काभा वुमन्स भलिबलमा नेपालको विजयी शुरुवात

भक्तपुर, जेठ ८
घरेलु टोली नेपालले काभा वुमन्स भलिबल च्यालेन्ज कपमा विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई २५–११, २५–१९ र २५–११को सोझो सेटमा गर्दै विजयी शुरुवात गरेको हो ।
पहिलो र दोस्रो सेटमा अग्रता कायम गर्दै जित निकालेको नेपालल तेस्रो सेटमा एक समय किर्गिस्तानसँग ६–४ ले पछि परेको थियो । तर खेलमा पुनरागमन गर्दै नेपालले तेस्रो सेटमा पनि सहज जित निकाल्न सफल भएको हो ।
नेपालको जितमा ओपन स्पाइकरद्वय निरुता ठगुन्ना र उषा भण्डारीको जोडीको प्रर्दशन उत्कृष्ट रह्यो । खेलमा संगम महतो र रिमा कुँवरले राष्ट्रिय टिममा डेब्यु गरे । खेलमा संगम महतोले मिडल ब्लकरको रुपमा खेलिन् भने रिमा कुवँर अपोजिट स्पाइकर रुपमा खेलेकी हुन् ।


संगमले पहिलो सेटमा नै डेब्यु गरिन् भने रिमाले प्रतिस्थापन हुँदै डेब्यु गरिन् । सफिया पुन र संगम महतो मिडल ब्लकरमा खेले । पुनम चन्द अलराउन्डरको भूमिकामा देखिइन् भने सेटर पोजिसन कप्तान अरुणा शाहीले सम्हालिन् । लिबेरोमा सलिना श्रेष्ठ रहिन् । आजको जितसँगै नेपालले ३ अंक बटुलेको छ । भारतको पनि ३ अंक छ । नेपालले दोस्रो खेल भोलि मंगलबार बंगलादेशसँग दिउँसो ३ बजे खेल्नेछ ।
समूह ए को अर्को खेलमा भारतले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरे । भारतले बंगलादेशमाथि एकपक्षीय प्रदर्शन गर्दा २५–३, २५–९ र २५–६ को सहज जित आत्मसात गरेको हो ।
यसैगरी समूह बी को खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को साझो सेटमा पराजित गरे । उज्वेकिस्तानले पनि २७–२५,२५–२० र २५–१४ ले तीन सेट नै आफ्नो पक्षमा पार्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।
समूह ‘ए’ मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोविन लिग पछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् ।