सूर्यविनायक नगरप्रमुखलाई कांग्रेसको २० बुँदें स्मरणपत्र

भक्तपुर, जेठ १९
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले बिहिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापालाई स्मरणपत्र बुझाएको छ । नगरसभापति निशान ढुंगेल नेतृत्वको टोलीले नगरप्रमुख थापाको कार्यकक्ष पुगेर २० बुँदे स्मरणपत्र बुझाएको हो ।
स्मरणपत्रमा २०७९ बैशाख ३० को स्थानीय तहको निर्वाचन पछि २०७९ असार ७ गते कांग्रेसले बझाएको ध्यानाकर्षण पत्रमा उल्लेखित विषय नगरपालिकाले सम्बोधन नगरेको उल्लेख गरेको छ ।
स्मरणपत्रमा विकास निर्माणका कार्यगर्दा अधिकतम सहमति र न्युनतम क्षतीको नीति अवलम्बन गर्नुपर्ने, जनप्रतिनिधि शासक होइन सेवक हुन भन्ने मान्यतालाई व्यवहारमा उतार्नुपर्ने, सूर्यविनायक नगरपालिकालाई प्लाष्टिक झोला मुक्त बनाउनुपर्ने, चर्को करको दरलाई घटाउनुपर्ने, खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने, निर्माण अलपत्र परेका ढल, पुल सडक अविलम्ब सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
यसैगरी उपभोक्ता समिति गठनका व्यापक जनगुनासो आएकाले स्थानीय उपभोक्ता र सरोकारवालाहरुको बृहत भेला गरी समिति गठन गर्नुपर्ने, सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने, नीजि जग्गाका प्लटिङ गर्दा सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने, संस्थागत विद्यालयको छात्रवृत्तिमा कडाई साथ कार्यान्वयन हुनुपर्ने, सार्वजनिक जग्गा अतिक्रम तत्काल रोक्नुपर्ने स्मरण गराईएको छ ।
स्मार्ट सिटीको काम पनि अघि नबढेको र स्मार्ट सिटीको नाममा जग्गा कित्ताकाट, नक्सापास लगायतका विषय रोकिएकोले जनतालाई मर्का परेको उल्लेख गर्दै कांग्रेसले तत्काल जग्गा फुकुवा गर्नुपर्ने माग स्मरणपत्रमा उल्लेख गरेको छ ।
यस्तै सूर्यविनायकको सम्भावित पर्यटन उद्योगमा नीजि क्षेत्रको लगानीको वातावरण बनाउनुपर्ने, धार्मिक र साँस्कृतिक पर्यटन प्रवद्र्धनका लागि शिव सर्किट निर्माण गर्नुपर्ने, लाकुरी भञ्ज्याङदेखी घ्याम्पेडाँडासम्म पर्यटकिय पदमार्ग निर्माण गर्नुपर्ने, प्रत्येक वडामा प्रयोगशालासहितको कम्तीमा ५ शैयाको अस्पताल स्थापना गर्नुपर्ने माग स्मरण पत्रमा उल्लेख गरिएको छ ।
कांग्रेसले ‘राजनितिमा प्रतिस्पपर्धा विकास निर्माणको सवालमा सहयोगितामा जोड’ दिएको उल्लेख गर्दै भू उपयोग नीति, नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने, हनुमन्ते करिडोरमा नक्सा पासको व्यवस्था, नगरभित्रको सामूदायिक विद्यालयमा प्रतिष्पर्धाबाट प्रधानाध्यापक नियुक्तिलगायतका कार्यका लागि नगरप्रमुखलाई धन्यवाद समेत दिएको छ ।