मध्यपुर थिमि नगरपालिकामा विकास निर्माणसँगै सुशासनमा विशेष जोड – नगरप्रमुख श्रेष्ठ

भक्तपुर, जेठ १३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको विकास निर्माणसँग सँगै सुशासनलाई पनि विशेष जोड दिएको बताउनुभएको छ । निर्वाचित भएर पद बहाली भएको एक वर्ष पुरा भएको अवसरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख श्रेष्ठले एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्दै भौतिक पुर्वाधारको विकाससँगै ऐन नियम निर्माणमा जोड दिएको बताउनुभएको हो ।
उहाँले भौतिक पूर्वाधारतर्फ एक वर्षमा मन्दिर ९ वटा, फल्चा(पाटी) ११ वटा, वहा २ वटा, विभिन्न मन्दिर परिसर २१ वटा, पार्क ९ वटा, ऐतिहासिक दरवार २ वटा, बौद्ध बिहार १ वटा, पोखरी १ वटा, घाट १ वटा र गुम्बा १ वटा निर्माण भएको बताउनुभयो ।
त्यसैगरी सडक पूर्वाधारतर्फ कालोपत्रे २१ वटा, सडक ढलान २१ स्थानमा, रिटेनिङ वाल १९ स्थानमा, ढुङ्गा छपाई २८ स्थानमा, बल्क छपाई ११ स्थानमा कार्य भएको जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले बाटो खोल्ने र फराकिलो १८ स्थानमा र एउटा पुल निर्माण भएको बताउनुभयो । त्यस्तै खानेपानीतर्फ ५ वटा योजना, ढल निकासतर्फ २८ वटा र भवन तथा ट्रस निर्माण १८ वटा र अन्य मर्मत सम्भार २७ वटा योजना सञ्चालन भएको छ ।
उहाँले विगतमा नगरपालिका ऐन, नियम, कानुन, कार्यविधि विना सञ्चालन भइरहेको पाईएकोले नागरिकलाई असल सुशासनको अनुभुती दिलाउन र नगरपालिकालाई व्यवस्थित ढंगले पारदर्शीरुपमा सञ्चालन गर्न ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माणमा जोड दिएको बताउनुभयो ।


सुशासन कायम गर्न नगरपालिकाले नीतिगतरुपमा ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९) सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक वर्षको अवधीमा स्वास्थ्य ऐन – २०७९, शिक्षा ऐन –२०७९, सहकारी ऐन, २०७९, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन, २०७९, नेपाल कोरिया मैत्री नगर अस्पताल आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७९, मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समिति सञ्चालन कार्यविधि–२०७९, अनुदान तथा औषधो उपचार कार्यविधि –२०७९, उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि, २०७९, जेष्ठ नागरिक स्वास्थ्य बीमा कार्यविधि–२०७९, लैंगिक हिंसा निवारण कोष (संचालन) कार्यविधि, २०७९, भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९), न्यायीक समितिको कार्यविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९, आधारभूत सरसफाइ तथा फोहोरमैला व्यवस्थापन विधेयक २०७९, बस्ती विकास तथा जग्गा एकिकरण ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७९ कार्यान्वयनमा ल्याईएको छ ।


