डेब्युमै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन

भक्तपुर, जेठ २४
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो सहभागितामा नै चर्च ब्वाइज युनाईटेड लिग च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज लिगको एक खेल अगावै च्याम्पियन बनेको हो ।
चर्च ब्वाईज लिगको २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको साविक विजेता मच्छिन्द्रको २४ खेलबाट ३९ अंक रहेको छ । लिगमा बाँकी रहेको एक खेलमा चर्च ब्वाईज पराजित भएमा र दोस्रो स्थानको मच्छिन्द्रले बाँकी रहेको दुवै खेल जितेपनि हेड टु हेडको आधारमा चर्च ब्वाईज लिग च्याम्पियन बन्ने पक्का भएको हो ।
चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै सिजन लिगको उपाधि जितेको हो । उपाधिसँगै चर्च ब्वाईजले मनाङ मस्र्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ । मनाङले पनि सी, बी हुँदैं ए डिभिजन लिगको उपाधि जितेको थियो । मनाङले २०४१ मा सी, २०४२ सालमा बी लिग र ०४३ सालमा ए डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो  । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो ।
वि.स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाईज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो ।
चर्च ब्वाईजका प्रशिक्षक बालगोपाल महर्जनका लागि पनि यो प्रशिक्षकको रुपमा पहिलो एक डिभिजन लिग उपाधि हो । खेलाडीको रुपमा महर्जनले थ्री स्टारबाट एक पटक लिगको उपाधि जितेका थिए ।


क्लबका अध्यक्ष टंकलाल (रुबेन) राईले लिग उपाधिले १५ वर्षदेखिको तृष्णा मेटिएको बताए । उनका अनुसार क्लब स्थापना गर्दा ए डिभिजन लिग खेल्ने हुटहुटी त थियो, तर यति छिट्टै च्याम्पियन भइएला भन्ने लागेको थिएन ।
चैत २०७८ मा बी डिभिजन लिग च्याम्पियन बन्दा चर्च ब्वाइजमा स्टार खेलाडीहरु कोही पनि थिएनन् । ए डिभिजन लिग हुने पक्का भएपछि क्लबले बी डिभिजन लिग जितेका आशिष चौधरी सहित १२ जनालाई टिममा राख्यो । राष्ट्रिय टिमका अन्जन विष्ट, अनन्त तामाङ, तेज तामाङ, दिनेश राजवंशी, एरिक विष्ट, कमल श्रेष्ठ लगायतका खेलाडीलाई अनुबन्ध ग¥यो ।
तर लिग सुरु हुनुअगावै दिनेश र तेज अस्ट्रेलियातिर लागे । अन्जन पनि आई लिग खेल्न गएपछि टिम सुरुवातमै केही कमजोर देखियो । त्यही बेला श्रम स्वीकृति नपाएपछि नेपाली मूलका अमेरिकी प्रशिक्षक प्रदीप हुमागाईंले राजीनामा दिए ।
अन्जन छैटौं चरणदेखि टिममा फर्किए । सातौं चरणको खेल बिना प्रशिक्षक खेलेको क्लबले आठौं चरण खेल्नुअघि नेपालकै सफल प्रशिक्षक बालगोपाल महर्जनलाई अनुबन्ध ग¥यो । तर चौथो चरणबाट सुरु भएको बराबरी नवौं चरणसम्म निरन्तर रह्योे ।
दशौं चरणमा सातदोबाटोलाई २–१ ले हराए पनि ११औं चरणमा जाउलाखेल युथ र १२औं चरणमा त्रिभुवन आर्मीसँग समान १–० को हार व्यहारेको थियो । फरवार्ड अञ्जनका अनुसार १७ वैशाखमा भएको पहिलो राउण्डको अन्तिम अर्थात १३औं चरणको मनाङ मस्र्याङ्दीसँगको खेल टर्निङ प्वाइन्ट बन्यो ।

मनाङलाई ३–० ले हराएपछि अब लिग जित्नुपर्छ, सकिन्छ भन्ने आमविश्वास आएको अञ्जनले सुनाए । लिग उपाधि पक्का भएपछि उनले भने, ‘त्यो खेलपछि सबैको मोरल हाइ भयो । र, त्यही मोमेन्टमलाई अगाडि लिएर गयौं ।’
लिग च्याम्पियन भएपछि पोष्ट म्याच कन्फ्रेन्समा प्रशिक्षक बालगोपालले सफलताको श्रेय सम्पूर्ण टिमलाई जाने बताए । क्लब अध्यक्ष राईले पनि आफ्नो टिमको नेतृत्व क्षमता नै जितको प्रमुख आधार भएको बताए ।
ए डिभिजन लिग जित्नु घरेलु च्याम्पियन बन्नु मात्र होइन, अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पनि हो । एसियाका लिग च्याम्पियनहरुले एसियाली फुटबल महासंघले आयोजना गर्ने क्लबस्तरीय प्रतियोगिता एएफसी कप खेल्न पाउँछन् ।
च्याम्पियन भएर पनि चर्च ब्वाइजले भने यो अवसर पाउने छैन । किनकी उसँग एएफसी लाइसेन्स छैन । नेपालमा मछिन्द्र, त्रिभुवन आर्मी र एपीएफ क्लबसँग मात्र एएफसी लाइसेन्स छ । त्यसैले सम्भवतः मछिन्द्रले एएफसी कप खेल्नेछ । क्लब अध्यक्ष रुबेन भविष्यमा एएफसी क्लब लाइसेन्सलाई केन्द्रित गरी योजना बनाउने बताउँछन् ।