कर्णाली र बागमतीलाई रग्बी उपाधि

भक्तपुर, जेठ २१
बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि कर्णाली र बागमतीले जितेको छ । भक्तपुरको सानो थिमिस्थित मध्यपुर युथ एशोसियसनको मैदानमा आइतवार सम्पन्न फाइनलमा कर्णालीले पुरुष र बागमतीले महिलातर्फको उपाधि जितेको हो ।
पुरुषतर्फको फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो । निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो ।
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बागमतीले आर्मीलाई २१–५ स्कोरले हरायो । दुवै समूहका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार हात पारे ।


पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य हिक्मत थपलियालगायतले पुरस्कृत गरे ।
दुई दिने प्रतियोगितामा पुरुष÷महिलामा समान ७–७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने संघले जनाएको छ ।