‘सम्मानित महिनावारी, हाम्रो प्रतिबद्धता’ शिर्षकको कविता लेखनमा खुशी सिं र सृजना प्रथम

सुनिता तुलाधर, काठमाण्डौं, जेठ १६ ।
‘दशौं महिनावारी स्वच्छता दिवस’को उपलक्ष्यमा आयोजित कविता लेखन प्रतियोगिताको नेपाल भाषातर्फ कन्या मन्दिर सेकेन्डरी स्कुलका खुशी सिं ठकुरी र नेपाली भाषातर्फ प्रभात स्कुलका सृजना श्रेष्ठ प्रथम हुनुभएको छ ।
‘सम्मानित महिनावारी, हाम्रो प्रतिबद्धता’ शिर्षकमा विद्यालयका छात्रछात्राहरूबीच आयोजित प्रतियोगितामा नेपाली भाषातर्फ प्रभात स्कुलकै बसन्ती बुढा दुतीय हुनुभयो भने वाचनमा कन्या मन्दिर सेकेन्डरीका नविना रायमाझी प्रथम हुनु भयो ।
डेज फोर गल्स, जनचिकित्सालय, रोटरी क्लब अफ स्वयम्बुको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा दरबार हाई स्कुलबाट नेहा कुमारी गुप्ता, प्रभात स्कुलबाट केशब विष्ट, भक्त बिद्याश्रमबाट मान्यता क्षेत्री र मीरा फुयाल, काठमाडौं मोडेल स्कुलबाट सबिना सिम्बाललगायतका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा काठमाण्डौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महिनावारी वा रजस्वला किशोरी तथा महिलाहरुको शरीरमा प्रजनन् स्वास्थ्यसँग सम्वन्धित नियमित प्रक्रिया भएकोले यसलाई शरीरका अन्य क्रियाकलाप सरह लिनुपर्नेमा जोड दिनुभयो ।


उहाँले महिनावारीकै कारण कतिपय छात्राहरुले विद्यालय जानबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्यका लागि महानगरपालिकाले विद्यालयहरुमा स्यानेटरी प्याडको व्यवस्था गरेको बताउनुभयो । उहाँले कुनै समाजमा यसलाई अपवित्र तथा अछुतरुपमा लिने गरिएको र समाजमा महिनावारीसँग जोडिएका विभिन्न कुसंस्कारहरु व्याप्त रहेको यस्ता सामाजिक कुरीति र अन्धविश्वास अन्त्य गर्न सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै डेज फोर गल्सका कार्यकारी निर्देशक माया खाइतुले घरमा र समाजमा महिनावारी भएका महिलाहरुलाई अछुत भनेर हेलाको दृष्टले हेरिने अन्धबिश्वास र कुरीतिहरुलाई हटाउने जनचेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रतियोगिताको निर्णायक, वरिष्ठ पत्रकार सुरेश किरण मानन्धरले बिद्यार्थीहरुले लेखेका कविताहरु पढ्दै जाँदा मनमा आनन्द आएको र ज्ञान समेत हासिल गरेको बताउनुभयो ।
कार्यक्रममा जनचिकित्सालयका अध्यक्ष विमला मानन्धर, रोटरी क्लब अफ स्वयम्भुका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठलगायतले महिनावारीका विषयमा भनाई राख्नुभएको थियो ।

 

तस्विर सौजन्य – नीलः भाजु