स्वादिलो परिकार वः यसरी तयार गरिन्छ

फाईल फोटो

भक्तपुर, जेठ ११
वः अर्थात बारा । नेवारी लोकप्रिय परिकार मध्ये एक परिकार । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात नेवार समूदायले धुमधामका साथ मनाईने सिथि नखः पर्वको प्रमुख परिकार पनि हो वः ।
नेवार समूदायले कहिले ‘पिँडालु’ उसिनेर खाँदैं ‘सकीमना’ अर्थात पिँडालु उसिन्ने पुर्णिमा मनाउँछन भने कहिले ‘योमरी’ बनाउँदैं ‘योमरी पुन्ही’ अर्थात धान्य पुर्णिमा मनाउँछन । त्यसैगरी जनैपुर्णिमामा विभिन्न नौ थरी गेडागुडीको मिश्रण ‘क्वाँटी’ खाएर ‘क्वाँटी पुन्ही’ अर्थात ‘गुन्हुँ पुन्ही’ मनाउँछन । माघे संक्रान्तिमा ‘घिउ, चाकु, तिल’ खाँदैं ‘ध्य चाकु सँलु÷हाम्व सँलु मनाउँछन । यसैगरी सिथि नखःमा नेवार समुदाय विशेषगरी मास र मुगीका बारा खाने गर्दछन ।
भगवान कुमारको जन्म दिन समेत भएकाले सिथि नखःको दिन कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा‘ खाने प्रचलन रहेको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ ।
स्वादिलो बारा कसरी बनाउने ?
बारा मास वा मुगीको दालबाट बनाइने परिकार हो वः । वःलाई ताउमा तेल दलेर रोटी जस्तै पकाईन्छ । कसैले तेलमा तारेर पनि वः तयार गर्दछन ।
मध्यपुर थिमि ६, गार्चामा विगत तीन पुतदेखी सञ्चालनमा रहेको कुँचा वः पसःका सञ्चालक मुकेश श्रेष्ठका अनुसार वः बनाउन मास वा खोस्टा भएको हरियो मुगीको दाललाई राम्ररी केलाएर एक दिन अगाडि पानीमा भिजाएर राख्नु पर्दछ । पानीमा भिजेर फुलिएको दाललाई राम्ररी पखालेर जालीमा छान्नुपर्छ । मासको दालमा बोक्रा सबै नआएसम्म पखाल्नुपर्छ । खोस्टा भएको हरियो मुगीको दालमा भने बोक्रा निकाल्नु पर्दैन । यसरी पखाली सकेपछि सिलौटो वा मिक्सचरमा पिसेर दालको पेस्ट तयार गरिन्छ । दालको पेस्टमा अदुवाको पेस्ट र नुन रुचीअनुसार घोल्नुपर्छ ।
वः बनाउँदा ध्यान दिनुपर्ने अर्को पाटो हो मास वा मुगीको पेस्ट धेरै बाक्लो वा गिलो हुनु हुँदैन । धेरै गिलो हुँदा बारा बनाउन कठिन हुन्छ भने धेरै बाक्लो हुँदा बारा स्वादिलो हुँदैन ।
तयार भएको दालको पेस्टलाई करिव एक घण्टा छोपेर राख्नुपर्छ । त्यसपछि चुल्होमा आगो बाली ताउ बसाल्नुपर्छ । ताउ तातेपछि त्यसमा तेल दल्नुपर्छ । दालको पेस्टलाई ताउमा राखेर हातले थिच्दै बाटुलो आकार दिने र ओल्टाई पल्टाई राम्रोसँग पाक्ने गरी पकाउनुपर्छ । बाराको एकतर्फ सुनौलो खैरो भएपछि अर्कोतर्फ पल्टाउनुपर्छ । अर्को तर्फपनि त्यस्तै सुनौलो खैरो भएपछि तयार हुन्छ स्वादिलो वः अर्थात बारा ।
कसै कसैले कराईमा तेल तताएर सेलरोटी पकाए जस्तै तारेर पनि वः पकाउने गर्दछन । वःलाई मासुको झोल, टिमुर हालेको गोलभेंडाको अचार, उसिनेर साँदेको आलुसँग खानु निक्कै स्वादिलो हुन्छ ।


वः धेरैलाई मनपर्ने परिकार हो । यो स्वास्थ्यबर्धक परिकार पनि हो । नेवारी पिजाको रुपमा समेत लिने वः बजारमा प्रचलित मःमः, चाउमिन, पिजा, ब्रगरलगायत आधुनिक परिकार भन्दा पनि स्वास्थ्यबर्धक परिकार हो । वःमा कुनै रसायनयुक्त मसलाहरु प्रयोग नहुने भएकाले पनि यो परिकार पुस्तौंदेखी लोकप्रिय र स्वास्थ्यबर्धक परिकारको रुपमा स्थापित हुँदै आएको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार बारा विभिन्न स्वादमा बनाउन सकिन्छ । उहाँका अनुसार मास वा मुगीको सादा वः, मास र मुगीको मिक्स सादा वः, खें वः (अण्डा बारा), ला वः (मासु हालेको किमा बारा) र मास, मुगी, किमा र अण्डासहितको मिक्स वः यसका परिकार हुन ।
संस्कृतिविद् एवम् पुरोहित हरिशरण राजोपाध्यायका अनुसार वः विभिन्न थरीका हुन्छन् । माय् वः (मास बारा), मु वः (मुगी बारा), कसु वः (केराउ बारा), पाँउ वः (अमिलो बारा), धौ वः (दही बारा) र क्रौँ क्रौँ वः (मास, मुगी, बोडी, केराउको छाता र चामलको पिठोको मिश्रणबाट बनेको बारा) । पछिल्लो समय मास, मुगी र केराउ छाताको बारा मात्र प्रचलनमा रहेको छ ।