तिनदिने परियत्ति प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि बागलुङ्गमा शुरु

सुनीता तुलाधर, बागलुङ्ग, असार १ गते ।
नेपाल बौद्ध परियत्ति शिक्षाको शिक्षक/शिक्षिका शिक्षण व्यवस्था उपसमिति, काठमाडौं र ज्ञानदोय बुद्ध विहार, बागलुङ्गको संयुक्त आयोजनामा आज परियत्ति शिक्षाको तिन दिने प्रशिक्षक प्रशिक्षण तालिम ने.बौ.प.शि.का केन्द्राध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले उद्घाटन गर्नुभयो ।
ज्ञानदोय बुद्ध विहार, बागलुङ्गमा शुरु भएको उक्त तालिमको उद्घाटन गर्नुहुँदै भिक्षु बोधिज्ञान महास्थविरले शिक्षकहरुले आफूले सिकेका ज्ञानहरुको प्रयोगबाट आफ्ना बिद्यार्थीहरुलाई संयम बनाउन सकिने बताउनुभयो ।
अखिल नेपाल भिक्षु महासंघद्धारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाद्वारा तिन दिनसम्म दिइने तालिममा भिक्षु बोधिज्ञान महास्थविरले चित्त परिशुद्ध, अ. शुभवती गुरुमाले शील सदाचार, डा. सबिता धाख्वाले जीवनको उन्नति र अवनति तथा प्रशिक्षक आभा अवालेले विविध विषयमा प्रशिक्षार्थीहरुलाई तालिम दिनुहुनेछ ।
शिक्षकशिक्षिकाहरुको अध्यापन शैली तथा क्षमता अभिवृद्धि र बिकास गर्ने उद्देश्यले संचालन गरिएको उक्त तालिममा बागलुङ्ग, पोखरा, तनहुँ, चितवन आदि स्थानबाट ३५ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।
गण्डकी प्रदेश नं ४ को दोश्रो ठूलो शहर बागलुङ्ग काठमाडौंबाट २७५ कि.मी. टाढा छ । बागलुङ्ग पुग्न काठमाडौंबाट ८ घण्टा १५ मिनेट जति लाग्छ । काठमाडौंबाट नौविसे, मनकामना, गोरखा, बन्दीपुर, पोखरा हुँदै बागलुङ्गमा पुग्न सकिन्छ । बागलुङ्गमा ऐतिहासिक ज्ञानोदय बुद्ध विहार लगायत नेपालकै सबैभन्दा लामो झोलुंगे पुल काली गण्डकी झोलुंगेपुल, बलेवा विमानस्थल, बराह ताल, कालीका भगवती मन्दिर, निरयघाट आदि स्थानहरु छन् ।