राजस्व परिचालनतर्फ संघीय अनुदान समानीकरण रु. १८ करोड १४ लाख २५ हजार, शसर्त चालु तर्फ रु १६ करोड २५ लाख ७ हजार र शसर्त पुँजीगत तर्फ १२ लाख, र राजस्व वाँडफाँड रु. ११ करोड ९२ लाख ९३ हजार गरी जम्मा रु. ४६ करोड ४४ लाख २५ हजार र प्रदेश अनुदान तर्फ समानीकरण रु. २ करोड ४३ लाख ८० हजार, शसर्त चालु रु २ करोड २५ लाख ४० हजार . प्रदेश समपुरक रु, २ करोड १२ लाख ९६ हजार तथा राजस्व वाँडफाँड रु. २ करोड ६१ लाख ८० हजार गरी जम्मा रु. ९ करोड ४३ लाख ९६ हजार गरी जम्मा ५५ करोड ८८ लाख २१ हजार प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा आन्तरिक स्रोत तथा बैंक मौज्दात समेत जम्मा रु ६९ करोड १२ लाख ८५ हजार र स्थानीय राजस्व वाँडफाँडबाट रु १७ लाख ८६ हजार गरी जम्मा रु ६९ करोड ३० लाख ७१ हजार आन्तरिक राजस्व संकलन भएको साथै लागत सहभागिताबाट ८ लख २६ हजार रुपैंया प्राप्त भएको बताउनुभयो ।
यसैगरी चालु खर्चतर्फ ३५ करोड ७८ लाख ९३ हजार खर्च ( ५४.६५ प्रतिशत) खर्च भएको बताउँदैं पुँजीगत तर्फ २८ करोड १७ लाख ७ हजार अर्थात २५.३५ प्रतिशत खर्च भएको बताउनुभयो ।


उहाँले यसवर्ष चुनावी वर्ष भएको र मंसिरमा सम्पन्न संघिय र प्रदेश सभाको निर्वाचनले गत पुस महिनादेखी मात्र विकास निर्माणका काम अघि बढेकोले बैशाख मसान्तसम्म पुँजीगत खर्च कम देखिएको स्पष्ट पार्दै अहिले धेरै योजना सञ्चालनमा रहेकोले असार १५ सम्म पुँजीगत खर्च लक्ष्य अनुसार हुने अपेक्षा गर्नुभयो ।
उहाँले मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडकमा स्मार्ट लाईट जडानका लागि नेपाल विद्युत प्राधिकरणसँग सम्झौता भएको जानकारी दिँदैं जस अन्तर्गत अरनिको राजमार्गमा सडक बत्ति जडान भई बल्न थालेको बताउनुभयो ।
शिक्षालाई गुणस्तरीय बनाउन सामूदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि शिक्षा ऐन अनुरुप मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क कायम राख्न संस्थागत विद्यालयलाई सुचित गरिए अनुरुप कार्यान्वयन भइरहेको र शुल्क तथा भर्ना अनुगमन समिति मार्फत अनुगमन भइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
युवालाई खेल क्षेत्रमा आकर्षित गरी असल र अनुशासित नागरिक बनाउन खेल क्षेत्रको विकास बिस्तारमा जोड दिने नीति अनुरुप वडा व्यापी फुटबल लिग, राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्नुका साथै विभिन्न खेल सञ्चालन गर्न सहयोग गर्नु र खेलाडीहरुको प्रोत्साहन स्वरुप सम्मान गरिएको उहाँले बताउनुभयो ।
उहाँले स्वास्थ्यमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस सेवा शुरु गरिएको, सिटी सक्यान मेसिन जडान गरिएको, अस्पतालको व्यवस्थापनमा सुधार गरिएको, नगरका सबै वडामा स्वास्थ्य सेवा बिस्तार गरिएको, नगरका ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुको निःशुल्क बिमा गरिएको, नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराएको, व्लड बैंक स्थापनाको तयारी गरिएको र अस्पतालको सेवा बिस्तारका लागि २०० शैयाको नयाँ भवन निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।
अपाङ्गता भएका बालबालिकाहरु अध्ययनरत विद्यालयहरु मानव विद्यागृह, अभिभावक स्वालम्बन समुह र दिवा सेवा केन्द्रलाई सीप विकास कार्यक्रम सञ्चालन खर्च, छात्रावृत्ति, स्यानीटरी प्याड र दिवा खाजा खर्च उपलब्ध गरिएको बताउँदैं नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।
