आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाईंदैं

भक्तपुर, जेठ १७
विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा आज नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
धुवाँ आउने÷नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।
विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सुर्ती सेवनका कारणले हुने गरेको तथ्यांक छ । हरेक १० जनामध्ये १ जना वयस्कको अकालमा मृत्यु संसारभरि चुरोट र अन्य सुर्तीजन्य पदार्थको सेवनकै कारणले हुने गर्छ ।
विश्वमा युद्ध, हिंसा, अपराध, आत्महत्या, दुर्घटना आदिजस्ता थुप्रै कारणले हुने मेत्युको तुलनामा दोब्बर भन्दा बढी सुर्तीजन्य पदार्थका कारणले हुने मृत्युको सख्या रहेको छ । त्यसैले चुरोट अनि अन्य सुर्तीजन्य पदार्थका सेवन आजको विश्वका लागि ठुलो चुनौती रहेको छ ।
यो दिवसले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने खतराहरू, सुर्तीजन्य कम्पनीहरूको व्यावसायिक अभ्यासहरू, सुर्तीजन्य महामारीसँग लड्न विश्व स्वास्थ्य सङ्गठन के गरिरहेको छ, र विश्वभरका मानिसहरूले आफ्नो स्वास्थ्य र स्वस्थ जीवनको अधिकार दाबी गर्न र सुरक्षाका लागि के गर्न सक्छन् भन्ने बारेमा जनतालाई जानकारी गराउँदछ ।
विश्व स्वास्थ्य सङ्गठनका सदस्य राष्ट्रहरूले सन् १९८७ मा विश्व धूम्रपान रहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो । सन् १९८८ मा हरेक वर्ष मे ३१ मा विश्व धूम्रपान रहित दिवस मनाउन आह्वान गरिएको थियो ।
नेपालमा सुर्तीजन्य बस्तुहरु चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै यसको सेवनले बिग्रिएका फोक्सो, कलेजो अनि क्यान्सरका कारण क्षतिग्रस्त मानव मुहारका चित्र राखेर खरिदकर्तालाई दुरुत्साहित पार्ने गरिएको छ । नेपाल तुलनात्मक रूपमा विश्वमै सुर्तीजन्य पदार्थ सहज देश पनि हो । अन्य देशका तुलनामा यहाँ यसको सेवन गर्नेलाई कडा कानुन अनि प्रावधानको कार्यान्वयन फितलो छ ।
पछिल्लो समयमा सार्वजनिक स्थलमा धूम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयनमा कुनै प्रतिफल प्राप्त हुन सकेको छैन । धूम्रपानप्रति समाजको दृष्टिकोण पनि त समान छैन । जस्तै कि चुरोटलाई प्रतिष्ठित अनुहार र मान्छेले सेवन गरे रवाफ हुन्छ । जसले गर्दा नयाँ पुस्ताहरू धूम्रपानतर्फ आकर्षित हुन्छन् । जुन मानव सिकाइको मनस्थिति अनुसार स्वाभाविक नै हो ।
नेपालले सुर्तीजन्य बस्तुको नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरी सदस्य राष्ट्र बनिसकेको छ । नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । उक्त महासन्धिको सदस्य राष्ट्र भएसँगै महासन्धिका प्रावधान पनि कानुन सरह लागू हुने व्यवस्था छ ।