चाँगुनारायणमा बजेट खर्च ५७.३१ र राजस्व संकलन ६८.६९ प्रतिशत

भक्तपुर, जेठ २४
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट ५७ दशमलव ३१ प्रतिशत खर्च गरेको छ । नगरपालिकाका जनप्रतिनिधिहरु पद बहाली भएको एक वर्ष पुरा भएको अवसरमा बुधवार आयोजित कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले चालु आर्थिक वर्षको विनियोजित बजेट मध्ये जेठ १५ गतेसम्म ५७ दशमलव ३१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकाको कुल बजेट २ अर्ब १० करोड ५० लाख ५९ हजार २ सय मध्ये एक अर्ब २० करोड ६५ लाख ८५ हजार ६८० रुपैंया खर्च भएको छ ।
यसैगरी राजस्व संकलनतर्फ जेठ २४ गतेसम्म अनुमानित आयको ६८.६९ प्रतिशत संकलन भएको छ । चालु आर्थिक वर्ष चाँगुनारायण नगरपालिकाले २६ करोड २६ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म १८ करोड २ लाख संकलन भएको नगरप्रमुख खत्रीले बताउनुभयो ।
भौतिक पुर्वाधारतर्फ चालु आर्थिक वर्ष हालसम्म ५.८ कि.मि. सडक कालोपत्रे गरिएको, ६.४५ कि.मि. सडक बिस्तार र स्तरोन्नति गरिएको र ५ वटा कल्भर्ट निर्माण सम्पन्न भएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।
त्यसैगरी चाँगुनारायण मन्दिरमा पुग्न अपाङ्गमैत्री पदमार्ग निर्माण सुरु भएको छ । नगरपालिकाको प्रशासकीय भवन र वडा नं. १ को कार्यालय भवन निर्माण सम्पन्न भएको छ भने वडा नं. ५ को कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेको छ । खानेपानीको सहजताका लागि ३ स्थानमा डिपबोरिङ्ग गरिएको तथा ३ लाख लि. क्षमताको ओभरहेड ट्याङ्की निर्माण भएको छ ।


नगरकोट भ्रमण वर्ष २०८२÷०८३ को घोषणा गरी आवश्यक तयारी भइरहेको, बृहत्तर नगरकोट क्षेत्रको पर्यटन प्रबद्र्धन र दिगो पर्यटन विकासका लागि मण्डनदेउपुर नगरपालिका, शंखरापुर नगरपालिका र बनेपा नगरपालिकाको लागत साझेदारीमा बृहत्तर नगरकोट क्षेत्रको गुरुयोजना निर्माणको थालनी भएको, नगरबासीका लागि स्वास्थ्य बीमा, कृषकहरुको प्रोत्साहनका लागि पशु बीमाको व्यवस्था मिलाइएको, गुणस्तरीय शिक्षाको प्रबर्द्धनका लागि शिक्षक शिक्षण सहायता कार्यक्रमको सुरुवात गरिएको, विद्यालय खाजा खर्चमा वृद्धि, नगरबासीलाई निःशूल्क रगतको व्यवस्था गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो ।
नगरपालिकामा सुशासन कायम राख्न विभिन्न विषयसँग सम्बन्धित ५ वटा ऐन तथा १० वटा कार्यविधि निर्माण गरी कार्यान्वयन गरिएको, न्यायिक समितिमा हालसम्म दर्ता हुन आएका कूल ६५ वटा निवेदनमध्ये ३५ वटा निवेदन फर्छ्यौट भएको, करीब ३ हजार कृषकहरुलाई अनुदानमा ५ हजार बोरा रासायनिक मल उपलब्ध गराइएको जानकारी दिँदैं उहाँले १८ जना कृषकलाई बोयर बोका शत प्रतिशत अनुदानमा उपलब्ध गराइएको, पशु बीमाको कार्यलाई सहजीकरण गरिएको, ११२ जना मृगौला प्रत्यारोपण गरेका÷ डायलाइसिस गरिरहेका ÷ क्यान्सर रोगी ÷ मेरुदण्ड पक्षघातका व्यक्तिलाई मासिक उपचार खर्च बापतको रकम उपलब्ध गराइएको बताउनुभयो ।
चाँगुनारायण अस्पताललाई गुणस्तरीय सेवा विस्तार गर्न र अतिआवश्यक जनशक्ति व्यवस्थापन समेत गरिएको बताउँदैं विशेषज्ञ सेवा (प्रत्येक आईतबार अल्ट्रासाउण्ड ÷ रेडियोलोजी सेवा, बुधबार स्त्री रोग सेवा, शुक्रबार हाडजोर्नी सेवा) सञ्चालनमा आएको र क्षयरोगमूक्त स्थानीय तह घोषणा अभियान कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
नगर उपप्रमुख रमेश बुढाथोकीले एक वर्षको अवधिमा दवाव विहिन ढंगले न्याय सम्पादन र प्रभावकारी अनुगमन गरेको बताउनुभयो । मापदण्ड अनुरूप योजना सम्पन्न गराउन र गुणस्तरीय काम गराउन नगरपालिकाले प्रभावकारी भूमिका खेलेको उहाँले बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखा अध्यक्ष जगतकृष्ण प्रजापतिले महासंघले नगरभित्र गरिएको सेवाग्राहीको मत सर्वेक्षणमा नागरिकले नगरपालिकामा सुशासनको अनुभुती गरेको पाईएको चर्चा गर्दै उक्त सर्वेक्षणको प्रतिवेदनमा उल्लेख गरिएका सुझाव कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।
उहाँले नगरपालिकाले स्थानीय सञ्चार नीति निर्माण गरी स्थानीय सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गर्नुपर्ने सुझाव समेत राख्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगरका योजना सम्पन्न गरी सम्मुनत चाँगुनारायण निर्माणका लागि नगरवासी, बुद्धिजीवि र सरोकारवालाहरुको साथ, सहयोग र सहकार्यको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा हिक्मत सिंह लेकालीले प्रथम पञ्चवर्षीय आवधिक योजनाको मस्यौदाको प्रस्तुत गर्दै सो योजनामा सुझाव समेत संकलन गरिएको थियो ।