सट्टेबाजीको प्रचार प्रसार गरेको अभियोगमा पक्राउ परेका कलाकारहरु थप ३ दिन हिरासतमा

भक्तपुर, जेठ ३२
आफ्नो युट्युव च्यानलमार्फत वन एक्स बेटको प्रचार प्रसारमा सहयोग पुग्ने गरी प्रोमो कोड समेत दिई विज्ञापनमार्फत सर्वसाधारणलाई सट्टेवाजी गर्न गराउनको लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका हाँस्य कलाकारसहित ८ जनालाई थप ३ दिन प्रहरी हिरासतमा राख्न काठमाण्डौँ जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बुधवार अनलाइन बेटिङ प्लाटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ पवन खतिवडा (म्याकुरी), एलिश राई, ज्वलन घर्तीमगर (जलन), गणेश देवकोटा, सरोज घिमिरे (ढेडु बुढो) र वेगम नेपाली (भटभटे माइला)लाई पक्राउ गरेको थियो ।
उनीहरुलाई सरकारी वकिलको कार्यालय मार्फत बिहिवार काठमाण्डौं जिल्ला अदालत पेश गरिएको थियो । अदालतले थप ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।
एसपी रेग्मीले पक्राउ परेकाहरूमाथि जुवा ऐन र राष्ट्र बैंक ऐन आकर्षित हुने जानकारी दिनुभयो । नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने व्यवस्था छ ।
धारा १२५ को ९२० को उपदफा ९१० को (क)मा पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।