बजेटमा समेटिए भक्तपुरका ८ ठूला परियोजना

भक्तपुर, जेठ १६ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा भक्तपुरका ८ ठूला परियोजना समेटिएका छन । बजेटको विभिन्न शिर्षक मध्ये पाँच वटा शिर्षकमा भक्तपुरका ८ ठूला परियोजना समेटिएका हुन ।
बजेटमा संस्कृति, पर्यटन र नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, खानेपानी तथा सरसफाई, महिला, बालबालिका र ज्येष्ठ नागरिक र यातायात पुर्वाधार गरी चार वटा शिर्षकमा ८ परियोजना उल्लेख भएको हो
बजेटको संस्कृति, पर्यटन र नागरिक उड्डयन शिर्षकको १८६ नं. बुँदामा भक्तपुरको एक योजना समेटिएको छ । सो बुँदामा भुकम्पका कारण क्षती भएको भक्तपुर दरवार क्षेत्रको पुनर्निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख गरेको छ ।
यस्तै बजेटको स्वास्थ्य तथा जनसंख्या शिर्षकको बुँदा नंं २३५ मा भक्तपुरको दुधपाटीस्थित शहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रको क्षमता विकास गरिने उल्लेख गरिएको छ ।
बजेटमा उल्लेख गरिएका ठूला परियोजनाहरु मध्ये भक्तपुरमा सबै भन्दा धेरै खानेपानी तथा सरसफाई क्षेत्रमा योजना समेटिएको छ । यस शिर्षकमा ४ वटा योजना समेटिएका छन । यस शिर्षकको बुँदा नंं २५७ मा भक्तपुरको महादेव खोलाबाट पानी आपुर्तीको सम्भाव्यता अध्ययन लगायतका पुर्व तयारीका कार्य गरिने उल्लेख गरिएको छ ।
यसैगरी बजेटको बुँदा नं. २५८ मा काठमाण्डौं उपत्यकामा नयाँ वितरण प्रणाली मार्फत खानेपानी वितरणको लागि दोस्रो चरणमा भक्तपुर र थिमिमा पाइपलाइन निर्माण शुरु गर्ने जनाएको छ ।
बुँदा नं. २६१ मा शहरी खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत निर्माणाधिन भक्तपुरको दधिकोट खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ ।
यस्तै बुँदा नं. २६४ मा राष्ट्रिय अभियानको रुपमा सरसफाई र स्वच्छता कार्यक्रम सञ्चालन गरी भक्तपुरको कटुञ्जे ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने उल्लेख गरिएको छ ।
महिला, बालबालिका र ज्येष्ठ नागरिक शिर्षक अन्तर्गत बजेटको बुँदा नंं २७८ मा लैङ्गिक हिंसा पिडित तथा प्रभावित व्यक्तिका लागि प्रदान गरिने कानुनी सहायता, मनोसामाजिक परामर्श लगायतका सेवा गुणस्तरीय बनाईने उल्लेख गर्दै हिंसा पिडित महिलाको पुनःस्थापना गर्न भक्तपुरको सूर्यविनायकमा मङ्गला–साहना पुर्नस्थापना केन्द्र निर्माण गरिने जनाएको छ ।
सडक पुर्वाधारतर्फ बजेटमा भक्तपुरको ठूलो परियोजना एउटा उल्लेख गरिएको छ । बजेटको यातायात पुर्वाधार शिर्षक अन्तर्गत बुँदा नं. ३०९ मा सूर्यविनायक–धुलिखेल सडक खण्डको बिस्तार कार्य अघि बढाउन आवश्यक रकम विनियोजन गरेको जनाएको छ ।
बजेटमा समावेश गर्न भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सचिवालय मार्फत जिल्लाका स्थानीय तहका वडा तहबाटै योजना संकलन गर्नुभएको थियो । वडाकार्यालय मार्फत माग आएका योजनाहरुलाई विभिन्न चरणमा जनप्रतिनिधिहरु सँग समेत छलफल गरी मन्त्रालयगतरुपमा गत बैशाख १२ गते सिफारिस सहित बुझाएका थिए ।
सोही अनुसार बजेटमा ७ ठूला परियोजना समावेश भएको सांसद थापाले बताउनुभयो । उहाँले बजेटको विस्तृत विवरण समेटिएको रातो कितावमा अन्य साना योजनाहरु समावेश हुने जानकारी दिनुभयो ।
(यसअघि प्रकाशित समाचारमा एउटा योजना छुट भएकाले सो समावेश गरी पुनः प्रकाशन गरिएको छ । सं.)