारको कार्य अगाडि बढाइनेछ।
  • नेपाल विद्युत प्राधिकरणको सहकार्यमा नगरपालिकाभित्र रहेका विद्युत लगायत अन्य प्रसारण/ वितरण लाईनलाई भूमिगत विद्युतीकरणको कार्य द्रुत गतिमा अगाडी बढाई आगामी ४ वर्ष भित्र सम्पन्‍न गरिनेछ।

सूचना  तथा सञ्चार

  • नवीनतम विषयवस्तु तथा सेवाहरुको विकासलाई प्रवर्द्धन गरिनेछ।
  • सूचना तथा सञ्चार प्रविधि पूर्वाधारको विकास र विस्तार गरिनेछ।
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोगद्वारा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विद्यमान प्रयासहरुलाई निरन्तरता प्रदान गरिनेछ।
  • सूचना प्रविधिलाई सबैको पहुँच र क्रयशक्ति योग्य बनाइनेछ।
  • एफ.एम. तथा पत्रपत्रिकाको सञ्चालन ईजाजत तथा नवीकरणको छुट्टै व्यवस्थित मापदण्ड बनाइने छ भने नविकरण कार्यका लागि व्यवस्थित योजना निर्माण गरिनेछ।
  • नगरपालिकाको सूचना तथा सञ्‍चार नीति बनाई यस क्षेत्रलाई व्यवस्थित तुल्याइनेछ।
  • नगरपालिकाको सूचना प्रवाह व्यवस्थित गर्न अनलाईन प्रविधिको विकास गरिनेछ।

वन तथा वातावरण

  • बाँझो र पर्तीको रुपमा रहेका सार्वजनिक तथा सरकारी जमीनमा वृक्षारोपण गरी “स्वच्छ सफा हराभरा, नगर बनाउने हाम्रो अभिभारा” अभियान सञ्‍चालन गरिनेछ।
  • बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपबाट वर्षेनी हुने गरेको धन जनको क्षति न्यूनीकरणका लागि प्रदेश तथा संघीय सरकार र साझेदार संस्थाहरू बीच समन्वय गरी संरक्षणका कार्यक्रमहरू अगाडि बढाइनेछ।
  • नगरपालिकामा संचालित प्रदूषण गर्ने उद्योगलाई क्रमशः वातावरणमैत्री बनाउन प्रोत्साहित गरिनेछ र पर्यावरणमा असर नपुग्‍ने, ध्वनि तथा वातावरण प्रदूषण नगर्ने उद्योग स्थापनाका लागि प्राथमिकता दिइनेछ।
  • नगर क्षेत्र भित्रका सडक तथा बाटो दायाँबायाँ र विभिन्न पार्क एवँ सामुदायिक वन क्षेत्रमा वृक्षारोपण र वातावरण संरक्षण गरी हरियाली प्रवर्द्धन गरिनेछ।

 

फोहरमैला व्यवस्थापन

  • फोहोरमैला व्यवस्थापन कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न छुट्टै फोहोरमैला व्यवस्थापन कोषको स्थापना गरिनेछ।चाँगुनारायण, शंखरापुर लगायत अन्य नगरपालिकासँग सहकार्य गरी फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न पहल गरिनेछ।
  • फोहोरमैलाको उत्पादनमा न्यूनिकरण‚ प्रशोधन र पुनःप्रयोग लगायतका विधि मार्फत फोहोरमैला व्यवस्थापनको कार्यलाई अगाडि बढाइनेछ।फोहरको श्रोतमा नै बर्गिकरण गरी वर्गिकृत फोहर अनुसार छुट्टाछुट्टै संकलन गर्नें व्यवस्था मिलाईनेछ।
  • फोहरमैला व्यवस्थापनको कार्यमा टोल विकास संस्था‚ महिला समूह लगायत सामाजिक संघ-संस्थाको सहभागिता र सक्रियतालाई प्रोत्साहित गरिनेछ।
  • फोहोरमैला व्यवस्थापनको लागि नगरस्तरीय योजना तय गरी उपयुक्त स्थानमा फोहोर सङ्कलन केन्द्रको लागि सम्भाव्यता अध्ययन गरिनेछ।
  • नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूबाट निस्कने चिकित्साजन्य फोहरमैला वैज्ञानिक ढंगले व्यवस्थापन गर्न नेपाल सरकार र प्रदेश सरकारसँग सहकार्य गरिनेछ।साथै विद्यमान कानुनी व्यवस्थाको कडाइकासाथ परिपालना गराउन नियमनलाई प्रभावकारी बनाइनेछ।
  • नगर क्षेत्र भित्र दैनिक रुपमा निष्कासन हुने फोहरमैला व्यवस्थापन गर्न र फोहर न्यूनिकरणका लागि श्रोतमै फोहरमैला वर्गिकरण, कम्पोष्टिङ्ग तथा पुनः प्रयोग सम्वन्धी कार्य नगरबासी, नागरिक समाज,संघ संस्था,समुह र नीजि क्षेत्रसंगको साझेदारीमा कार्यक्रम सञ्चालन गरिनेछ।
  • नगर क्षेत्रका ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका सम्पदा भएको स्थान र अन्य सार्वजनिक महत्वका स्थानहरुमा दैनिक रुपमा नगरपालिकाको फोहोर ढुवानी गाडी मार्फत फोहर संकलनको व्यवस्था मिलाईनेछ।
  • खुल्ला डम्पिङ्ग साइटको रुपमा रहेका नगरपालिका क्षेत्र भित्रका स्थानहरुलाई हरियाली पार्कको रुपमा विकसित गर्दै लगिने छ।
  • फोहरमैलालाई अन्तिम विसर्जनका लागि स्थानीय स्तरका बैकल्पिक स्थलहरुको पहिचान गरिनेछ।

