नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन जेठ २७ गते

भक्तपुर, जेठ ८
नेपाली कांग्रेस भक्तपुरको जिल्ला सम्मेलन यही जेठ २७ गते हुने भएको छ । जिल्ला कार्य समितिको २० औं बैठकले जिल्ला सम्मेलन जेठ २७ गते गर्ने निर्णय गरेको हो ।
सम्मेलनमा जिल्ला भरीका चार वटै पालिकाका ३८ वडाका वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधि, जिल्ला, नगर, क्षेत्र र प्रदेश सभा समितिका सभापतिसहित पदाधिकारीहरु, महाधिवेशन तथा महासमिति सदस्यहरु गरी करिव २ हजार जनाको सहभागिता रहनेछ ।
सम्मेलनका लागि जिल्ला कार्यसमिति भक्तपुरका सहसचिव कृष्णमुरारी न्यौपानेको संयोजकत्वमा जिल्ला सम्मेलन मुल तयारी समिति गठन गरिएको जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो । कांग्रेसले सम्मेलनलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।
सम्मेलनको लागि जिल्ला कोषाध्यक्ष धर्मरत्न खाइतु संयोजकत्वमा क्याटरिङ्ग व्यवस्थापन उपसमिति, ललिता धिताल पोखरेलको संयोजक अतिथि सत्कार उपसमिति, सुभाष कार्कीको संयोजकत्वमा आर्थिक उपसमिति, रञ्जन राज ढुङ्गेलको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
यसैगरी तरुण दलका जिल्ला अध्यक्ष राजु थापाको संयोजकत्वमा सामाजिक कार्य समन्वय उपसमिति, नेविसंघ जिल्ला अध्यक्ष बद्री राम थापा संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति, पवन भुजु संयोजकत्वमा प्रचार प्रसार उपसमिति, रामकाजी भुजु संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, महेश हाडाको संयोजकत्वमा सांस्कृतिक उपसमिति र हरिशरण वास्तोला संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति गठन गरिएको बस्नेतले जानकारी दिनुभयो ।
सम्मेलनमा पार्टीलाई जनतासँग जोड्न सरसफाई, रक्तदानलगायतका सामाजिक कार्य गर्ने, सहभागीहरुबीच पार्टीको आगामी कार्यदिशा, संगठन बिस्तार, क्रियाशिल वितरण तथा नविकरणलगायतका विषयमा छलफल गरी घोषणापत्र जारी हुने नेपाली कांग्रेस भक्तपुर सभापति एवम् सांसद दुर्लभ थापाले बताउनुभयो ।