कांग्रेस गुण्डुको वडा कार्यालयलाई ध्यानाकर्षण

भक्तपुर, जेठ १३
नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका ७ नं. वडा समितिले शुक्रवार वडाकार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । वडा कार्यालयले सञ्चालन गरिरहेको विकास निर्माणका कार्य र काठमाण्डौं वल्ड स्कुलले सार्वजनिक वन क्षेत्र मिचिएको र ढल खुल्ला रुपमा छोडिएको जनगुनासो आएपछि कांग्रेस वडा समितिले वडाअध्यक्ष रविन्द्र सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा साविक गुण्डु गाविस–५ को बुढीगण्डकी देखि मन्थली जाने सडकमा बागमती प्रदेश सरकारबाट विनियोजित १५ लाखको निर्माण कार्य हाल भई रहेकोमा सो ठाउँमा रहेको प्रति जग्गा संरक्षण नभएको र खोलाको मापदण्डको विषयमा जनगुनासो आएकोले सो खोलाको २१ सालको नापी अनुसार सिमांकन गरि खोलाको करीडोर र प्रति जग्गा संरक्षण गरिनुपर्ने उल्लेख गरिएको छ ।


पार्टी इकाइ सभापति जगदिश बस्नेतले बुझाएको ध्यानाकर्षपत्रमा साविक गुण्डु–५ मा अवस्थित काठमाण्डौं वल्ड स्कुलले वन क्षेत्र ओगटेको र सो स्कुलबाट निस्किने ढल त्रिलोचन महादेव मन्दिरको प्राङ्गणमा हाके डाँडा मुनि खुला रूपमा विसर्जन भएकोले वडाबासीको स्वास्थ्यमा गम्भीर खेलवाड भइरहेको, सरकारी बनको समेत व्यापक दुरुपयोग भएको तथा निजि शैक्षिक संस्थाबाट चर्को मूल्य असूल उपर गरिएको व्यापक जन गुनासो आएको साथै छात्रवृत्तिमा पनि पारदर्शिता नभएकोले वन सिमानाको सिमांकन गरि पारदर्शी शुल्क निर्धारण र ढलको उचित व्यवस्थापन गर्न माग गरिएको छ ।
यसैगरी गुण्डु बृहत खानेपानीका पदाधिकारीहरुको ४ वर्षे कार्यकाल गत २०७४ चैत्रमा सम्पन्न भई सकेकोले हाल सम्म साधारणसभा नभएको सो खानेपानी संस्थाको विधान अनुरुप तत्काल साधारण सभा गराउन समेत ध्यानाकर्षण गराएको छ ।

सूर्यविनायक नगरपालिका–७ वडामा उपभोक्ता समिति मार्फत भएका विकास निर्माण योजनामा नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद ऐन विपरीत भएको जन गुनासो आएकोले वडा कार्यालयले सार्वजनिक खरिद ऐन अनुसार जनतालाई दिनुपर्ने सूचनाको जानकारी गराउन समेत कांग्रेसले ध्यानाकर्षण गराएको सभापति बस्नेतले बताउनुभयो ।
ध्यानाकर्षणपत्रमा जनगुनासो र प्रश्न उठेका विषयहरुमा छलफलबाट तत्काल समाधानको निम्ति सहयोग समन्वय सहजीकरण गर्न कांग्रेस तयार रहेको प्रतिवद्धता जनाएको छ ।