परियत्ति प्रशिक्षक प्रशिक्षण तालिमको दोस्रो दिनमा चंक्रमण ध्यान तथा खेलद्वारा शिक्षण सिकाइने विधि सिक्दै

सुनीता तुलाधर, बागलुङ्ग, असार २ गते ।
परियत्ति शिक्षकशिक्षिकाहरुको अध्यापन शैली तथा क्षमता अभिवृद्धि र बिकास गर्ने उद्देश्यले संचालन भइरहेको तिनदिने तालिमको दोश्रो दिन असार २ गते भिक्षु बोधिज्ञान महास्थविरले चित्त शुद्धता, अ. शुभवती गुरुमाले बुद्ध जीवनी, डा. सबिता धाख्वाले जीवनको उन्नति र अवनति, प्रभावकारी शिक्षण विधिहरु र भास्सरा स्कूलका प्रिन्सिपल आभा अवालेले ज्ञानका विविध पाठको बारेमा तालिम दिनुभएको थियो ।


बागलुङ्गको बुद्धचोकमा अवस्थित ज्ञानोदय बुद्ध विहारमा संचालन भइरहेको उक्त तालिममा भिक्षु बोधिज्ञान महास्थविरले प्रशिक्षार्थीहरुलाई चित्त शुद्धता विषयमा चंक्रमण ध्यानका साथै बसेर गरिने ध्यान भावना सिकाउनु हुँदै अभ्यास गराउनु भयो ।
ध्यान अभ्यासको क्रममा सहभागी प्रशिक्षार्थीहरु एकदमै होस पुरयाएर दाँया खुट्टा उचाल्दै छु — राख्दैछु, बाँया खुट्टा उचाल्दैछु — राख्दैछु भनेर मनमनै भनि बिस्तार बिस्तारै गोडा सार्दै अगाडि बढेका थिए । साथै बसेर ध्यान अभ्यास गर्दा हात, खुट्टा, शरीर राख्ने तरीका, श्वास आउँदा र जाँदा त्यसमा होस राख्नुपर्ने र त्यो सँगै पेट फुलेको सुकेकोमा होस राखेर ध्यान अभ्यास गर्नुपर्ने भनी उहाँले प्रशिक्षार्थीहरुलाई सिकाउनु भएको थियो ।


त्यस्तै अ. शुभवती गुरुमाले परियत्ति शिक्षाको कक्षा १ मा रहेको बुद्ध जीवनी पाठमा सिद्धार्थको जन्म लुम्बिनीमा भएको देखि २९ वर्षको उमेरमा राजदरवार त्यागी महाभिनिष्क्रमण गर्नु सम्म रहेको बताउनुभयो । साथै प्रशिक्षार्थीहरुलाई विभिन्न नामहरु लेखिएको कार्ड दिनुभएर आफूलाई परेको कार्डमा लेखिएको नाम भन्न र एकछिनको लागि आफ्नो त्यही सम्झिन लगाउनुभयो । त्यसपछि बाँकी प्रशिक्षार्थीहरुसँग उनीहरुको केके नाम रहेको सोध्नुभयो ।
उहाँले यसप्रकारको खेल शिक्षण विधि शिक्षकहरुले अपनाएमा विद्यार्थीहरु उत्सुक भएर खेले झैं गर्दागर्दै ती नामहरु समेत सजिलै पछिसम्म याद हुने गरी सम्झिराख्न सहयोग पुग्ने बताउनुभयो ।
तालिमकै क्रममा प्रशिक्षक आभा अवालेले विविध विषय पाठमा रहेको धम्मपदको गाथाहरु उच्चारण गर्न र पढ्न सिकाउनुभयो । पाली भाषा नबुझिने र पढ्न गाह्रो जस्तो भएतापनि एउटा सही तरीकाले पढेमा सजिलै पढ्न सकिनुका साथै कण्ठ पनि गर्न सकिने बारेमा सिकाउनुभयो ।
त्यस्तै उहाँले खेल शिक्षण बिधिद्वारा विद्यार्थीहरुलाई सिकाउँदा उनीहरुले रमाई रमाई सजिलै पाठहरु सिक्ने बताउनुभयो । यही विधि अपनाई जोडा मिलाउने, शब्दार्थ आदिहरु बारे प्रशिक्षार्थीहरुलाई कक्षामै अभ्यास गराउनुभयो । यसका लागि उनीहरुलाई ५ वटा समूहमा विभाजन गरीएको थियो र उनीहरु पनि यस खेल अभ्यासमा रमाई रमाई भाग लिइरहेका थिए ।


डा. सबिता धाख्वाले ५ संचार सीपको बारेमा बताउनुभयो । उहाँले अध्यापन गराउँदा अध्यापन गराउने कुराहरु स्पष्ट भन्ने, सत्यतथ्य कुरा भन्ने, मिल्ने तरीकाबाट भन्ने, पूर्णहुने गरी भन्ने र बिश्वासिला मात्र भन्नुपर्ने सिकाउनुभयो ।
उहाँले शिक्षण अभ्यासका लागि मैत्री, करुणा, मुदिता, उपेक्षा र चतुब्रम्ह विहार गरी ५ वटा समूहमा विभाजित गरेर क्रमशः शील सदाचार, जीवनको उन्नति र अवनति, बुद्ध जीवनी, चित्त शुद्धता र ज्ञानका विविध पाठ विषयमा दिनुभयो । यसको अभ्यासको लागि भोलि अन्तिम दिनको समय मिलाइएको छ ।
अखिल नेपाल भिक्षु महासंघद्वारा संचालित नेपाल बौद्ध परियत्ति शिक्षाको शिक्षकशिक्षिका शिक्षण व्यवस्था उपसमितिले उक्त तालिम दिइरहेको छ ।