जलस्रोत तथा भूसंरक्षण

  • नगर क्षेत्रभित्रका पानीका श्रोतहरू पहिचान गरी संरक्षण गरिनेछ।
  • आकाशे पानी संकलन तथा पूनर्भरणका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  • नगरपालिकाभित्र स्वच्छ, सफा, पिउने योग्य खानेपानीलाई सबै नगरवासीको न्यूनतम आवश्यकता बमोजिम पुर्‍याउने, हाल सञ्चालनमा भएका खानेपानीका योजनाहरूको व्यवस्थापन‚ पाईपलाइनको मर्मत तथा सुधार र वितरण व्यवस्थापनको कार्यलाई आ.व. २०८०/८१ मा पनि निरन्तरता दिइनेछ।
  • बाढी पहिरोको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश र संघीय सरकारका निकाय तथा गैह्रसरकारी निकायसँग समन्वय गरी विशेष कार्यक्रम लागू गरिने छ।

विपद् व्यवस्थापन

  • नगर क्षेत्रभित्र निर्माण गरिने भवनहरूको नक्शा पास गर्दा पेश भएको भूकम्प प्रतिरोधि डिजाइन अनुसार कार्य भए नभएको कडाईका साथ अनुगमन गरिनेछ।
  • विपदमा परेका नगरवासीहरूलाई तत्काल उद्धार तथा राहत सामाग्री वितरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
  • नगरपालिकाको विपद् व्यवस्थापन नीति, योजना एवं रणनीति तयार गरिनेछ।
  • नगरपालिका तथा वडा स्तरका विपद् व्यवस्थापन समितिहरूको क्षमता तथा विपद् व्यवस्थापन योजना तर्जुमा कार्यमा सहजीकरण गरिनेछ।
  • नगरपालिकामा रहेको विपद् व्यवस्थापन कोष तथा विपद् न्यूनीकरणमा संलग्न साझेदार संस्थाहरूको सहयोगमा प्रकोप उद्धार सामग्रीहरू खरिद तथा प्रकोप न्यूनीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ।
  • हनुमन्ते मनोहरा नदीको बहाब क्षेत्र अवरोध भई हुन सक्ने डुवान नियन्त्रणको कार्ययोजना बनाई कार्यान्वयनमा लगिनेछ।

सुशासन संस्थागत विकास

मानव संशाधन विकास

  • विद्यमान कार्यबोझ तथा कार्य प्रकृतिलाई समेत मूल आधारमानी नगरपालिकाको संगठन संरचनालाई आवश्यकता बमोजिम पुनरावलोकन गर्न संगठन तथा व्यवस्थापन (O&M) गरी कर्मचारी व्यवस्थापन गरिनेछ।

संस्थागत क्षमता विकास

  • नगरपालिकाको शान्ति, सुव्यवस्था, विकास निर्माण, सरसफाइ, पर्यटन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज रुपमा जनतामाझ पुर्‍याउन नगर प्रहरीको परिचालन गरिनेछ।
  • नगर प्रहरीको भूमिका प्रभावकारी बनाउन आवश्यक पर्ने दक्ष जनशक्ति थप गरिनेछ।

