मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाबीच स्वास्थ्य सेवामा सहकार्य

भक्तपुर, जेठ ९
भक्तपुरका दुई स्थानीय पालिकाबीच स्वास्थ्यमा सहकार्य हुने भएको छ । जिल्लाको मध्यपुर थिमि र चाँगुनारायण नगरपालिकाले सञ्चालन गरेका दुई अस्पतालबीच विशेषज्ञ सेवामा सहकार्य गर्ने सम्झौता भएसँगै दुई पालिकाबीच स्वास्थ्यमा सहकार्य हुने भएको हो ।
मध्यपुर थिमि नगरपालिकाद्धारा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र चाँगुनारायण नगरपालिकाद्धारा सञ्चालित चाँगुनारायण नगर अस्पतालबीच मंगलवार विशेषज्ञ सेवासहित सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले हस्ताक्षर गर्नुभयो । दुवै नगरप्रमुख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ ।
सो अवसरमा चाँगुनारायण नगर अस्पतालको प्राङ्गणमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर समेत सञ्चालन भएको थियो ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख श्रेष्ठले चाँगुनारायण नगरपालिकासँग स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले स्थानीय निकायहरू बिच सहकार्य गरी सेवा तथा प्रविधि आदानप्रदान गर्न सकेमा नगरबासीहरू लाभान्वित हुने विश्वस व्यक्त गर्नुभयो ।
फोहोर मैला व्यवस्थापनमा पनि मध्यपुर थिमि नगरपालिकाले चाँगुनारायण नगरपालिकासँग सहकार्य गरी कार्यक्रमहरू सञ्चालन गर्न तत्पर रहेको बताउनुभयो ।


चाँगुनारायण नगरपालिकाका नगरप्रमुख खत्रीले स्वास्थ्य बिमा, निःशुल्क उपचार, आधारभूत स्वास्थ्य, जनताको अधिकार नाराका साथ आफ्नै स्वास्थ्य नीति तयार गरी नगरबासीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि आफ्ना मातहतका ८ वटै स्वास्थ्य चौकी र चाँगुनारायण नगर अस्पतालबाट नियमित रूपमा स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले स्वास्थ्य सेवामा सबै नगरवासीको पहुँच होस् र गुणस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालबाटै उपलब्ध गराउन अस्पतालको स्तारोन्नती गर्ने तर्फ नगरपालिका लागि परेको बताउनुभयो । उहाँले अक्सिजन प्लान्ट नगर अस्पतालमै निर्माण गरिएकोले अक्सिजन आवश्यक बिरामीहरूलाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो । उहाँले स्वास्थ्य सम्बन्धी हक मौलिक हक अन्तर्गत पर्ने भएकोले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक भएकोले प्रभावकारी रूपमा स्वास्थ्य सेवा आम जनतामा उपलब्ध गराउनको लागि सरकारी तथा गैह्र सरकारी निकाय र स्थानीय तहबीच समन्वय र सहकार्य गरी कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने प्रतिवद्धता जनाउनुभयो ।
चाँगुनारायण नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष एवं दैनिक कार्यसञ्चालन समितिका संयोजक मनोजकुमार थापाले २०३९ सालमा स्वास्थ्य चौकी, २०५८ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदै २०७७ मङ्सिर २८ गतेबाट चाँगुनारायण नगर अस्पतालको रूपमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल अधिकृत शैलेस तवानाबासुले अस्पतालमा दैनिक ओ.पी.डी सेवा दिँदै आएकोमा अब देखी साप्ताहिक रूपमा हाड जोर्नी, बाल रोग, स्त्रीरोगको विशेषज्ञ सेवा प्रदान गरिने कुरा बताउनुभयो ।
बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल, संसद् सचिवालयका सचिव सुदर्शन खड्का, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थी, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल निर्देशक डा. डी.के रोशन, चाँगुनारायण नगरपालिका वडा नं ४ र ५ का वडाध्यक्षहरु रोज बहादुर तामाङ र जयन्द्र खड्का, चाँगुनारायण स्वास्थ्य शाखाका प्रमुख सत्यकुमार दुवाल, पूर्व वडाध्यक्ष बुद्धिलाल महर्जन, समाजसेवीहरू रोशन कुमार पौडेल, रामभक्त खत्री, यवती कार्की, जमुना थापा लगायत स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।