नगरको मुल नारा हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने मुल नारालाई सार्थक बनाउन यस चालु आर्थिक वर्ष महाकाली नाच, भैरब नाच, निलवाराही गणनाच, नवदुर्गा गणनाच, ईन्द्र अप्सरा नाच, विस्काः जात्रा, जिव्रो छेड्ने जात्रा, गुँला पर्व, कृष्ण पुजा, रथ पुजा लगायत मध्यपुर थिमि क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक, साँस्कृतिक एवँ पौराणिक नाच, जात्रा, चाडपर्व, रितिरिवाज र संस्कृतिको संरक्षण र सम्वद्र्धन कार्यका लागि बजेटको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यसैगरी नेपाल भाषा लिपि (रञ्जना लिपि र प्रचलित लिपि) लेखन तालिम सञ्चालन भएको, उपत्यका व्यापी बृहत धिमेबाजा प्रतियोगिता सञ्चालन, नगरपालिका भित्रका विभिन्न टोल बस्तीहरुको स्थानीय मौलिक नामलाई अपभ्रंस, परिवर्तन वा प्रयोगविहिन हुनवाट जोगाएर अभिलेखिकरण एवम् प्रतिष्ठापन गरेर मध्यपुर थिमि क्षेत्रका टोल बस्तीको इतिहास एवम् संस्कृतिको साथै पहिचानलाई समेत जगेर्ना गर्न मौलिक नाम अभिलेखिरण तथा प्रतिष्ठापन समिति गठन गरि सवै वडामा समुदाय भेला गरी ४३० वटा टोल बस्तीहरुको नामावली संकलन गरिएको, मध्यपुर पर्यटन विकास समितिसँगको सहकार्यमा पर्यटन प्रवद्धनार्थ वः फेस्टिबल, विस्का जात्रा सम्बन्धी प्रचारात्मक कार्यक्रमहरुको सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँले मध्यपुर थिमि नगरपालिकाका वासिन्दाहरुलाई स्वरोजगार बनाउने अभिप्रायःका साथ ६३० जनालाई विभिन्न ३२ वटा आय आर्जन तथा सीप विकास सम्वन्धी तालिम प्रदान गरिएको, सेरामिक्स व्यवसायको विकासका लागि आधुनिक चिम्नी निर्माण गरिएको र युवाहरुलाई सो व्यवसायप्रति अभिप्रेरित गराउन तालिम सञ्चालन गरिएको, युवा व्यवसायीहरुलाई प्रोत्सान गर्न बारिस्ता, मन्टेश्वरी विभिन्न व्यवसायिक एवम् सिपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिका भित्र स्ववासीका रुपमा रहेका नगरवासीलाई पुर्जा वितरणको कार्यक्रम शुरुवात गरी हालसम्म २ हजार वटा पुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरी करिव २ करोड रुपैंया राजश्व संकलन गर्न सफल भएको बताउँदैं उपप्रमुख श्रेष्ठले सहकारी नियमावली मस्यौदाको कार्य भईरहेको, सहकारी अनुगमन समिति गठन भई कार्य भईरहेको र समस्या ग्रस्त सहकारीका सदस्यहरुको वचत सुरक्षाका लागि न्यायीक समिति मार्फत प्रारम्भिक सुनुवाई हुने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
उहाँले न्यायीक समिति ५२ वटा मुद्दा दर्ता भएकोमा १२ वटा फछ्र्यौट भएको र ४० वटा विचाराधिन रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मीहरुले नगरका विविध विषयमा जिज्ञासा राख्नुभएको थियो भने त्यसको जवाफमा नगरप्रमुख श्रेष्ठ र वडा नं. ८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठ, नगरप्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले स्पष्ट पार्नुभएको थियो । सो पत्रकार सम्मेलनमा नगरका ९ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, प्रमुख प्रशाुसकिय अधिकृत विजयराज सुवेदी, नगरका प्रशासन महाशाखा प्रमुख केशव सिलवाल, योजना महाशाखा प्रमुख सत्यनारायण साहलगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।