राजस्व परिचालन

  • करदाता शिक्षा, कर सचेतना अभिबृद्धि तथा कर प्रोत्साहनको माध्यमबाट करको दायरा र क्षेत्र विस्तार गरी आन्तरिक आयलाई दिगो र भरपर्दो स्रोतको रूपमा स्थापित गरिनेछ।
  • नगर क्षेत्रभित्रका गैससहरूको दर्ता र नवीकरणको सिफारिस शुल्क संस्थाको वार्षिक वित्तीय कारोबारको आधारमा मापदण्ड बनाई लागू गरिनेछ साथै आवश्यक कानूनी संरचना तयार गरिनेछ।
  • वडा कार्यालयबाट घरबाटो‚ चारकिल्ला लगायत अन्य अचल सम्पति सम्बन्धी सिफारिस दिंदा अघिल्ला वर्षको बक्यौता कर जरिवाना तथा अन्य दस्तुर चुक्ता पश्चात् मात्र सिफारिस दिने प्रक्रियालाई समेत निरन्तरता दिइनेछ।
  • नगरपालिका क्षेत्रभित्र संचालित उद्योग व्यवसाय दर्ता/नवीकरणलाई प्रभावकारी बनाउन व्यवसाय दर्ता, घर वहाल कर, नक्शा नियमित जस्ता अभियानलाई निरन्तरता दिइनेछ।
  • राजस्व प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन राजस्व शाखा र वडागत कर संकलन ईकाइको पुर्नसंरचना, संस्थागत क्षमता विकास तथा आवश्यक दक्ष जनशक्ति र स्रोतसाधनको व्यवस्था मिलाइनेछ।
  • सूचना प्रविधिको अधिकतम उपयोग गर्दै सबै प्रकारका कर तथा शुल्क दस्तुर अनलाईन प्रविधिको माध्यमबाट भुक्तानी हुने व्यवस्था मिलाइनेछ।

वित्तीय जोखिम न्यूनीकरण

  • आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन आन्तरिक लेखा परीक्षण र कर परीक्षण कार्यलाई थप प्रभावकारी बनाइनेछ।
  • आन्तरिक लेखा परीक्षण चौमासिक रुपमा गराइ आम्दानी र खर्चको विवरण सार्वजनिक गरी नगरपालिकाको वेवसाइटमा राखिनेछ।
  • सुशासन र सूचनाको हकलाई प्रत्याभूत गर्दै नगरपालिका मार्फत सञ्‍चालन गरिने हरेक आयोजना र कार्यक्रमको विवरण खुल्ने गरी सूचना बोर्ड योजना स्थलमा राख्‍ने कार्यलाई निरन्तरता दिइनेछ।
  • उपभोक्ता समिति तथा कार्यक्रम सम्पन्न गर्ने संघ संस्थाले सामाजिक लेखा परीक्षण गर्नु पर्ने प्रावधानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याइनेछ।
  • विभिन्न व्यक्ति, संस्था र उपभोक्ता समितिहरूको नाममा रहेको पेश्की असुल उपर गरी नियमित गरिनेछ।
  • सेवा प्रवाह र विकास निर्माणका काममा पारदर्शिता कायम गर्न महिनै पिच्छे प्रगति प्रतिवेदन सार्वजनिकीकरण, हरेक चौमासिकमा सार्वजनिक सुनुवाई, वार्षिक रुपमा सामाजिक परिक्षण, हरेक योजनाको सार्वजनिक परीक्षण जस्ता बिषयलाई कडाईका साथ कार्यान्वयन गरिनेछ।

योजना, अनुगमन तथा मूल्याङ्कन

  • नगर विकास योजना तर्जुमा गर्दा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने तथा रोजगार प्रवर्द्धन हुने र आयमूलक, कृषि उत्पादन वृद्धि हुने, स्थानीय साधन, सीप र क्षमताको परिचालनबाट सञ्‍चालन हुने, वातावरण संरक्षणमा सघाउ पुग्‍ने कार्यक्रमलाई प्राथमिकता दिइनेछ।
  • योजना छनोट गर्दा क्रमागत एवं अधुरा योजनाहरू तथा थोरै रकममा मर्मत सम्भार गरी पुनःसञ्चालनमा ल्याउन सकिने योजनालाई पहिलो प्राथमिकता दिइनेछ।
  • योजना छनोट गर्दा उपभोक्ता समितिको तर्फबाट नगद लागत सहभागिता जुटने आयोजनालाई प्राथमिकता दिइनेछ।
  • नगद सहभागिता अनिवार्य नभएका योजनाको हकमा जनसहभागिता बराबरको काम गरेको प्राविधिक मूल्याङ्कन सहितको प्रतिवेदन प्राप्त भएपछि कार्यप्रगतिको आधारमा रकम भुक्तानी दिइनेछ।
  • लागत सहभागिता गर्नु पर्ने योजना तथा कार्यक्रमको हकमा लागत अनुमानको न्यूनतम २० प्रतिशत लागत सहाभागिता गर्नु पर्ने नीति लिइनेछ।
  • उपभोक्ता समितिहरूलाई बढी जिम्मेवार र जवाफदेही बनाउन वडा वडामा उपभोक्ता समिति र पदाधिकारीहरूलाई अभिमुखीकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  • पूर्वाधार लगायत आपसी सहकार्य र समन्वयका विषयहरूमा अन्य स्थानीय तहसँग समन्वय गरी संयुक्त समिति गठन गरी साझेदारीमा कार्य गरिनेछ।
  • गुणस्तरीय रुपमा कार्यसम्पन्न गर्ने उपभोक्ता समिति/निर्माण व्यवसायी तथा अन्यलाई मापदण्डको आधारमा पुरस्कृत गरिने नीतिलाई निरन्तरता दिइनेछ।

