विश्व वातावरण दिवसको अवसरमा भक्तपुरमा बृहत वृक्षारोपण

भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा सोमवार भक्तपुरमा बृहत वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुर र जिल्लाका चारवटै नगरपालिकाले भिन्नाभिन्न स्थानमा वृक्षारोपण गर्दै विश्व वातावरण दिवस मनाउनुका साथै वन विनासका कारण विश्वमा देखिएको समस्याका बारेमा सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।
‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ मनाईएको वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय र नेपाली सेनाको सूर्यविनायकस्थित ईन्द्र बक्स गणले गण परिसर, मध्यपुर थिमि नगरपालिकाले अरनिको राजमार्गको किनार, चाँगुनारायण नगरपालिकाले नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन र भक्तपुर नगरपालिकाले च्वंगा गणेश मन्दिरको वन परिसरमा वृक्षारोपण गरेको हो ।
ईन्द्र बक्स गण परिसरभित्र करिव ३५० बिरुवा रोपिएको वन कार्यालयका प्रमुख प्रेम सापकोटाले जानकारी दिनुभयो ।


प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रुद्राक्षको विरुवा रोपी शुरु भएको वृक्षारोपणमा सहायक प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलको २२ नं. बाहिनी गुहेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिनेश महत, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय भक्तपुरका अनुसन्धान उपनिर्देशक प्रकाश आचार्य, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलगायतले विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको थियो ।
यसैगरी गण परिसरमा गणका विभिन्न दर्जाका अधिकृत र जवानहरुले कागती, अम्बा, हलुवावेदलगायतका फलफुल, धुप्पी, कपुर, कल्कीलगायतका करिव ३५० बिरुवा रोप्नुभएको थियो ।


सो अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले वातावरण संरक्षण र प्लाष्टिकजन्य प्रदुषण कम गर्न एउटा निकाय र व्यक्तिले मात्र सम्भव नभएकाले सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो । उहाँले वातावरण प्रकृतिको अभिन्न अंग भएकाले वातावरण संरक्षणका लागि मानवजाती नै अनुशासित हुनुपर्ने बताउनुभयो ।
दिगो विकासको प्रावधानले भावी पुस्तालाई आवश्यक साधनस्रोतको संरक्षण गर्नुपर्ने बताउँदैं प्राकृतिक स्रोतको संरक्षणका लागि एक रुख काटेर १० वटा रोप्ने बानी बसाल्नु पर्नेमा जोड दिनुभयो ।


डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले जलवायु परिवर्तनको असर कम गर्न वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वनस्पतिले कार्वन सोस्ने र अक्सिजन फाल्ने भएकाले वनको संरक्षणले वातावरण स्वच्छ राख्न मानव जातीलाई स्वस्थ राख्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा ईन्द्रबक्स गणका गणपति प्रमुख सेनानी श्यामराजा थापाले सेनाको नीति अनुसार गण परिसरमा वृक्षारोपणलाई अघि बढाएको बताउनुभयो । उहाँले यसलाई निरन्तरता दिँदैं जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।


यसैगरी मध्यपुर थिमि नगरपालिकाले आयोजना गरिएको वृक्षारोपण शुभारम्भ गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको सौन्र्दयका लागि वृक्षारोपणलाई निरन्तरता दिने बताउनुभयो । उहाँले बढ्दो वातावरण प्रदुषण न्यूनिकरणका लागि पनि नगरका सार्वजनिक खाली जग्गामा हरियाली प्रर्वद्धन कार्यक्रम अन्तर्गत वृक्षारोपण गर्ने नीति नगरपालिकाको रहेको जानकारी दिनुभयो ।
यस्तै चाँगुनारायण नगरपालिकामा आयोजित वृक्षारोपण कार्यक्रममा नगरप्रमुख जीवन खत्रीले चाँगुनारायण नगर क्षेत्रको जैविक विविधता तथा वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकुलनमा सहयोग तथा हरियाली चाँगुनारायण अभियान अन्तर्गत अभियानकै रुपमा वृक्षारोपणलाई अगाडि बढाउने बताउनुभयो ।


उहाँले धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुदै गएको चाँगुनारायण नगरपालिकालाई स्वच्छ, स्वस्थ्य र हराभरा बनाउने कार्यमा यस किसिमको पर्यावरण एवं वतावरण संरक्षणका गतिविधिले अझ टेवा पुग्ने बताउनुभयो । चाँगुनारायण नगरपालिका वन, वातावरण एवं विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधानले बृक्षारोपण कार्यक्रमका लागि सहयोग गर्नु भएकोमा आइसेट नेपाल र डिसिए नेपाल प्रति आभार व्यक्त गर्नुहुदै विरुवाहरुको संरक्षण नगरपालिकाले गर्ने बताउनुभयो ।


यसैगरी च्वंगा गणेशमा भक्तपुर नगरपालिकाले आयोजित वृक्षारोपण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरको सुन्दरता कायम राख्न नगरको मूल सडकमा ढुङगा छपाइ, सम्पदा क्षेत्रमा रात्रीकालीन बत्ती व्यवस्थापनलगायतका कार्य गर्दै आएको बताउँदै भक्तपुरलाई विश्वकै हेर्नलायक सहरको रुपमा विकास गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । श्वासप्रश्वासका रोगीहरुको संख्या बढिरहेको अवस्थामा वातावरणप्रति सबैजना सजग र सचेत हुनुपर्ने बताउनुभयो ।