अनलाइन जुवा खेलेको आरोपमा ५ पक्राउ

भक्तपुर, जेठ ३२
विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमार्फत सट्टेबाज (जुवा) खेल्ने र खेलाउने कार्यमा संलग्न भएको आरोपमा काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा केलाली लम्कीचुहा नगरपालिका – १० घर भई काठमाण्डौं चावहिल बस्ने २९ वर्षिय दिनेश खडका, काभ्रेपलान्चोक पाँचखाल नगरपालिका–४ घर भई हाल काठमाण्डौं चावहिल बस्ने २८ वर्षिय अनिता धिताल, भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने २७ वर्षिय दिपेश श्रेष्ठ, कञ्चनपुर भिमदत नगरपालिका–१८ घर भई हाल काठमाण्डौं पेप्सीकोला बस्ने २५ वर्षिय दिनेश चन्द र नुवाकोट ककनी गाँउपालिका–७ चतुराते घर भई हाल काठमाण्डौं नागार्जुन नगरपालिका–२ बि.सी.क्याप स्कुल बस्ने २४ वर्षिय आशिष लामिछाने छन ।
उनीहरुलाई उपत्यकाको मैजुबहाल, मध्यपुर थिमी, सानो भ¥याङ, वुद्धनगर लगायतका स्थानबाट पक्राउ गरिएको काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालका सूचना अधिकारी प्रहरी उपरिक्षक (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।


अनुसन्धानका क्रममा सट्टेबाजको रकम प्रयोग गर्न दिनेशले ६३ वटा खाता खोलेको भेटिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिनुभयो ।
उनीहरुले सट्टेबाजमा ७४ करोड १३ लाख कारोबार गरेको पाइएको छ । पक्राउ पर्ने मध्ये दिनेश खडकाले राम बिलाश डि.थारु, तेज बहादुर ठयात खडका, नबिन चौधरी, अनिता धितालको कागजातहरु प्रयोग गरी बिभिन्न ६३ वटा खाता खोली उक्त खाता मध्येमा १२ वटा खातामा हाल सम्म ६४ करोड बराबरको कारोबार भएको देखिएको छ ।
अनिता धितालले आफ्नो मोबाईलमा बाईनेन्स खाता खोली युएसडी किन्ने गरेको देखिएको छ भने पक्राउ पर्ने मध्ये दिपेश श्रेष्टले चलाउने गरेको ९८०८३२२००२, ९८१३०४३१२४, ९८५१०८५५३९, ९८५११३४२३९ नम्बरको ई सेवामामा क्रमशःरु २१ लाख २९ हजार, रु १९ लाख ८२ हजार, रु १२ लाख ९० हजार, रु ५ लाख २८ हजार गरी जम्मा रु ५९ लाख २९ हजार बराबको कारोबार भएको देखिएको छ ।


दिपेश श्रेष्ठको माच्छापुच्छ्रे बैंक, एनआइसी एसिया बैंक, प्रभु बैंक, सानिमा बैंकमा क्रमशः रु १ करोड ३७ लाख ९० हजार, रु २ करोड १७ लाख ६१ हजार, रु २५ लाख ८३ हजार, रु १ लाख ४५ हजार र निज दिपेशले चलाउने ई सेवामा बैंकमा अमित श्रेष्टको नामको खाताबाट रु २ करोड १ लाख ७० हजार गरी जम्मा रु ५ करोड ५४ लाख ६६ हजारको कारोबार देखिएको छ ।
पक्राउ पर्ने मध्ये दिनेश चन्दको प्रभु बैंकको खातामा हाल सम्म ४५ लाखको कारोबार गरेको देखिएको छ । यसैगरी आशिष लामिछानेले एनआइसी एसिया, ग्लोबल आईएमई बैंक, माहालक्ष्मी बिकास बैंक, सनराईज बैंक गरी क्रमशः रु १ करोड ४० लाख, रु १ करोड १ लाख ६१ हजार, रु ५३ लाख ४० हजार, रु ३ लाख ९५ हजार गरी जम्मा रु २ करोड ९८ लाख ९६ हजारको कारोबार भएको देखिएको छ ।
प्रहरीले उनीहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद गरिएको जनाएको छ । उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु मध्येका एक दिनेश खड्का यसअघि अमेरिकी डलरको अवैध अपचलनको मुद्दामा मुछिएका व्यक्ति भएको खुल्न आएको छ । २०७८ मा नेपाली रुपैयाँलाई अमेरिकी डलरमा रुपान्तरण गरेर मोबाइल एपमार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको आरोपमा दिनेशसहित उनका दिदी, बाबु र अनिताविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा नै चलेको थियो ।

उनीहरुले तीन महिनामा ३७ करोड ६४ लाखभन्दा बढी नेपाली रुपैयाँलाई डलरमा रुपान्तरण गरेर अनलाइनमार्फत अज्ञात ठाउँमा भुक्तानी गरेको राजश्व अनुसन्धान विभागको दाबी थियो । सो मुद्दामा दिनेश २५ लाख धरौटीमा काठमाण्डौं जिल्ला अदालतबाट छुटेका थिए ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २४ वर्षका आशिष लामिछाने चार्टर्ड एकाउन्टेन्ट नै हुन्, जसले अनलाइन बेटिङमा भएको कारोबारको हिसाब किताब राख्ने गरेका थिए ।