ट्राफिकको सचेतना कक्षा अब भक्तपुर र ललितपुरमा पनि

भक्तपुर, जेठ ३२
ट्राफिक नियम उलंघन गर्ने चालकहरुले अबदेखी भक्तपुर र ललितपुरमा पनि सचेतना कक्षा लिन पाउने भएका छन । काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले भक्तपुर र ललितपुरमा ट्राफिक नियम उलंघन गर्ने चालकहरुले सम्बन्धीत जिल्लामा नै सचेतना कक्षा लिन सकिने व्यवस्था गरेको हो ।
सो व्यवस्था अनुसार तीव्र गति, रातो बत्ति र लेन अनुशासन उलंघन गर्ने चालकहरुले सम्बन्धीत जिल्लामा सचेतना कक्षा लिन सक्नेछन । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने चालकहरुले भने बग्गीखाना रामशाहपथमा नै सचेतना कक्षा लिनुपर्ने छ ।
भक्तपुरमा नियम उलंघन गर्ने चालकले ट्राफिक प्रहरी परिसर चुनदेवी र ललितपुरका चालकहरुले ट्राफिक प्रहरी परिसर सातदोबाटोमा सचेतना कक्षा लिन सकिने व्यवस्था गरिएको छ । कक्षा यही असार ३ गतेदेखी सञ्चालन हुने छ ।
जिल्लामै जरिवाना तिर्न र कक्षा लिन पाउने व्यवस्थाले चालकलाई पायक पर्ने र समय व्यवस्थापनमा सहज हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख ट्राफिक निरिक्षक राजु कार्कीले बताउनुभयो ।
मापसे, लेन अनुशासन, तिब्र गति र रातोबत्ती उलंघन गरी कार्वाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवाना सहित अनिवार्य सचेतना कक्षामा सहभागी गराउदैं आएको छ ।