भक्तपुरका १३६६ जनाले निःशुल्क रगत सेवा प्राप्त गरे

प्रकाश श्रेष्ठ, भक्तपुर, जेठ २३
नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले बैशाख मसान्तसम्म एक हजार ३६६ जना भक्तपुर जिल्लाबासीलाई निःशुल्क रगत तथा रक्ततत्व प्रदान गरेको छ । भक्तपुरका चार नगरपालिकासँग नगरबासीलाई निःशुल्क रगत र रक्ततत्व उपलब्ध गराउने सम्झौता गरेको रेडक्रसले बैशाख मसान्तसम्म एक हजार ३६६ जनालाई निःशुल्क रगत तथा रक्ततत्व प्रदान गरेको हो । जस अन्र्तगत एक हजार ९९१ पिन्ट रगत तथा रक्ततत्व रहेको छ ।
नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको रक्तसञ्चार सेवाकी जनसम्पर्क सहायक सफलता हाकुजु श्रेष्ठका अनुसार मध्यपुर थिमि नगरपालिकाका ३३६ बिरामीले ५१९ पिन्ट, सूर्यबिनायक नगरपालिकाका १४३ बिरामीले २०९ पिन्ट निःशुल्क रगत र रक्ततत्व प्रदान गरेको छ ।
यसैगरी भक्तपुर नगरपालिकाका ५५२ बिरामीले ८१० पिन्ट र चाँगुनारायण नगरपालिकाका १४३ बिरामीले २०९ पिन्ट रगत तथा रक्ततत्व सेवा निःशुल्क प्राप्त गरिसकेका उहाँले बताउनुभयो ।
रेडक्रसले निःशुल्क सेवाका लागि बिरामीको स्थायी ठेगाना भक्तपुर भएको खुल्ने आधिकारिक परिचय पत्र र चिकित्सकको रगत आवश्यकता सिफारिसको आधारमा निःशुल्क रगत उपलब्ध गराउने गरेको नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सभापति मनोज थापाले बताउनुभयो । सो अनुसार रगतको शुल्क सम्बन्धीत नगरपालिकाले सोधभर्ना दिने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले यस सेवाको निरन्तरता र प्रभावकारीताको लागि जिल्ला शाखा लागिपरेको बताउनुभयो ।
जिल्लाका स्थानीय पालिका र रेडक्रसबीचको सम्झौता अनुसार बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिक रुपमा विपन्न नागरिकलाई राहत पुगेको शाखाका मन्त्री पर्शुराम पाण्डेले बताउनुभयो ।
प्रशिक्षार्थी पत्रकार