सुशासन तथा सेवा प्रवाह

  • नगरपालिका हुने सेवा प्रवाहमा चुस्तता, प्रभावकारिता, जवाफदेहिता र विकास निर्माणका कार्यहरूमा पारदर्शीता कायम गर्न सुशासन नीति बनाई लागू गरिनेछ।सेवा प्रवाहमा नागरिकको गुनासो सुनुवाईलाई प्राथमिकता दिइनेछ।
  • नगरपालिकाको समग्र विकास निर्माण र सेवा प्रवाहको अनुगमनलाई प्रभावकारी बनाउन तथा उजुरी तथा गुनासोको उचित सुनुवाईका लागि तेश्रो पक्षद्वारा अनुगमन गराइनेछ।
  • नगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा सुविधा प्रदेश सरकारले तोके अनुसार गरिनेछ।साथै नगरपालिका, वडा र सेवा केन्द्रहरूमा कार्यरत कर्मचारीहरूको मनोबललाई उच्च बनाउन क्षमता विकासका कार्यक्रम सञ्‍चालन तथा दण्ड र पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  • यस नगरपालिका अन्तर्गत बसोबास गर्ने विभिन्न क्षेत्रमा विज्ञता प्राप्त व्यक्तित्वहरूको पहिचान गरी उनीहरूको ज्ञान, सिप, क्षमता र अनुभवलाई नगरपालिकाको सर्वाङ्गीण विकासमा पूर्ण उपयोगको लागि विज्ञ समूह गठन गरिनेछ।
  • नगरपालिकाभित्र कर्मचारी सँगठनको संरचनालाई O&M Survey गरी सोही आधारमा दरवन्दी सृजना, पदपूर्ति र बढुवाको व्यवस्था मिलाइनेछ।साथै अनुशासित भई काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा अनुशासनहीन काम र गल्ती गर्ने कर्मचारीलाई निरुत्साहित/दण्डित गरिने नीति अवलम्बन गरिनेछ। प्रत्येक वर्ष उत्कृष्ट काम गर्ने कर्मचारी छनोट गरी पुरस्कार र प्रसंशा-पत्र प्रदान गरिने कार्यलाई निरन्तरता दिइनेछ।
  • स्थानीय स्वायत्तताको मर्म र सिद्धान्त अनुरुप नगरवासीले सम्भव भएसम्म सेवा सुविधा घर-दैलो र टोल टोलमा प्राप्त गर्न सक्ने अवस्था सृजनाका लागि स्थानीय सरकार सञ्‍चालन ऐन, २०७४ को व्यवस्था र मर्म अनुरुप आवश्यक अधिकार प्रत्यायोजन मार्फत वडास्तरबाट सम्पादन हुने कार्यलाई थप व्यवस्थित गरिनेछ।

दररेट निर्धारण

  • नगरक्षेत्रभित्र निर्माण सामग्री, ढुवानी, कामदारको ज्याला तथा पारिश्रमिकको वैज्ञानिक दररेट निर्धारण गरी लागू गरिनेछ।
  • नगरक्षेत्रभित्र सञ्चालन हुने सार्वजनिक सेवा, खाद्य तथा पेय पदार्थ लगायतको समयानुकुल मूल्य सूची निर्धारण भए नभएको सम्बन्धमा प्रभावकारी बजार अनुगमन तथा नियमन गरिनेछ।

सवारी नियमन

  • अव्यवस्थित पार्किङलाई निषेध गरिनेछ।नगरपालिकाभित्र रहेका सवारी पार्किङ्ग क्षेत्रलाई संघ तथा प्रदेश सरकारको सहकार्यमा व्यवस्थित गर्न पार्किङ स्थलहरूको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइनेछ।
  • नगर प्रहरी र नेपाल प्रहरीको सहकार्यमा ट्राफिक नियमबारे जनचेतना अभिवृद्धि गराइनेछ र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइने छ।