‘नेपाली पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभाव’का बारेमा बहश शुरु

भक्तपुर, जेठ २१
विश्व श्रम बजारमा देखिएको कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)ले नेपाली पत्रकारिता पार्न सक्ने असर र यसको उपादेयिताबारे नेपाली सञ्चार क्षेत्रमा पनि बहश शुरु भएको छ ।
बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयले आइतवार ‘पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभाव’ विषयक बृहत छलफल आयोजना गरी यस बारेमा बहश शुरु गरेको हो ।
कार्यक्रममा क्यानडाको ओटावा विश्वविद्यालयको सञ्चार विभागमा आवद्ध सञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक डा. भानुभक्त आचार्य र जर्नालिज्म एकेडेमीका निर्देशक उज्जवल आचार्यले आफ्नो बिज्ञता प्रस्तुत गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को समसामयिक र प्राविधिक पक्षका बारेमा सहभागीहरूलाई जानकारी दिनुभयो ।
सूचना प्रविधिको विकास र बिस्तारसँगै आउने चुनौतीको सामना गर्न नीतिगत र कानूनी पक्षका बारेमा समेत कार्यक्रममा छलफल भएको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले जानकारी दिनुभयो । एआईको प्रयोगशाला नेपालमा अझै स्थापना भइनसकेको अवस्थामा यस्ता छलफल र बहसबाट प्राप्त हुने पृष्ठपोषणले नीतिगत निर्णय गर्न गराउन सहज हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।


एआईको ज्ञान भएको पत्रकारले एआईको ज्ञान नभएको पत्रकारलाई बिस्थापित गर्दै लैजाने प्रक्षेपण भइरहेको बेला पत्रकारिता क्षेत्रलाई सीप र दक्षतायुक्त बनाउन बागमती प्रदेश सरकारले यस्ता नवितम तालिम र छलफल कार्यक्रम आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
एआईको प्रभावका बारेमा नेपालमा पहिलो पटक आयोजित कार्यक्रम र कार्यक्रममा प्रस्तुत बिषयको जानकारी गराउने उद्देश्यले नमस्ते ख्वप टेलिभिजनका साथै अन्य विभिन्न टेलिभिजन र बागमती प्रदेशका एफ एम रेडियो मार्फत प्रत्यक्ष प्रशारण समेत गरिएको उक्त कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडा, त्रिभुवन बिश्वबिद्यालयका प्राध्यापक, सञ्चारमाध्यमका सञ्चालक, पत्रकारिता पेशामा क्रियाशिल पत्रकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागी हुन असमर्थ र यसबारेमा जानकारी लिन ईच्छुकले निम्न लिंकबाट जानकारी लिन सकिने सापकोटाले बताउनुभयो । https://fb.watch/kYdOeLgkzB/