सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखी तलव पाएनन्

भक्तपुर, जेठ १७
भक्तपुरको सूर्यविनायक नगरपालिकाका स्वास्थ्यकर्मीहरुले पाँच महिनादेखी तलब पाउन सकेको छैन । सरकारले चालु आर्थिक वर्षका लागि पठाएको बजेट अपुग भएपछि सूर्यविनायकका स्वास्थ्यकर्मीहरुले गत माघ महिनादेखी तलब नपाएको हो ।
“सरकारले पठाएको रकम सकियो । थप रकम पठाएको छैन । त्यसैले गत माघ महिनादेखी स्वास्थ्यकर्मीहरुले तलव पाउन सकेको छैन,” सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त चापागाईंले भन्नुभयो ।
सूर्यविनायक नगरपालिकाको नगर अस्पताल र विभिन्न स्वास्थ्य चौकीमा गरी एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु कार्यरत छन । ती मध्ये नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मीहरु करिव ७० जनाले तलब पाउन नसकेको उहाँले बताउनुभयो ।
नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीहरुले भने नियमित तलब पाईरहेका छन ।
सरकारले निकासा गरेको रकमले पुससम्म तलव खुवाएको बताउँदैं उहाँले त्यसयता रकम अपुग भएको विवरणसहित स्वास्थ्य मन्त्रालयमा पत्राचार गरेपनि समयमा निकासा नहुँदा स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन नसकेको जानकारी दिनुभयो ।
स्वास्थ्य शाखा प्रमुख चापागाईंले स्वास्थ्य मन्त्रालयले नपुग बजेट निकासाको लागि अर्थ मन्त्रालयमा पत्राचार गरिसकेको र केही दिनमा नै निकासा हुने जानकारी आएको बताउँदैं स्वास्थ्यकर्मीहरुले छिटै तलव पाउने विश्वास दिलाउनुभयो ।