नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक

भक्तपुर, जेठ १९
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलनको लोगो सार्वजनिक भएको छ । जिल्ला सभापति एवम् भक्तपुर क्षेत्र नं. २ का संघिय सांसद दुर्लभ थापाले उहाँकै सचिवालयमा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा लोगो सार्वजनिक गर्नुभएको हो ।
लोगोमा भक्तपुरको साँस्कृतिक पहिचान झल्केको छ । लोगोको पृष्ठभुमीमा भक्तपुर जिल्लाको भौगोलिक नक्सा रहेको छ । सो नक्सामा भक्तपुरको ए्ेतिहासिक एवम् पुरातात्विक महत्वको विश्व सम्पदामा सुचीकृत दरवारस्क्वाएर, ङातापोल (पाँचतल्ले मन्दिर), चाँगुनारायण, मध्यपुर थिमिको जिब्रो छेड्ने र प्रसिद्ध बिस्काः जात्रालाई संयोजन गर्नुका साथै भक्तपुरको दुई प्रमुख नदी मनोहरा र हनुमन्तेलाई पनि समेटिएको छ । सो लोगोको डिजाईनमा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निशान ढुंगेलको विशेष योगदान रहेको जिल्ला सम्मेलन तयारी मुल समितिका संयोजक एवम् जिल्ला सचिव कृष्णमुरारी न्यौपाने बताउनुभयो ।


सो अवसरमा जिल्ला सभापति एवम् सांसद थापाले भ्रष्टाचार र अनियमितताका घटनामा कुनै पार्टी नेता विशेष व्यक्तिगतरुपमा जोडिएका घटनालाई देखाएर लोकतन्त्रलाई नै कमजोर र बदनाम गर्ने षडयन्त्र भइरहेको बताउँदैं त्यस्ता भ्रमलाई चिरेर कांग्रेस अघि बढ्ने बताउनुभयो ।
उहाँले नेपालको नागरिकता, सिमालगायतका विवाद समाधान गर्न राष्ट्रियता, सार्वभौम सत्ता, विदेश नीतिमा दलहरु साझा धारणा निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिँदैं सरकारमा रहँदा एउटा र सरकारबाट बाहिरिँदा अर्को कुरा गर्ने प्रवृत्तिले राष्ट्रियता खतरामा पार्ने बताउनुभयो ।
सांसद थापाले पार्टीको विधान अनुसार हुन गइरहेको जिल्ला सम्मेलनले पार्टीको संगठनलाई थप मजबुद र परिस्कृत गर्ने दावी गर्नुभयो ।
सो अवसरमा जिल्ला सम्मेलन तयारी मुल समितिका संयोजक कृष्णमुरारी न्यौपानेले सम्मेलनलाई सफल बनाउन विभिन्न १० उपसमिति गठन गरिएको जानकारी दिनुभयो । उहाँले सम्मेलनको बन्द सत्रमा राजनीतिक, आर्थिक, सांगठनिकलगायतका प्रतिवेदन प्रस्तुत हुने र ती प्रतिवेदनमा विस्तृत छलफल गरी पारित गर्ने बताउनुभयो ।
सम्मेलनमा जिल्लाका ४ नगरपालिकाका ३८ वटै वडामा निर्वाचित क्षेत्रीय प्रतिनिधिहरु, पार्टीको विभिन्न तहमा रहेको कमिटीका सभापति, पदाधिकारीहरु, भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रतिनिधि एवम् पर्यवेक्षक गरी एक हजार पाँच सय भन्दा बढीको सहभागिता रहने संयोजक न्यौपाने बताउनुभयो ।